८ वैशाख २०८१ शनिबार
अन्य

दुर्वासा बहस

कृष्ण शाह यात्री

अदालतमा सबुत–प्रमाणसहित लामो बहस चल्छ। आफ्नै बाबुको हत्या आरोप लागेको एक १७ वर्षीय केटोको मुद्दा टुंगोमा पुग्दैन। मुद्दा १२ उग्रस्वभावका दुर्वासा वकिलको जिम्मा लगाइन्छ।

एक वकिलले केटो निर्दोष भएको बताएपछि ११ जनाले दोषी भएको मत जाहेर गर्दागर्दै मुद्दामाथि पुनर्छलफल चल्छ। केही घन्टाको बहसपछि नतिजा अचम्मसँग फेरिन्छ।

यो नाटपछि सरोज खनाल अरु नाटक गर्न हौसिएका छन्। यो नाटकमा पात्रको धूमपानमार्फत् प्रयुक्त चुरोटको अत्यधिक धुवाँले दर्शकलाई कहिलेकाहीँ नाटक आस्वादनबाट विमुख गराउँथ्यो। नाटकले 'लाउड डिमान्ड' गरे पनि कतैकतै 'ओभर लाउडनेस'ले पात्रलाई थिचेको देखियो। समग्रमा नाटक '१२ दुर्वासा' नेपाली रंगमञ्चको लागि भिन्न स्वाद बन्न सफल छ।

मन्डला थिएटरमा हालै मञ्चित नाटक '१२ दुर्वासा'ले बोकेको नाट्यभ्रूण यही थियो। अमेरिकी लेखक रेनाल्ड रोजको नाटक 'ट्वेल्भ एंग्री मेन'ले विश्वका अनेक भूगोलको रंगमञ्च छामिसकेको छ। विभिन्न भाषाको सिनेमाको पर्दामा पनि रूपान्तरित भइसकेको यो कृति यसपटक मन्डला थिएटरको रोजाइमा पर्‍यो। '१२ दुर्वासा' नाटकको विषय, प्रस्तुति र कलाकारको घेरा धेरैका लागि आकर्षणको केन्द्र बन्यो।

०५१ सालमा नाटक 'बिनाचिहानको मृत्यु' मा अभिनयको उत्कर्ष पस्केर नेपाली रंगमञ्चको क्षितिजबाट लामो समय ओझेल परेका रंगकर्मी सरोज खनाल एकाएक यसै नाटकबाट सार्वजनिक भए। सरिता गिरी, पशुपति राई, सिर्जना सुब्बा र लक्ष्मी बर्देवाजस्ता भिन्न स्कुलिङ र पृष्ठभूमिबाट आएका अहिलेका अब्बल नारी कलाकारको हस्तक्षेपकारी उपस्थिति पनि यसै नाटकमा देख्न पाइन्छ। विभिन्न थिएटरमा काम गरिरहेका अभय बराल, बादल भट्ट, सोमनाथ खनाललाई पनि यसै नाटकमा जुधाइएको थियो। यो संवादप्रधान नाटक हो। त्यसैले पनि मञ्चमा एकैपटक आएका कलाकार बिनाप्रस्थान एक घन्टा ४० मिनेटसम्म संवाद गर्छन्। भाव फेरिन्छ, अभिमत फेरिन्छ, दृश्य फेरिँदैन न त प्रकाश नै फेरिन्छ। यति हुँदाहुँदै पनि प्रस्तुति अत्याशलाग्दो बन्न नदिन निर्देशन राजन खतिवडाले अभिनय र सेटमा सूक्ष्म दृष्टि पुर्‍याएका थिए। एमआर्ट थिएटर, गुरुकुल हुँदै मन्डला थिएटरका सारथी बनेका राजनको पछिल्लो निर्देशनले उनलाई अझ परिस्कृत बनाएको देखिन्छ। 'सुनकेशरी', 'इब्सन', 'चरनदास चोर', 'मिस जुली', 'माथा पञ्चर' हुँदै अघि बढेको उनको निर्देशन सीप चुनौतीउन्मुख देखिन्छ।

