७ वैशाख २०८१ शुक्रबार
खेल

तेन्जिङको अग्रता

काठमाडौं- गोकर्ण गल्फ क्लबको कोर्समा सोमबार सुरु भएको सूर्य नेपाल सेन्ट्रल ओपनमा पहिलो दिन ३३ व्यावसायिकसहित ४८ खेलाडीलाई पछि पार्दै एमेच्योर खेलाडी तेन्जिङ छिरिङले अग्रता लिएका छन्।

राष्ट्रिय गल्फ टिमका सदस्य तेन्जिङले ७२ पारको कोर्समा ६ अन्डर ६६ खेल्दै संयुक्त रूपमा दोस्रो स्थानमा रहेका व्यावसायिक खेलाडीद्वय भुवन नगरकोटी र सञ्जय लामालाई चार स्ट्रोकले पछि पारे। भुवन र सञ्जयले २ अन्डर ७० को प्रदर्शन गर्दा पहिलो दिन रवि खड्का १ अन्डर ७१ स्कोरका साथ चौथो स्थानमा छन्। नेपाल नम्बर एक व्यावसायिक खेलाडी शिवराम श्रेष्ठ र धरानका बलभद्र राई समान १ ओभर ७३ स्कोरका साथ संयुक्त रूपमा पाँचौं स्थानमा छन्। त्यस्तै २ ओभर ७४ खेलेका दीपक आचार्य सातौं स्थानमा रहँदा अर्का एमेच्योर खेलाडी टंकबहादुर कार्कीसँगै व्यावसायिक खेलाडीत्रय राजेन्द्र श्रेष्ठ प्रधान, जयराम श्रेष्ठ र धनबहादुर थापा समान ३ ओभर ७५ स्कोरसहित संयुक्त रूपमा आठौं स्थानमा छन्। चूडाबहादुर भण्डारी र सूर्यप्रसाद शर्मा तथा एमेच्योर मिथुन राई (७६) संयुक्त रूपमा १२औं स्थानमा छन्।

३३ व्यावसायिक र १५ एमेच्योर खेलाडीको सहभागिता रहेको प्रतियोगिता चार दिनसम्म ७२ होलमा खेलाइनेछ। मंगलबार दोस्रो दिन ३६ होलको समाप्तिमा बाँकी दुई दिनका लागि शीर्ष २१ व्यावसायिक खेलाडीको छनोट (कट) हुनेछ।  ६ लाख रुपैयाँ कुल पुरस्कार रहेको प्रतियोगिताको विजेताले १ लाख १० हजार रुपैयाँ पाउनेछ भने उपविजेताको भागमा ७० हजार रुपैयाँ पर्नेछ। तेस्रो स्थान हासिल गर्नेले ४५ हजार रुपैयाँ पाउनेछ। त्यस्तै कटमा सफलता हासिल गर्ने सबै व्यावसायिक खेलाडी नगद पुरस्कारको हकदार बन्नेछन्।

प्रकाशित: १० फाल्गुन २०७३ ०३:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App