coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

चुनाव गराएरै छाड्छु : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान कार्यान्वयनका लागि निर्वाचन अनिर्वाय भएकाले गराएरै छाड्ने बताएका छन्। ६७औं प्रजातन्त्र दिवसका अवसरमा शनिबार सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री दाहालले निर्वाचन हुनेमा आशंका नगर्न सबैलाई आह्वान गरे।

सरकारले निर्वाचनका लागि कानुनी र राजनीतिक वातावरण निर्माण गरिरहेको जनाउँदै प्रधानमन्त्रीले वैशाख अन्त्यसम्म स्थानीय तहको निर्वाचन गराउने उद्देश्यले निर्वाचन आयोगलाई तयारी गर्न पत्राचार गरिएको प्रस्ट पारे। 'चुनाव भए मात्र शान्तिप्रक्रिया तार्किक निष्कर्षमा पुगी राजनीतिक संक्रमणको एउटा महत्वपूर्ण अध्याय समाप्त हुनेमा सरकार गम्भीर र सचेत छ,' उनले भने, 'निर्वाचनसँग सम्बन्धित राजनीतिक र कानुनी मुद्दाको टुंगो लगभग अन्तिम अवस्थामा पुगेको छ।'

'चुनाव भए मात्र शान्तिप्रक्रिया तार्किक निष्कर्षमा पुगी राजनीतिक संक्रमणको एउटा महŒवपूर्ण अध्याय समाप्त हुनेमा सरकार गम्भीर र सचेत छ'

साढे ६ दशक लामो प्रतिक्षापछि नेपाली जनताले प्रगतिशील र गतिशील संविधान प्राप्त गरे पनि परिवर्तनका एजेनन्डा संवैधानिक रुपमा संस्थागत गर्ने प्रक्रियाले पूर्णता पाइनसकेको उनले बताए। 'जनआन्दोलन, जनयुद्धलगायत विभिन्न संघर्षबाट प्राप्त संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशी व्यवस्थालाई व्यवहारमा लागू गर्न अझै पनि चुनौती छ,' उनले भने, 'संविधानले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशी जस्ता नेपाली जनताका परिवर्तनका चाहनालाई स्थापित गरेको छ।'

प्रधानमन्त्री दाहालले नयाँ संविधान कार्यान्वयनका लागि सबैभन्दा ठूलो चुनौती संघीयता भएको बताए। 'संघीयताको मुख्य उद्देश्य सिंहदरबारको अधिकार प्रदेश र स्थानीय तह हुँदै जनताको घरदैलोसम्म पुर्‍याउनु हो,' उनले भने, 'यसबाट पहिचानको चाहना पूरा हुने मात्र होइन, शासन व्यवस्था जवाफदेही हुने तथा अवसरबाट वञ्चित, पछाडि परेका वर्ग र समुदायको पहुँच बढ्न गई समग्र राज्य प्रणालीप्रति जनताको वैधता र स्वीकार्यता बढ्छ।'

प्रधानमन्त्रीलेे संविधान सफल कार्यान्वयन गरी राष्ट्रिय एकता मजबुत बनाउन र नेपाललाई समृद्धिको दिशातर्फ उन्मुख गराउन आआफ्नो ठाउँबाट योगदान गर्न सबै दल, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय र जनतालाई आह्वान गरे।

नेपालको समृद्धिमा अन्तर्राष्ट्रिय समुदायको पनि यथोचित सहयोग रहने उनको विश्वास छ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश सुशीला कार्की, मन्त्रीहरू, संवैधानिक आयोगका प्रमुखहरू, कूटनीतिक नियोग प्रमुखसहित सर्वसाधारको उपस्थिति थियो।

यसैबीच, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै नयाँ संविधान जारी भई लोकतान्त्रिक आन्दोलनमार्फत प्राप्त उपलब्धिलाई  संस्थागत गर्न सबै लाग्नु पर्नेमा जोड दिएका छन्। दलगत स्वार्थ त्यागेर मुलुकको समुन्नतिका लागि लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयन र संस्थागत गर्न सबै लाग्नुपर्ने जनाउँदै देउवाले भनेका छन्, 'कुनै पनि संविधान जारी हुँदाका बखत नै पूर्ण र असंशोधनीय हुन सक्दैन। समय, काल, परिस्थिति र जनचाहना अनुसार यसले आफ्नो आकार ग्रहण गर्दै जान्छ।'

आपसी सद्भाव, एकता र शान्तिपूर्ण ढंगबाट समस्या समाधान गर्न सकिने विश्वास गर्दै देउवाले मुलुक र मुलुकवासीप्रति जिम्मेवार बन्न सबैलाई आग्रह गरेका छन्।

प्रकाशित: ८ फाल्गुन २०७३ ०३:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App