७ वैशाख २०८१ शुक्रबार
राजनीति

हप्ता दिन भित्रै निर्वाचन आचारसंहिता

काठमाडौं- प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले एक हप्ताभित्रै निर्वाचनसम्बन्धी आचार संहिता लागु हुने बताएका छन्।  

मंगलबार रिपोर्टर्समा बोल्दै प्रमुख आयुक्त यादवले भने,‘आयोगले यही हप्ताभित्रै आचारसंहिता लागु गर्छ, शून्य सहनशिलताका आधारमा हामी आचारसंहिता लागु गर्नेगरि विशेष छलफलमा छौं, आचारसंहिता लागु हुनेवित्तिकै सरुवा, बढुवा र नियुक्ती केही हुन दिँदैनौं।’

साक्षात्कारमा यादवले आयोगले निष्पक्ष, स्वतन्त्र र स्वच्छ निर्वाचन गर्न सम्पूर्ण शक्ति लगाउने बताउँदै भने,‘हामी फ्रि एण्ड फेयर निर्वाचन गर्छौं।’

उनले तोकिएकै मितिमा निर्वाचन गर्न आयोग सफल हुने विश्वास व्यक्त गर्दै भने,‘सफलता प्राप्त गर्नको लागि तीन घण्टा नै काफी छ, हामीसँग त ८२ दिन बाँकी छ, सफलता प्राप्त गर्न निरन्तरता चाहिन्छ।’ उनले निर्वाचन हुँदैन कि भनेर अब कसैलेपनि शंका गर्न नहुने जिकिर गरे।

यादवले आफूले चूनौति भन्दापनि अब प्रशस्त अवसरहरु देखेको उल्लेख गर्दै भने,‘निर्वाचनको मिति घोषणा भएको छ, कानून तथा ऐनहरु आएका छन्, त्यसैले निर्वाचन हुन्छ।’ अक्सिजनको सिलिण्डर बोकेर त मान्छेले सगरमाथा चढेको छन्, उनले अघि भने,‘निर्वाचन आयोगसँग त लगनशिल कर्मचारीहरु छन्, आयोगसँग दक्ष जनशक्ति छ।’

त्यस्तै उनले नेपाल सरकारले पनि आयोगलाई विश्वास दिलाएको उल्लेख गर्दै भने,‘कुनैपनि साधान र स्रोतहरुको कमी हुन दिन्नौं भनेर सरकारले भनेको छ, आवश्यक जनशक्तिको लागि पूर्ण भरोसा दिलाएको छ।’ उनले सरकारले खुट्टा नकमाउनेमा आफू पूर्ण विश्वस्त रहेको समेत बताए। यादवले सरकारले खुट्टा कमाए आमसञ्चार साँची रहेको बताए।

त्यस्तै उनले निर्वाचन सफल बनाउनको लागि राजनीतिक शक्ति पनि एउटा ठूलो आधार भएको टिप्पणी गरे। यादवले थपे,‘दलहरुवीच विश्वासको वातावरण बढ्दै गईरहेको छ, आपसी सद्भाव देखिरहेको छु, छलफल भैरहेको छ, यो सकारात्मक कुरा हो।’

उनले स्थानीय निर्वाचन देश र जनताको लागि नै अति आवश्यक रहेको बताए। यादवले थपे,‘यो निर्वाचन हाम्रो जीवनसँग जोडिएको छ, हाम्रो अधिकार खोसिएको अवस्थामा थियो, अहिले जनताको अधिकार प्राप्त भएको छ, अब चुनावले त्यो अधिकार सुनिश्चितता गर्छ।’ उनले निर्वाचन आयोगका गतिविधिहरुलाई जनतासमक्ष पुर्याउन मिडियाले सकारात्मक भूमिका निर्वाह गरेको बताउँदै भने,‘हाम्रा गतिविधिहरु पारदर्शी छन्।’

उनले अन्तराष्ट्रिय जगतकोपनि सहयोग र सद्भाव रहने विश्वास दिलाए। उनले भने,‘आचार संहिताको सिमाभित्र रहेर उहाँहरुको सद्भाव र सहयोगको अपेक्षा गरेका छौं।’

प्रकाशित: १० फाल्गुन २०७३ ११:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App