coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

निर्वाचन घोषणाको स्वागत, संविधान संशोधनमा जुटेन सहमति

संसद भवनमा बसेको सर्वदलीय बैठकका सहभागी। तस्विरः दिपेश श्रेष्ठ

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहालले आह्वान गरेको सर्वदलीय बैठकमा सत्तारुढ दलका शीर्ष नेताहरुले संविधान संशोधन प्रस्तावमा सहमति जुटाउने प्रयास गरेका छन्। बैठकमा प्रधानमन्त्री दाहालले तीन विषयमाथि पार्टीहरुको धारणा माग गरेका थिए। 

'संशोधन प्रस्तावमा पनि धेरै पार्टीको सहमति छ। मलाई विश्वास छ मतदान हुने बेलासम्म एमालेले पनि संशोधनकै पक्षमा भोट हाल्नेछ', देउवाले भने।

निर्वाचन, संविधान संशोधन र स्थानीय निकाय पुनःसंरचना आयोग प्रतिवेदनबारे उनले दलहरुको धारणा माग गरेका थिए। संविधान संशोधनप्रति कडा अडान राख्दै आएका विपक्षी नेताहरुले निर्वाचन घोषणालाई स्वागत गरे पनि संविधान संशोधन जरुरी नभएको प्रतिक्रिया दिए।

बैठकपछि बाहिर निस्केका प्रधानमन्त्री पुष्पकमल दाहालले बैठकमा निर्वाचन घोषणाप्रति अामसहमति देखापरेको बताए। 'मधेसको मुद्दालाई पनि कुनै न कुनै रुपमा मुलभूत रुपमा समानता छ। तर आजको छलफलले असाध्यै राम्रो वातावरण राजनीतिक दलहरुको बीचमा बनेको छ। भोलिदेखि संशोधन विधेयकमाथि प्रक्रिया अघि बढ्छ', उनले भने।

बैठकमा सहभागी कांग्रेस सभापति शेरबहादुर देउवाले सबैसँग सकारात्मक सम्वाद भएको उल्लेख गरे। ‘सबैसँग सकारात्मक कुरा भएको छ। संशोधन प्रस्तावमा पनि धेरै पार्टीको सहमति छ। मलाई विश्वास छ मतदान हुने बेलासम्म एमालेले पनि संशोधनकै पक्षमा भोट हाल्नेछ’, बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने। मधेसी मोर्चासँग फेरि सम्वाद गर्ने उनले बताए। ‘मधेसी मोर्चासँग फेरि कुराकानी हुन्छ’, उनले भने।

बैठकमा सहभागी राष्ट्रिय जनमोर्चा नेता चित्रबहादुर केसीले संविधान संशोधनमा सहमति हुन नसक्ने बताए। ‘संशोधनको कुरा मिलेको छैन। यतिबेला संविधान संशोधन गर्नुपर्ने विषय होइन। अहिले स्थानीय चुनाब गर्ने हो। संविधान कार्यान्वयन गर्ने हो। अहिले भाबण्डा गर्ने हो र?’, उनले भने।

राप्रपाका अध्यक्ष कमल थापाले प्रधानमन्त्रीले संविधान संशोधन सहित तीन विषयमा सुझाव माग गरेको जानकारी दिए।

संविधान संशोधनका विषयमा मधेस केन्द्रित राजनीतिक दललाई चित्त नबुझाई विधेयकलाई यथास्थितिमा अघि बढाउँदा त्यो प्रत्युदपादक हुनसक्ने धारणा आफूले राखेको अध्यक्ष थापाले बताए। ‘संशोधनका विषयमा सहमति जुटाउनु पर्छ। प्रतिवेदन यथासक्य चाँडो प्रतिवेदन कार्यान्वयन गर्नुपर्छ भन्ने धारणा हाम्रो रह्यो’, उनले भने।

प्रधानमन्त्रीले डाकेको सर्वदलीय बैठक मधेसी मोर्चाले बहिष्कार गरेको थियो। मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार भने बैठकमा सहभागी थिए। उनले आफ्नो पार्टी निर्वाचनबारे सकारात्मक रहेको तर परिमार्जन सहित संविधान संशोधन गरेर जानुपर्ने उल्लेख गरेका थिए।

सरकारले सोमबार निर्वाचन मिति घोषणा गरेको थियो। मधेसी मोर्चाले निर्वाचनको विरोध गर्दै आइरहेको छ।

 

प्रकाशित: १० फाल्गुन २०७३ १२:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App