४ वैशाख २०८१ मंगलबार
राजनीति

माओवादी निष्कर्ष : स्थानीय चुनाव वैशाख अन्तिममा

काठमाडौं- सत्तासीन माओवादी केन्द्रले वैशाख अन्तिम साता स्थानीय निर्वाचन गर्न तयारी थाल्न सरकारलाई आग्रह गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको माओवादी हेडर्क्वाटर बैठकले संविधान कार्यान्वयनका लागि निर्वाचनको विकल्प नभएको भन्दै पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई दलीय सहमतिमा चुनाव मिति घोषणा गर्न आग्रह गरेको हो।

बैठकले निर्वाचन घोषणा गर्नुअघि सत्ता गठबन्धन कांग्रेसका साथै प्रमुख प्रतिपक्षी एमाले र मधेसी मोर्चासँग समेत छलफल गर्न पनि प्रधानमन्त्रीलाई सुझाएको छ। 'वैशाख अन्तिम साताभित्र स्थानीय निर्वाचन गर्नुपर्ने ठहरसहित तयारी गर्ने निष्कर्ष निकालेका छौं,' पार्टी प्रवक्ता पम्फा भुसालले भनिन्, 'त्यसअघि स्थानीय निकाय पुनर्संरचनासहितका केही विषय टुंगो लगाउन दलहरू र आयोगसँग पनि प्रधानमन्त्रीले छलफल गर्नुहुन्छ।'

राजनीतिक परिस्थितिबारे समीक्षा गर्दै हेडक्वार्टर बैठकले स्थानीय तहको निर्वाचनको विकल्प नभएको निष्कर्ष निकालेको छ। हेडक्वार्टर सदस्यहरूले कांग्रेस, मधेसी मोर्चा र निर्वाचन आयोगसँग पनि छलफल गरेर एकदुई दिनभित्रै निर्वाचन मिति घोषणा गर्न सरकारलाई सुझाव दिएको छ।

स्थानीय निकाय पुनः संरचना गर्दा जनसंख्याका आधारमा स्थानीय निकायको संख्या कम भएको भन्दै मधेस केन्द्रित दलले असन्तुष्टि जनाइरहेको भन्दै माओवादीले उनीहरूको मागलाई अधिकतम सम्बोधन गर्ने प्रयास गर्ने भएको छ। 'जनसंख्याको अनुपातमा स्थानीय तहको संख्या निर्धारण भएन भन्ने कुरा विभिन्न पक्षबाट आइरहेको छ,' नेत्री जयपुरी घर्तीले भनिन्, 'असन्तुष्ट पक्ष र पुनर्संरचना आयोगसँग छलफल गरी स्थानीय निकायको टुंगो लगाएर अघि बढ्नुपर्छ।'

दलीय सहमतिमा स्थानीय निकाय पुनर्संरचनाको संख्या र सीमा टुंगो लगाएर त्यसलाई राजपत्रमा प्रकाशित गरेपछि मात्र सरकार निर्वाचन मिति घोषणा गर्न बैठकले प्रधानमन्त्रीलाई सुझाएको छ। 'स्थानीय निकायको संख्या निर्धारण र राजपत्रमा प्रकाशित गर्ने सहितका प्राविधिक कुरा सल्ट्याउँदा मिति घोषणा गर्न एक साता समय लाग्न सक्छ,' प्रवक्ता भुसालले भनिन्, 'तर, निर्वाचन मिति घोषणा गर्न ढिला गर्न हुन्न र वैशाखमै गर्नुपर्छ भन्नेमा प्रतिबद्ध छौं।'

बैठकले सरकारले संसद्मा पेस गरेको संविधान संशोधन प्रस्तावलाई पनि निर्वाचनसँगै अघि बढाउने निष्कर्ष निकालेको छ। 'निर्वाचन मिति घोषणा गर्ने र संशोधन प्रस्ताव पनि अघि बढाउनेछांै,' भुसालले भनिन्।

बैठकमा पार्टी संगठन सुदृढीकरणसहितका विषयमा पनि छलफल भएको थियो। पार्टी सदस्यता नवीकरण सम्पन्न गर्ने, स्थानीय तहका कमिटीको सम्मेलन सम्पन्न गर्ने, एकता गर्न बाँकी रहेका मोर्चा, जनवर्गीय संगठन र विभागको एकता सम्पन्न गर्ने र निर्वाचन केन्›ित गरेर संगठनात्मक काम अघि बढाउने निर्णय गरेको छ।

प्रधानमन्त्री दाहालले समसामयिक राजनीतिक परिस्थिति, स्थानीय  निर्वाचनबारे सरकारले गरेको तयारी र दलहरूसँग भएको संवादबारे बैठकलाई जानकारी गराएका थिए।

प्रकाशित: ८ फाल्गुन २०७३ ०२:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App