८ वैशाख २०८१ शनिबार
खेल

रियाल झैँ रोनाल्डोको छायामा बेल

लियोन- पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो सन्की र चाँडै निराश हुने स्वभावका छन्। त्यो भन्दा बढी उनी प्रभावशाली पनि छन्। पोर्चुगलको पहिलो गोलमा सशक्त हेडिङ गरेका रोनाल्डोले दोस्रो गोलमा अवसर बनाइदिएका थिए। त्यही तीन मिनेट बीचको खेलमा पोर्चुगलले वेल्सलाई पराजित गर्‍यो।

यसैका कारण आइतबार युरोपियन च्याम्पियनसिपको फाइनलमा रोनाल्डोले पोर्चुगलको नेतृत्व गर्न पाउने छन्। यतागारेथ बेलको टोली वेल्सको युरो २०१६ को स्वर्णिम यात्रा समाप्त भएको छ।

रियाल मड्रिडमा जस्तै बुधबार पनि बेल रोनाल्डोको छायाँमा परे। चानचुन एक साताभित्र यी दुई पुनः एउटै टोलीबाट खेल्नेछन्। सेमिफाइनलमा अन्तिम सिठी बजेपछि रोनाल्डो बेलसामु गए। उसलाई कसिलो अँगालोमा बाँधे र सान्त्वना दिए। विश्वकै महँगा दुई खेलाडीलाई लियोनको सेमिफाइनलमा नजिकबाट नियाल्दा :

ठूलो क्षण

पोर्चुगलले प्रतियोगिताका पाँचै खेल निर्धारित ९० मिनेटभित्र जित्न सकेको थिएन तर रोनाल्डोले छैटौं खेलमा त्यो हुन दिएनन्। समूह चरणमा हंगेरीविरुद्ध ३–३ को बराबरी खेल्दा दुई गोल गरेपछि तीनपटकका विश्व वर्ष खेलाडी रोनाल्डो लियोनमा पुनः चम्किए।

जसमारोनाल्डोको बलियो शारीरिक क्षमताले पनि काम गर्‍यो। राफेल गुइर्रोले क्रस गर्दा वेल्सका रक्षक जेम्स चेस्टर भन्दा रोनाल्डोको उफ्राई धेरै माथि थियो। ५० मिनेटमा रोनाल्डोले गोल गर्दा बेल दर्शकमात्र बन्न सके।

गोल गरेपछि रोनाल्डोको खुसी मनाउने आफ्नै शैली छ। उनी ‘कर्नर फ्ल्याग’ नजिक गए। मौरीले रानो छोपेजस्तै साथीहरूले उनलाई छोपे। त्यसपछि उनी उठे र आफ्नै शैली (बुर्लुक्क उफ्रेर खुट्टा फट्टाएर) प्रदर्शन गरे। उनले जर्सी भने खोलेनन् सायद त्यो फाइनलको लागि साचेका हुनसक्छन्।

कीर्तिमानी

रोनाल्डोका नाममा थुप्रै कीर्तिमान बनिसकेका छन्। च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ता बनिसकेका रोनाल्डोले बुधबार राति युरोपियन च्याम्पियनसिपमा पनि मिचेल प्लाटिनीको कीर्तिमानी (९ गोल)सँग बराबरी गरे।

पोर्चुगलबाट दोस्रोपटक फाइनल खेल्न लागेका रोनाल्डो थप गोल गर्दै पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने आशामा छन्।

गोलको अवसर बनाइदिए

पहिलो गोल गरेको तीन मिनेट बित्न नपाउँदै उनले सशक्त प्रहार गरे। जुन बल नानीले भेट्टाए र पोस्टको दिशा दिए। त्यसपछि बेलको टोलीलाई खेलमा फर्कन कुनै मौका मिलेन। उल्टै उनले पहेँलो कार्डसामना गर्नुपर्‍यो।

एक व्यक्तिमा निर्भर टोली

क्वार्टरफाइनलमा पहेँलो कार्ड पाएपछि आरोन राम्से पोर्चुगलविरुद्धनिलम्बनमा थिए। त्यसैले बेल मिडफिल्डमा झरेर खेल्नुपरेको थियो। राम्सेको अनुपस्थितिमा बेल खुलेर खेल्न पाएनन्। बेल एक्लैको प्रदर्शनमा वेल्सले फाइनल यात्रा तय गर्न सकेन।

फ्रिकिकमा निराश

रियाल मड्रिडबाट सँगै दोस्रोपटक च्याम्पियन्स लिग जितेको ६ साता पनि नहुँदै आफ्नो देशको प्रतिनिधित्व गर्नेक्रममा रोनाल्डो र बेल लियोनमा आमने–सामने भए।  खेलअघिको पत्रकार सम्मेलनमा अंकमाल गरेका रोनाल्डो र बेल पहिलो हाफमा एकपटकमात्र सँगै भए। बेलले दायाँ भागबाट बल लिएर अघि बढ्ने क्रममा रोनाल्डोले बेललाई रोक्ने प्रयास गरेका थिए। तर बेल र रोनाल्डो दुवैजना फ्रिकिक प्रहारमा असफल भए। जुन यस प्रतियोगितामा रोनाल्डोका लागि नौलो थिएन। उनले पोर्चुगलबाट ४३ औं पटक फ्रिकिकमा गोल गर्न सकेका छैनन्।

बेलले प्रतियोगितामा दुई गोल फ्रिकिकबाट गरेका थिए। तर, १० करोड मूल्यका बेल बुधबार भने असफल भए। रोनाल्डोभन्दा चारवर्ष कान्छा २६ वर्षे बेललाई अब फाइनलमा राम्रो गर्ने मौका भने हुनेछैन।

प्रकाशित: २४ असार २०७३ ०३:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App