७ वैशाख २०८१ शुक्रबार
राजनीति

नेपाली सेनाको पृतनापति बैठक सकियो

काठमाडौँ- प्रधानसेनापति राजेन्द्र क्षत्रीले मातहतका पृतनापतिलाई पेसागत दक्षतालाई थप अभिवृद्धि र बन्दोबस्तीमा विशेष ध्यान केन्द्रित गर्न निर्देशन दिएका छन्।

सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित पृतनापति समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। नेपाली सेनाको क्षेत्रगत रुपमा पाँच र काठमाडौँ उपत्यकामा एक गरी छ वटा पृतना रहेको छ।

पृतना बैठकमा पृतनापतिले आ–आफनो कमान्ड क्षेत्रभित्रको सुरक्षा अवस्था, चुनौतीलगायत समसामयिक विषयमा मुख्यालयलाई जानकारी गराएका थिए। त्यस क्रममा सम्बन्धित विभागबाट वस्तुस्थितिको विश्लेषण तथा समीक्षा प्रस्तुत भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

नेपाली सेनाका उपरथीले पृतनाको नेतृत्व गर्दै आएका छन्। नियमित रुपमा हुने समन्वयात्मक बैठकमा आउने रचनात्मक सुझावले नेपाली सेनाको नीति निर्माणमा ठोस योगदान पुर्‍याउने नेपाली सेनाले जनाएको छ।

यस वर्षको एकदिने उक्त समन्वयात्मक बैठकको शुभारम्भमा बलाधिकृत रथी बलदेवराज महतले बैठकको उद्देश्य र आवश्यकताबारे जानकारी गराएका थिए। बैठकमा रक्षा सचिव श्रीधर सापकोटा, पृतनापतिलगायत जङ्गी अड्डाका कार्यालय, विभाग, महानिर्देशनालय तथा निर्देशनालयका प्रमुख सहभागी थिए। रासस

 

प्रकाशित: १० फाल्गुन २०७३ १४:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App