coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

वायुसेवालाई सञ्चय कोषको २५ अर्ब

काठमाडौं- सरकारी स्वामित्वको कर्मचारी सञ्चय कोषले नेपाल वायुसेवा निगमलाई वार्षिक ९ प्रतिशत ब्याजदरमा २५ अर्ब रुपैयाँ ऋण दिन लिखित प्रतिबद्धतापत्र पठाएको छ। दुई थान ठूला (वाइड बडी) जहाज खरिद गर्न आवश्यक २५ अर्ब रुपैयाँ ऋणस्वरूप लिन निगमले सञ्चय कोषसँग लामो समयदेखि औपचारिक/अनौपचारिक वार्ता गर्दै आएको थियो। त्यसपछि गत भदौ २९ गते कोषले उक्त रकम एक्लै उपलब्ध गराउने आसयपत्र निगमलाई पठाएको थियो। त्यसबेला भने ब्याजदर तोकिएको थिएन।

'अहिले सञ्चय कोषले वार्षिक ९ प्रतिशत ब्याज लिने गरी २५ अर्ब रुपैयाँ ऋण दिने लिखित प्रतिबद्धतासहितको पत्र पठाएको छ,' निगमका एक उच्च अधिकारीले शनिबार नागरिकसँग भने, 'हामी पनि कोषले तोकेकै ब्याजदरमा ऋण लिन तयार छौं। अब सकेसम्म चाँडै कोषसँग ऋण सम्झौता गर्नेछौं।'

'दुइटा वाइड बडी जहाज किन्न चाहिने ठूलो परिमाणको रकम जुटाउने झन्झट सकिएको छ। आफ्नो देशको पैसा आफ्नै देशमा सदुपयोग हुने भयो'

उनका अनुसार पछिल्लोपटक एक साताअघि निगमका उच्च अधिकारीको एक टोलीले सञ्चय कोषका अधिकारीसँग भेट गरी सस्तो ब्याजदरमा ऋण उपलब्ध गराइदिन आग्रह गरेका थिए। त्यसको तीन दिनपछि कोषले निगमलाई लिखित प्रतिबद्धतापत्र पठाएको हो।

'कोषबाट लिखित प्रतिबद्धतापत्र आएपछि दुइटा वाइड बडी जहाज किन्न चाहिने ठूलो परिमाणको रकम जुटाउने झन्झट सकिएको छ,' ती अधिकारीले भने, 'आफ्नो देशको पैसा आफ्नै देशमा सदुपयोग हुने भयो। हुन त हामीलाई विभिन्न स्वदेशी तथा विदेशी वित्तीय संस्थाले पनि सस्तोमा ऋण दिने प्रस्ताव गरेका थिए तर हामीले सञ्चय कोषलाई नै रोज्यौं।'

यसअघि दुईथान साना (न्यारो बडी) जहाज खरिद गर्दा पनि कोषसँगै १० अर्ब रुपैयाँ ऋण लिएका कारण थप सहज होस् भनेर वाइड बडीका लागि पनि कोषसँगै ऋण लिन लागिएको उनले बताए। निगम व्यवस्थापनका अधिकारी तथा सञ्चालक समिति सदस्यहरू पनि कोषबाटै ऋण लिन सहमत भएपछि बाटो खुलेको हो। 

निगमले लिने ऋणमा सरकारले जमानी बस्ने निर्णय गर्नुअघि नै सञ्चय कोषले गएका भदौ २९ मा ऋण दिने प्रस्ताव गरेको थियो। निगमले लिने २५ अर्ब रुपैयाँबराबर ऋणमा जमानी बस्ने सरकारको निर्णयलगत्तै अर्थ मन्त्रालयले गत असोज ६ गते निगमलाई यससम्बन्धी पत्र पठाएको थियो।

निगमले यसअघि एयरबससँग १ सय ५८ सिट क्षमतायुक्त 'ए३२०–२००' सिरिजका दुई थान जहाज खरिद गर्न सञ्चय कोषसँग १० अर्ब रुपैयाँ ऋण लिएको थियो। निगम र कोषबीच २०७० असार ४ गते १० अर्ब रुपैयाँबराबरको ऋण आदानप्रदान सम्झौता भएको थियो। त्यस बेला कोषले वार्षिक १२ प्रतिशत ब्याज दर तोकेको थियो भने चुक्ता अवधि १५ वर्ष राखेको थियो।

