८ वैशाख २०८१ शनिबार
खेल

आइपिएलमा दुई अफगानी

बेङलोर- अफगानिस्तानका दुई खेलाडी पहिलो पटक इन्डियन प्रिमियर लिग (आइपिएल)मा बिक्री भएको दिन इङ्ल्यान्डका अलराउन्डर बेन स्टोक्स कीर्तिमानी रकममा राइजिङ पुणे सुपरजाइन्टसँग अनुबन्धित भए।

स्टोक्सलाई लिन फ्रेन्चाइज कप्पनीबीच तँछाडमछाड भए पनि अन्ततः पुणेले १४ करोड ५० लाख भारतीय रुपैयाँमा लिएको थियो। आइपिएलमा विदेशी खेलाडीका लागि यति ठूलो रकम खर्च भएको यो पहिलो हो। यसअघि दिल्ली डेयरडेभिल्सले २०१४ मा इङ्ल्यान्डकै पूर्वकप्तान केभिन पिटरसनलाई ९ करोडमा लिएको विदेशी खेलाडीका लागि खर्चिएको सबैभन्दा ठूलो रकम हो। तर आइपिएलमा सबैभन्दा महँगा खेलाडीको कीर्तिमान भने तोडिएन। २०१५ मा बेङ्लोरले भारतका ब्याट्सम्यान युवराज सिंहलाई १६ करोडमा लिएको थियो।

भर्खरै इङ्ल्यान्ड टेस्ट टोलीको उपकप्तान घोषित भएका स्टोक्सले पूरै प्रतियोगिता खेल्छन् वा बिचमा छाड्छन् भन्ने स्पष्ट पारिएको छैन। स्टोक्सले बीचमै छाडे उनले पाउने रकममा कटौती हुनेछ। इङ्ल्यान्डले आयरल्यान्डविरुद्ध मेमा दुई एकदिवसीय खेल्ने तय छ।

पुणेका प्रशिक्षक स्टेफन फ्लेमिङले खेलाडी घाइते भएर समस्या हुने विगत रहेको प्रतियागितामा यति धेरै रकम खर्च गर्नुलाई ‘जुवा खेलेको’ बताए। अस्ट्रेलियाका कप्तान स्टिभ स्मिथ र भारतका पूर्वकप्तान महेन्द्रसिंह धोनी सम्मिलित टोलीलाई स्टोक्सको उपस्थितिले झन् मजबुत बनाएको छ।

‘यसमा उच्च जोखिम छ तर हामी त्यसका लागि तयार छौं। हामी अलराउन्डरमा विकल्प चाहन्थ्यौं र यसले हामीलाई ब्याटिङमा प्रशस्त विकल्प दिएको छ,’ प्रशिक्षक फ्लेमिङले भने, ‘महान् खेलाडीका बीचमा हामीले युवा खेलाडीलाई मौका दिँदै छौं।’

इङ्ल्यान्डकै तीव्र गतिका बलर टेमल माइल्स दोस्रा महँगा खेलाडी बने। चार मात्र ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलेका माइल्सलाई १२ लाख रकममा रोयल च्यालेन्जर्स बेङ्लोरले लिएको हो। इङ्ल्यान्डका खेलाडीप्रति बढी चासो देखिएको अक्सन (बोलकबोल)मा स्टोक्स र माइल्सलाई लिन नसकेको किङ्स–११ पन्जाबले इयोन मोर्गानलाई लिएको छ।

न्युलिल्यान्डका तीव्र गतिका बलर ट्रेन्ट बोल्डलाई ५ करोडमा कोलाकाता नाइट राइडर्सले लियो भने दक्षिण अफ्रिकाका कागिसो राबडालाई दिल्लीले ५ करोडमा लियो। अस्ट्रेलियाका पेट क्युमिन्स पनि महँगा दश खेलाडीभित्र परेका छन्। उनलाई दिल्लीले ४ करोड पचास लाखमा टोलीमा भिœयाएको छ।

अफगानिस्तानका बलर रसिद खान पनि सातौं महँगा खेलाडी बने। रसिदसँगै अफगानिस्तानका कप्तान मोहम्मद नाबी पनि सोमबारको अक्सनमा बिक्री भएका छन्। रसिदलाई ४ करोड भारतीय रुपैयाँमा सनराइजर्स हैदराबादले लिएको छ भने नाबीका लागि ३० लाख रकम खर्च गरेको छ।

भारतका नाम चलेका खेलाडी पहिले नै टोलीमा अनुबन्धित भइसकेका थिए। यद्यपि केही नयाँ खेलाडी भने अक्सनको आकर्षण बने। कर्ण शर्मालाई मुम्बइ इन्डियन्सले ३ करोड २० लाख खर्च गर्‍यो भने टी नटराजनलाई पन्जाबले ३ करोड रकममा लियो। २००८ बाट सुरु भएको आइपिएलका नवौं संस्करण अप्रिल ५ बाट मे २१ सम्म चल्नेछ।

प्रकाशित: १० फाल्गुन २०७३ ०३:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App