७ वैशाख २०८१ शुक्रबार
अर्थ

चरा ठोक्किएपछि निगमको ठूलो जहाज ग्राउन्डेड

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको एउटा ठूलो नयाँ जहाजमा चरा ठोक्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा 'ग्राउन्डेड' भएको छ।

निगमले एक वर्षअघि युरोपेली जहाज निर्माता कम्पनी एयरबससँग खरिद गरी ल्याएका १ सय ५८ सिट क्षमतायुक्त 'ए३२०–२००' सिरिजका दुईमध्ये एउटा जहाजमा बिहीबार बिहान १०ः०५ बजे चरा ठोक्किएको थियो।

कलसाइन ९एन–एकेएक्स र 'लुम्बिनी' नाम भएको यो जहाज काठमाडौंबाट हङकङ जाने तयारीमा थियो। उक्त जहाजमा ५६ यात्रु र चालकदलका आठ सदस्य थिए।

'उड्नका लागि धावनमार्गमा कुदिरहेकै बेला एक्कासि जहाजको दायाँ इन्जिनमा एउटा चार ठोक्किन पुग्यो,' निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले बिहीबार नागरिकसँग भने, 'चालकले जहाजलाई कुशलतापूर्वक रोकेर पार्किङ क्षेत्रमा ल्याउन सफल भए। धन्य, ठूलो दुर्घटना टर्‍यो।'

उनका अनुसार जहाजको दायाँ इन्जिनको 'ब्लेड' कुच्चिएको छ। चालकदल र सबै यात्रु सकुशल छन्। त्यसपछि ती यात्रुलाई अर्को जहाज व्यवस्था गरी हङकङ पठाइएको थियो। 

'घटनाबारे जहाज निर्माता एयरबस र इन्जिन निर्माता इन्टरनेसनल एरो इन्जिनलाई जानकारी गराउँछौं,' प्रवक्ता शर्माले भने, 'तत्कालका लागि हाम्रै इन्जिनियरले क्षतिको आँकलन गरिरहेका छन्। अहिले बाहिरी भागको क्षतिमात्र देखिएको छ, पूरै इन्जिन खोलेपछि मात्र भित्र कति क्षति पुगेको छ भन्ने स्पष्ट हुन्छ। जहाज मर्मत गर्न केही दिन वा साता लाग्न सक्छ।'

यसअघि त्रिभुवन विमानस्थलमै भारतीय निजी वायुसेवा कम्पनी जेट एयरवेजको एउटा जहाजमा चरा ठोक्किएपछि ग्राउन्डेड भएको थियो। विमानस्थलमा जहाजसँग चरा ठोक्किने क्रम बढ्न थालेपछि यहाँ उडान गरिरहेका दुई दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले उडान सुरक्षाको आवश्यक व्यवस्थातर्फ सम्बद्ध निकायको ध्यानाकर्षण गराउँदै आएका छन्।

त्रिभुवन विमानस्थलसहित देशभरका विमानस्थलको प्रमुख सञ्चालक निकाय उड्डयन क्षेत्रको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण हो। प्राधिकरणले चरालाई विमानस्थल र धावनमार्ग वरिपरि आउन नदिन शिकारीको व्यवस्था पनि गरेको छ। तर, तिनको पनि सदुपयोग हुन नसकेको एक वायुसेवा कम्पनीका अधिकारीले दाबी गरे।

'यस्तै घटनाबाट ठूलो जनधनको क्षति भयो भने त्यसको जिम्मेवारी विमानस्थल व्यवस्थापन वा प्राधिकरण कसले लिन्छ?,' ती अधिकारीले भने, 'हामीजस्ता अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले क्षतिपूर्ति दाबी गर्दै मुद्दा हाले भने त्यसबाट के सन्देश प्रवाह हुन्छ भन्ने सम्वन्धित निकायले बुझेकै होला।'

त्रिभुवन विमानस्थलमा हाल नेपाल वायुसेवा निगमसहित १४ देशका २६ अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले उडान गरिरहेका छन्। 

प्रकाशित: २४ असार २०७३ ०३:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App