कोषले सुरुमा १२ प्रतिशत ब्याज दर तोके पनि पहिलो किस्ता चुक्ता गर्दा ११ प्रतिशत मात्र ब्याज लिएको थियो। त्यसपछि अझ सहुलियत दिँदै दोस्रो किस्तादेखि वार्षिक १० प्रतिशतका दरले मात्र ब्याज लिएको थियो। हाल त्यसमा पनि घटाउँदै ब्याज दर ९ प्रतिशतमा झारिसकेको छ। निगम र कोषबीचको सम्झौताअनुसार प्रत्येक तीन महिनामा एकपटक गरी वार्षिक चार किस्तामा सावाँ–ब्याज चुक्ता गर्नुपर्छ। १५ वर्षमा ६० किस्ता तिर्नुपर्ने सम्झौता छ।

एयरबसमा उत्पादित २ सय ५० देखि २ सय ८० सिट क्षमतायुक्त 'ए३३०–२००' सिरिजका दुई थान वाइड बडी जहाज खरिद गर्न पोर्चुगलको 'हाइफ्लाई एयरलाइन्स' लाई निगमले गत बुधबार १० लाख अमेरिकी डलर (१० करोड ७० लाख रुपैयाँ) प्रतिबद्धता रकम (बैना) पठाएको थियो।

अमेरिकी उड्डयन सहयोग कम्पनी एएआर कर्पोरेसनले प्रतिथान १० करोड ४८ लाख अमेरिकी डलर (११ अर्ब २१ करोड ३६ लाख रुपैयाँ) का दरले दुईवटा वाइड बडी जहाज बिक्री गर्ने प्रस्तावलाई निगम सञ्चालक समितिले गत माघ २ गते अनुमोदन गरेको थियो। जसअनुसार दुई जहाजका लागि निगमले २२ अर्ब ४२ करोड ७२ लाख रुपैयाँ तिर्नुपर्नेछ।

त्यसपछि माघ १४ गते निगम र एएआरबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो। समझदारीपत्रमा 'जहाज नलिए प्रतिबद्धता रकम फिर्ता हुने' उल्लेख छ। एयरबसमा हाइफ्लाई एयरलाइन्सको अर्डरमा निर्माणाधीन दुई थान ए ३३० जहाज नै एएआरले निगमलाई बिक्री गर्ने प्रस्ताव गरेको हो। निगमले बढीमा एक महिनाभित्र एएआरसँग जहाज खरिद सम्झौता गर्ने गरी काम अगाडि बढाएको छ।

निगमलाई दुइटा ए३३० वाइड बडी बेच्न गत कात्तिक २५ गते १० अन्तर्राष्ट्रिय कम्पनीले प्रस्ताव गरेका थिए। तीमध्ये एएआरले सबैभन्दा सस्तो मूल्यमा दुई थान वाइड बडी बेच्ने प्रस्ताव गरेको थियो। उसले 'ब्रान्ड न्यु' (एक मिनेट पनि नउडेको) जहाज दिने प्रस्ताव गरेको छ।

निगमका अनुसार पहिलो वाइड बडी आगामी २०७४ मंसिरमा र दोस्रो वाइड बडी त्यही वर्ष फागुन अन्तिमसम्ममा काठमाडौं अवतरण गर्ने पक्कापक्की भएको छ। पुरानो मितिअनुसार भने पहिलो वाइड बडी २०७४ असोजमा र त्यसको ६ महिनापछि २०७५ वैशाखमा दोस्रो वाइड बडी आउने तालिका थियो। 

निगमले दुई थान वाइड बडी जहाज ल्याएर लामो दुरी (लङ हल) गन्तव्यमा उडान गर्ने योजना बनाएको छ। वाइड बडी आएपछि पहिलो उडान जापानको टोकियो वा दक्षिण कोरियाको सोलमध्ये एकमा हुने निगमको व्यापारिक योजनामा उल्लेख छ। त्यसैगरी साउदी अरबको दम्माम र अस्ट्रेलियाको सिड्नी उडान गर्ने योजना पनि निगमको छ। निगमले खरिद गर्न लागेको वाइड बडी जहाजले एकतर्फी सीधा ९ देखि १० घन्टा 'नन स्टप' उडान गर्न सक्छ।

प्रकाशित: ८ फाल्गुन २०७३ ०२:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App