coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कृषि विश्वविद्यालयमा बेथिति : सतर्कता केन्द्रमा उजुरी

काठमाडौं- चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा बेथिति भएको दाबीसहित छानबिनका लागि राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको छ। नेतृत्वको गैरजिम्मेवारीका कारण विश्वविद्यालयमा बेथिति बढेको उजुरी हटलाइनमार्फत दर्ता भएको जानकारी केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले दिए।

लामिछानेका अनुसार उजुरीमा उपकुलपति ईश्वरीप्रसाद ढकाल र रजिस्ट्रार मनराज कोलक्षपतिले निजी क्याम्पसमा लगानी गरी दोहोरो फाइदा लिँदै विश्व विश्वविद्यालय व्यवस्थापन सुधारमा बेवास्ता गरेको आरोप लगाइएको छ। उपकुलपति ढकालको नेपाल पोलिटेक्निकल इन्स्टिच्युटलगायत अन्य कलेजमा लगानी रहेको उजुरीमा उल्लेख छ। त्यस्तै, रजिष्ट्रार कोलक्षपति काठमाडौंको कलंकीस्थित हिमालयन कलेज अफ एग्रिकल्चर साइन्स एन्ड टेक्नोलोजीको बोर्ड सदस्य रहेको उजुरीमा लेखिएको छ।

विश्वविद्यालयले मापदण्डविपरीत निजी कलेजलाई आर्थिक चलखेल गरी सम्बन्धन दिने तयारी गरेको दाबी पनि उजुरीमा गरिएको छ। पदाधिकारीले करार र ज्यालादारीमा आफूनिकट कर्मचारी भर्ती गर्दै 'विशेष स्थायी' गरेकाले छानबिनको माग उजुरीमा गरिएको छ। केही समयअघि अवैधरुपमा ११ कर्मचारी करारमा भर्ती गरिएको भन्दै रोक्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र काटे पनि पदाधिकारीले बेवास्त गरेको दाबी उजुरीमा गरिएको छ।

त्यस्तै, विश्वविद्यालयमा प्राध्यापक नियमित उपस्थित नहुने, विश्वविद्यालयको स्वीकृति नलिई निजी कलेजमा पढाउने, पशु विज्ञानतर्फका शिक्षकले एक दिन कक्षा लिने र एकै दिन १५ दिनको हाजिर जनाउने गरेको उजुरीमा उल्लेख छ।

उजुरीबारे जिज्ञासा राख्दा उपकुलपति ढकालले विभिन्न बन्द र आन्दोलनका कारण विश्वविद्यालयमा पठनपाठनमा समस्या आए पनि बेथिति नभएको दाबी गरे। उनले भने, 'आन्दोलन, बन्दलगायत  कारणले कहिलेकाहीं समस्या हुन्छ तर, कर्मचारी नै आउँँदैनन् भन्ने सत्य होइन। हाजिरी मेसिन राख्ने तयारी गरिरहेका छौं।'

ढकालले प्राध्यापक र शिक्षकलाई निजामती कर्मचारीलाई जस्तो पूरै समय विश्वविद्यालयमा बस्नुपर्ने बाध्यता नहुने बताए। निजी कलेजमा पढाए पनि आफ्नो विषयको कक्षा लिएरमात्र जाने गरेको उनले दाबी गरे। विश्वविद्यालयबाट स्वीकृतिबिनै शिक्षकले निजी कलेजमा पढाउने गरेको भने उनले स्विकारे। 'अब स्वीकृति लिएर मात्र अरु कलेजमा पढाउन दिने तयारीमा छु।' 

उनले दरबन्दीका कर्मचारी नभएकाले ज्यालादारीमा राखेको बताए। उनले भने, 'तर, विशेष स्थायी हल्ला मात्र हो, विश्वविद्यालय गाभिँदा केही कर्मचारी तथा प्राध्यापक समायोजन भएर आएका छन्।'

पैसाको चलखेलमा निजी कलेजलाई सम्बन्धन दिन थालिएको आरोपको पनि ढकालले खण्डन गरे। 'सम्बन्धन दिने प्रक्रिया हामी आउनुभन्दा अगाडि नै बढेको थियो। हामीले निरन्तरता मात्र दिएका हौं, अहिलेसम्म कुनै कलेजलाई सम्बन्धन दिएका छैनौं,' ढकालले भने, 'कानुनी प्रक्रिया र मापदण्ड पूरा गरेका कलेजको सम्बन्धन रोक्न त मिलेन नि।'

प्रकाशित: ९ फाल्गुन २०७३ ०३:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App