६ वैशाख २०८१ बिहीबार
खेल

पारसको अचानक शल्यक्रिया

काठमाडौं- आइसिसी विश्व क्रिकेट लिगअन्तर्गत केन्याविरुद्धको खेलको पूर्वसन्ध्यामा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काको शुक्रबार बेलुका पेटको शल्यक्रिया गरिएको छ।

शुक्रबार अचानाक पेट दुखेपछि उनलाई धापासीस्थित ग्रान्डी अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले पारसलाई रिकरेन्ट एपेन्डिसाइटिस विथ इन्टेस्टाइनल अब्स्ट्रक्सन भएको बताए। क्यामरा प्रविधिबाट एड्हेसियोलाइसिस र कि होल सर्जरी (गुजुल्टिएका आन्द्रा मिलाउने) तथा इमर्जेन्सी ल्यापरोस्कोपिक एपेन्डिक्टोमी उपचारपछि पारस आइतबार डिस्चार्ज भएका छन्।

नेपाली टोलीका मुख्य प्रशिक्षक जगट टमाटाले अहिले पारसको अवस्था सामान्य रहेको बताए। उनले करिब एक हप्ताको आरामपछि कप्तान टे्रनिङमा फर्कने विश्वास व्यक्त गरे। टमाटाले थपे, ‘मैले भर्खरै पारससँग कुरा गरेको थिएँ। अहिले उनको अवस्था सामान्य छ। ६/७ दिनको आरामपछि उनी अभ्यासमा फर्कनेछन्।’

डा. प्रवीणविक्रम थापा, डा. धीरेश महर्जन, डा. रोशन घिमिरे र डा. सन्तोष श्रेष्ठको टोलीले पारसको शल्यक्रिया गरेको थियो।  एनेस्थेसियामा डा. मुरारिराज उप्रेती र डा. अर्चन अधिकारीले साथ दिएका थिए। उपचारमा संलग्न डाक्टरले ‘पेटमा सानो प्वाल मात्र बनाएर’ शल्यक्रिया गरिएकाले पारस चाँडै मैदानमा फर्कने बताए।

तथापि शुक्रबारबाट हुने भारत भ्रमणमा भने पारस सामेल नहुने भएका छन्। नेपाल १३ गते नयाँ दिल्लीको नोएडा प्रस्थान गर्नेछ। त्यहाँ नेपालले १५, १७ र १९ गते तीन अभ्यास खेल खेल्नेछ। कुन टोलीसँग खेल्ने भनेर अझै टुंगो लागेको छैन। तर मुख्य प्रशिक्षक टमाटाले नेपाली टोलीले नोयडामा एयर इन्डिया र अफगानिस्तान 'ए' सँग खेल्ने सम्भावना रहेको बताए। उनका अनुसार तयारी खेलको व्यवस्था आइसिसीले मिलाएको हो। टोली २० गते स्वदेश फर्किन्छ। टमाटाले पारस भारत भ्रमणमा नगए पनि केन्याविरुद्धको खेलमा उपलब्ध हुने बताए।

‘पेटको शल्यक्रिया भएकाले खानामा ध्यान दिनुपर्ने हुन्छ। त्यसैले एक हप्ता बेडरेस्टमा हुन्छन्,’ पारसको अवस्थाबारे टमाटाले भने, ‘त्यसैले भारत भ्रमणमा उनी हुने छैनन्। हामी भारतबाट फर्किएपछि उनी टोलीमा सामेल हुनेछन्। अहिलो राम्रो लयमा छन्। अरू कुनै समस्या छैन। त्यसैले केन्याविरुद्ध उनी खेल्छन्।’

नेपालले विश्व क्रिकेट लिगको पाँचौं चरणअन्तर्गत केन्याविरुद्ध फागुन २८ र ३० गते कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल्नेछ। प्रतियोगितामा ८ खेल खेलेको नेपाल ६ अंकका साथ छैटौं स्थामा छ। १० खेल खेलेको नेदरल्यान्ड १६ अंकका साथ पहिलो स्थानमा रहँदा समान १० खेलबाट ११ अंक जोडेको हङकङ तेस्रो स्थानमा स्थानमा छ। ८ खेलबाटै १२ अंक जोडेको पपुवा न्युगिनी दोस्रो, ११ अंकको स्कटल्यान्ड चौथो र ८ अंकको केन्या पाँचौं स्थानमा छन्। नेपालभन्दा तल नामिबिया र युनाइटेड अरब इमिरेट्स (युएइ) रहेका छन्।

प्रकाशित: ९ फाल्गुन २०७३ ०४:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App