बहसको सौन्दर्य

बहस नै नाटक '१२ दुर्वासा'को केन्द्रीय तन्तु हो। बहस नै सौन्दर्यचेतना बनेर देखापरेको छ। बहसबाट कुनै पनि विषयको उचित निष्कर्ष वा निचोड निस्कन सक्छ। नाटक यतिबेला छान्नुको औचित्य पनि यस्तै हो जस्तो लाग्छ। बाराको डुमरबानामा हुर्के–बढेका राजन खतिवडा भन्छन्, 'हामीकहाँ अहिले सामाजिक र राजनीतिक मुद्दा हेर्ने हो भने धेरै ठूलो बहस नै नगरी निर्णयमा पुगिहाल्ने प्रवृत्ति देखिन्छ। कतिपय सवालमा पनि संविधानसभामा जुन किसिमले बहस चल्नुपर्थ्यो, त्यो भएन। अझै पनि हामीकहाँ धेरै यस्ता मुद्दा छन्, जसबारे प्रशस्त बहस गरिनुपर्छ।'

सरोज खनाललाई संघीयताको मुद्दामा सबैको कुरा सुन्दै अझै बहस हुनुपर्छ जस्तो लाग्छ। उनी भन्छन्, 'यो नाटक त देशका नीति–निर्माताले हेर्नुपर्छ। एउटा लामो छलफल गरिसकेपछि 'हो' भनिसकेको कुरा पनि 'होइन'मा परिणत हुन सक्छ। सही निचोडमा पुग्न सकिन्छ।'

पशुपति राई भन्छिन्, 'माओवादी द्वन्द्वकालका धेरै किसिमका अप्रिय घटना भए। मैले 'प्ले ब्याक थिएटर' शैलीका नाटक मञ्चन गर्दा द्वन्द्वकालका पीडित दुवै पक्षको कुरा सुनेकी छु। एउटाको कुरा सुन्दा ठीकजस्तो लाग्छ, त्यही मुद्दामा अर्को पक्षको कुरा सुन्दा त्यस्तै लाग्छ। त्यसकारण कतिपय यस्ता घटना छन्, जसबारे लामो बहस चलाउनुपर्छ। हतारमा निर्णय लिनुहुँदैन।'

नाटकले उठाउन खोजेको विषयलाई अहिलेको नीति निर्मातासम्म पुग्ने कुरामा भने कलाकार विश्वस्त छैनन्। सरिता भन्छिन्, 'हामी नाटक मञ्चन गर्छौं। नाटक हेर्ने नेता आउँछन् पनि। तर नाटकघरबाट बाहिरिएपछि उनीहरू हेरेको कुरा बिर्सन्छन्।'

केही महिनाअघि नाटक 'बोक्सी'मा एकल अभिनयमार्फत जुन तरिकाले सरिताले कुरा उठाएकी थिइन्, त्यसको सतही रुपमा मात्र चर्चा भएको उनको ठम्याई छ।

एउटै कुरालाई बारम्बार उठाइरहँदा त्यसले एक दिन प्रभाव पार्न सक्ने सिर्जना सुब्बा बताउँछिन्। उनी भन्छिन्, 'एकपटक कुनै पनि विषयको नाटक हेरेर गइसकेपछि दर्शकले आफैंभित्र प्रश्न भने जन्माउँछ। त्यसबारे केही क्षण भए पनि सोच्छ।'

नाटकले दर्शकलाई कुनै पनि मुद्दामा बिनापूर्वाग्रह रूपान्तरित गर्न सक्यो भने पनि उपलब्धि मानेर सन्तोष लिनुपर्ने अवस्था रहेको पशुपति बताउँछिन्।

सरोजको दुर्वासा

रंगमञ्चमा काम गरिसकेर स्थापित भएपछि चलचित्र, टेलिभिजन वा मुलुकबाहिर नै पनि पलायन हुने प्रवृत्ति पुरानै हो। सरोज खनालभन्दा अघि पनि धेरै यसरी नै स्वेच्छाले हराएका थिए। तर सरोज खनालको बढी नै आलोचना भयो। उनीबाट दर्शकले अपेक्षा पनि बढी नै गरेका थिए र जसलाई बढी माया गरिन्छ, छाडेर जाँदा उसैलाई बढी तिरस्कार पनि गरिन्छ। सरोजका दर्शकले पनि यसै गरे। दुई दशक लामो बसाइपछि उनी नेपाल फर्किए। त्यो बेला पनि उनले प्रतिकूल प्रतिक्रिया भोगे। दर्शकबाट उनले पाएको आलोचनालाई ऊर्जाको रुपमा लिए। त्यसपछि नै हो, चितवनमा बसेर मूलतः व्यापार गर्ने सोच बनाएर नेपाल फर्किएका सरोज खनाल चलचित्रमा निकै सक्रिय हुन थाले। रंगमञ्चमा भने बल्ल मौका जुर्दै छ उनलाई नाटक '१२ दुर्वासा'मार्फत्।

