८ वैशाख २०८१ शनिबार
समाज

अनेक बहाना बनाउँछन् मापसे गरी सवारी चलाउने

ललितपुर- साता दिनअघि कमलपोखरीमा मापसे (मादक पदार्थ सेवन) गरी मोटसाइकल चलाएका एक  युवकलाई ट्राफिक प्रहरीले समात्यो। ती युवकले आफूले रेडबुल मात्रै  खाएको बहाना बनाए। प्रहरीले प्रिन्ट ब्रेथलाइजरबाट मापसेको प्रमाण देखाएपछि भने आफूले मापसे गरेको उनले स्विकारे।

कोटेश्वरबाट मोटरसाइकलमा भक्तपुर जाँदै गरेका अर्का युवकले पनि प्रहरी चेकजाँचमा अघिल्लो दिन खाएको मादक पदार्थकोे गन्ध आएको सुनाए।

'भोजमा गएर आएका नेवार समुदायका चालकलाई कारबाही गर्न कठिन हुन्छ, सगनुको रुपमा भगवान्को प्रसाद खाएको भन्छन्।'

केही दिनअघि मापसे गरी कार चलाउने एक जनालाई ललितपुर जावलाखेलबाट ट्राफिक प्रहरीले समात्यो। पक्राउ पर्नेले हार्डजोनीसम्बन्धी औषधि सेवन गरेको बताए। उनलाई पनि प्रिन्ट ब्रेथलाइजरबाट प्रहरीले मापसे गरेको पत्ता लगायो।

फागुन ४ गते मापसे गरी बस चलाएका अर्का चालकलाई प्रहरीले भक्तपुर कमलविनायकबाट पक्राउ गर्‍यो। नशाले बोल्न नसक्ने भएका ती चालकलाई कहाँ जाँदै छु भन्ने समेत पत्तो नभएको कमलविनायक प्रहरीबिटले जानकारी दियो। ती चालकले पनि नबुझिँदो आवाजमा गाँजा खाएको बहाना बनाएका थिए।

उपत्यकाका विभिन्न सडकमा मापसे गरी सवारी हाँक्ने चालकले ट्राफिक प्रहरीलाई छल्न दिनहुँ यसरी नै बहाना बनाउने गर्छन्। रातको समय झनै यसरी बहानाबाजी गर्ने चालक बढी हुने ट्राफिक प्रहरीको भनाइ छ। मापसेबाट जोगिन चालकले औषधि, चक्लेट, कोक, रेडबुल, छापाखानामा प्रयोग गरिने मसीको गन्ध लगायत अनेकौं बहाना बनाउँछन्। 'मापसे गरी कार चलाएका कतिपयले छापाखानामा काम गर्दा मसी मुखमा परेको बहाना गरे,' महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता लोकेन्द्र मल्लले भने, 'मापसे गरेका चालकले अपत्यारिलो बहाना बनाउँछन्।'

नेवार समुदायका केही चालकले भोजमा सगुनको रुपमा मदिरा लिनैपर्ने परम्परा भएको भन्दै हैरान पारेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी मिलन बस्नेतले बताए। 'भोजमा गएर आएका नेवार समुदायका चालकलाई कारबाही गर्न कठिन हुन्छ,' उनले भने, 'सगनुको रुपमा भगवान्को प्रसाद खाएको भन्छन्।'

कसैको संस्कृति भए पनि कानुनलाई पालना गरेर मापसे गर्ने चालकलाई  एकै प्रकारको कारबाही गरेको उनले बताए। 'हामीले कसैको परम्पराभन्दा पनि कानुनलाई हेरेर कारबाही गरेका छौं, कुनै चालकले आफ्नो संस्कृति र परम्परा भन्दैमा प्रहरीबाट उन्मुक्ति पाउँदैन,' उनले भने।

ब्रेथलाइजर पर्याप्त नभएकाले उपत्यकाका भित्री सडकमा मापसे जाँच्न कठिन भएको ललितपुर ट्राफिक प्रहरी इन्चार्ज सीताराम हाछेँथु बताउँछन्। उनका अनुसार अहिले उपत्यकाका तीन जिल्लामा मापसे जाँच्ने उपकरण ब्रेथलाइजर दुई सय ३४ मात्र छन्, तीमध्ये बिग्रिएका ५० वटा महाशाखामा थन्किएका छन्।

प्रहरीका अनुसार अन्य दिनभन्दा बढी शुक्रबार र शनिबार चालकले मापसे गर्छन्।

'बहाना बनाएर छल्न खोज्नेलाई चालक अनुमतिपत्रमा प्वाँल पार्ने, सचेतना कक्षासँगै १५ सयभन्दा बढी जरिवाना पनि तिराएका छौँ,' महाशाखाका प्रवक्ता मल्लले भने।

उनका अनुसार मापसेे गरेका अधिकांश चालकले प्रहरीबाट बच्न मध्येरातमा सवारी चलाउँछन्।

'कतिपय चालक चेकजाँच भएको थाहा पाए परैबाट तर्किएर जान्छन्,' हाछेँथुले भने, 'त्यस्तालाई हामीले खेदीखेदी समातेका छौं।'

हाछेँथुका अनुसार मापसे गरेका चालकले प्रहरीलाई छल्न पानीको भाँडाका रक्सीको गन्ध आएको, जात्रा, पर्व, विवाह, बर्थडे आदिमा सुगनका रुपमा एक थोपा खाएको भन्नेजस्ता बहाना बनाउँछन्।

प्रकाशित: ८ फाल्गुन २०७३ ०३:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App