coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

भोटेकोसी किनारमा अझै त्रास

सिन्धुपाल्चोक- भोटेकोसी नदीमा पानीको सतह घट्दै गए पनि जग्गा कटान नरोकिँदा त्रास कायमै छ।  नदी कटानले थप घरसंरचना बगाएको छ। बिहीबार तातोपानीका पाँच घर नदीमा मिले।

प्रहरीका अनुसार तातोपानी धारा पनि बाढीले तानेको छ। 'भोटेकोसीको बाढी केही कम भएको मात्र हो। सामान्य अवस्थामा भन्दा अझै ठूलो छ,' सीमा प्रहरी कार्यालय कोदारीका इन्स्पेक्टर खुमलाल भुसालले भने, 'क्षतिसँंगै त्रास बढ्दैछ।' उनका अनुसार कोदारीस्थित इको रिसोर्टसहितको ढिस्को भोटेकोसीमा खस्ने अवस्थामा छ। यो ढिस्को खसे पारिपट्टि तातोपानी–९ को नयाँ बस्ती खतरामा पर्नेछ। 'त्यहाँका सय परिवार सुरक्षित स्थानमा सरिरहेका छन्,' उनले भने।

 मंगलबार राति भोटेकोसीको बाढीले नदी छेउका २१ घर बगाएको थियो। बाढीले अरनिको राजमार्गको बाह्रबीसे–तातोपानी खण्ड पनि ठाउँठाउँमा बगाएको थियो।

बिहीबार बिहानदेखि बर्षा भइरहेकाले थप त्रास बढेको इन्स्पेक्टर भुसालले बताए। उनका अनुसार मानव बस्ती रहेको १० किलोबाट नदी बगिरहेको छ। 'कटानले नदी छेउका सबै घर जुनसुकै बेला बग्ने अवस्था छ,' उनले भने। १० किलोदेखि लिपिङसम्म १० किमि क्षेत्रको सडक छियाछिया छ। ठाउँ–ठाउँमा सडक हराएको छ। चीन प्रवेश गर्ने मुख्य बजार लिपिङ कटानले विलय जस्तै छ। '१० किलोदेखि लिपिङसम्मको सिंगो तातोपानी क्षेत्र बिलाउने अवस्था छ,' सशस्त्र प्रहरी तातोपानी भन्सार सुरक्षा बेसका डिएसपी मनोज थापाले भने। उनका अनुसार झन्डै २ सय परिवार विस्थापित छन्। बिहीबारसम्म केही पीडितले बचेका घरबाट केही सामान निकालिसकेका छन्। धेरै एकसरो लुगामा छन्। विस्थापित तामाङ गाउँ, खानी गाउँ, चौकीडाँडामा गएर बसेका छन्। सीमा प्रहरीको टोली कोदारी माविमा सेल्टर बनाएर बसेको छ। तातोपानी सुरक्षित नदेखेपछि केही पीडित पैदल हिँडेर काठमाडौँ लागेका छन्।

 'धेरै पीडित उद्धार पर्खाइमा छन्,' इन्स्पेक्टर भुसालले भने, 'उनीहरु पोकापन्तुरा कसेर हेलिकप्टर कुरिरहेका छन्।' काठमाडौं जान बाटो अवरुद्ध भएकाले पोकापन्तुरा बोकेर उनीहरू हेलिकप्टरको पर्खाइमा बसेका हुन्।

 जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठकले काठमाडौं जान चाहने पीडितलाई शुक्रबार दिनभरमा त्यहाँ पुर्‍याउने निर्णय गरेको छ। 'पैदल हिँडाएर र त्यसपछि यातायात साधन प्रयोग गरी काठमाडौं पुर्‍याउँछौं,' समिति संयोजक प्रजिअ गोकर्णमणि दवाडीले भने। तातोपानी आसपासमै बस्न चाहने पीडितलाई खाद्यान्न र बासको व्यवस्था मिलाइने उनले बताए।

पहिरोले थुनिएको नदी फुटेपछि बाढी

 सिन्धुपाल्चोक/तिब्बती क्षेत्रमा पहिरोले थुनिएको नदी फुटेपछि बाढी आएको विज्ञले बताएका छन्। चिनियाँ अनुसन्धान टोलीले थुनिएको नदी एक्कासी फुट्दा त्यसले बाढीको रुप लिएको जानकारी दिएको जल तथा मौसम विज्ञान विभागका जलविद् विनोद पराजुलीले बताए। 'तिब्बतमा कहाँ, कत्रो पहिरो गयो र कति समय नदी थुनिएर फुट्यो भन्ने जानकारी भने दिइएको छैन,' बाढीको अध्ययन गर्न बिहीबार भोटेकोसी आएका पराजुलीले भने। उनका अनुसार चाइनिज एकेडमिक युनिभर्सिटीका प्राध्यापक सम्मिलित अनुसन्धाकर्ताको टोलीले विभागलाई यसबारे संक्षिप्त प्रतिवेन बुझाएको छ। चिनियाँ आधिकारिक निकायबाट भने यसबारेमा अहिलेसम्म कुनै जानकारी नदिइएको उनले बताए।

खासा हेर्ने तल्लास्तरका चिनियाँ अधिकारीले पनि सिन्धुपाल्चोक प्रशासनलाई पहिरोपछि बाढी गएको जानकारी गराएका थिए। उनीहरूका अनुसार मितेरी पुलको झन्डै ५ सय मिटरमाथि (खासामुनि) भोटेकोसीको दायाँं–बायाँ दुबैतिर पहिरो गएको छ।

 इसिमोड (अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकासका केन्द्र) ले तिब्बतमा जोखिमका हिमताल फुटेर वा गेगर, ढंुगा, काठका मुडा र लेदोसहित ठूलो पहिरो गएका कारण बाढी आएको अनुमान गरेको छ। चिनियाँसहति इसिमोडका विज्ञले गत वर्ष चीनतर्फका १० हिमताल जोखिममा रहेको औंल्याएका थिए।

 विभागका जलविज्ञ पराजुलीका अनुसार बाढीपछि भोटेकोसीले व्यापक धार परिवर्तन गरेको छ। उनका अनुसार बाढीका बेला चार मिटर माथि उठेको भोटेकोसीको पानीको सतह बिहीबार घटेर दुई मिटरमा सीमित भएको छ।

प्रकाशित: २४ असार २०७३ ०४:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App