तीन वर्षअघि अमेरिकाको एउटा कार्यक्रममा जम्का भेट हुँदा  सरोजलाई सोधेको थिएँ, नेपाल गएर नाटक खेल्ने इच्छा छैन? उनले नेपाल आउँदा प्रयास पनि गरेका रहेछन्। उनीसँग कुरा हुँदा थाहा भयो। उनले अमेरिकामा रहँदा विभिन्न कार्यक्रममा एकल नाट्य प्रस्तुति गर्ने रहेछन्। नाटकमा काम गर्ने चेतना सेलाइसकेको रहेनछ।

आरोहण शनिबारका नाटकमा अभिनयबाट तहल्का मच्चाउने, ध्रुवचन्द्र गौतमको 'भष्मासुरको नलीहाड', मनु ब्राजाकीको 'भन्नु न भन्नु' र सोमनाथ भट्टराईको 'प्रलय'मा गज्जबको अभिनय गर्ने सरोज खनाललाई अभिनयको तिर्खा फुच्चे प्रस्तुतिले मेटिँदैनथ्यो। अन्ततः उनको पुनरागमन भयो। सरोज भन्छन्, 'अब म वर्षमा कम्तीमा दुई नाटक खेल्छु।'

सरोज खनालजस्तै जो रंगमञ्चबाट कुनै कारणवश टाढिए, उनीहरू रंगमञ्चमा फर्कन चाहन्छन् भने उनीहरूलाई नयाँपुस्ताका निर्देशक र नाटकघरले समेट्न सक्नुपर्छ। यसको फाइदा दुवै पक्षलाई छ। हरिहर शर्मा, बद्री अधिकारी, सूर्यमाला शर्माहरू रंगमञ्चमा फेरि देखिन थालेका छन्। यो क्रमले निरन्तरता पाउन सके रंगमञ्च अझै उज्यालो बन्नेछ।

०२० सालमा चितवनको ज्यामिरेमा जन्मिएका सरोजलाई ०४१ मा अस्कल कलेजमा आइएस्सी पढ्दाताकादेखि नै  नाटक हेर्ने लत बसेको हो। प्रज्ञा भवन, राष्ट्रिय नाचघर र राष्ट्रिय सभागृहमा हुने नाटक हेर्न उनी गइरहन्थे। त्यो बेला उनी नाट्यकर्मी बद्री अधिकारीका ठूलो फ्यान थिए। साथी खेम शर्माले उनलाई एक दिन बद्रीसँग भेट गराइदिए। बद्रीले 'भष्मासुरको नलीहाड' नाटकका लागि सुरुमा सरोजलाई तीन मिनेटको भूमिका दिएका थिए। पूर्वाभ्यास गर्ने क्रममा उनको लगाव र प्रतिभा देखेर बद्रीले पनि सोही नाटकको एउटा मुख्य भूमिका नै दिए। 'भष्मासुरको नलीहाड' मा उनको अभिनयको धेरैले तारिफ गरे। यसपछि सरोज आरोहण नाट्य समूहको सम्पर्कमा पुगे। आरोहणले त्यसबेला राजधानीमा 'आरोहण शनिबार' सुरु गर्ने तयारी गरिरहेको थियो। सरोजले आरोहणले प्रस्तुत गरेको 'स्काँपाको दाउपेच', 'च्यातिएको पर्दा', 'जिउँदो लास', 'सेचुआको असल मान्छे' जस्ता नाटकमा अभिनय गरी रंगमञ्चमा भिन्न छाप छाड्न सफल भए। सरोज खनालले धेरैजसो बद्री अधिकारी र सुनील पोखरेलको निर्देशन रहेको नाटकमा अभिनय गरेका छन्। अभिनयको कुनै औपचारिक प्रशिक्षण नलिएका सरोजको स्कुलिङ नेपाली रंगमञ्च नै बन्यो। ४० को दशकको अन्त्यदेखि सरोज खनाल टेलिचलचित्र र चलचित्रमा व्यस्त हुन थालेपछि उनी रंगमञ्चबाट ओझेलमा परेका हुन्।

राजन खतिवडाले सरोज खनालको अभिनय कहिल्यै हेरेका थिएनन्। यद्यपि सरोजलाई आफ्नै नाटकबाट पुनरागमन गराउने काम उनैले गरे। सरोज खनाललाई धेरै समयको अन्तरालपछि सार्वजनिक रुपमा यसरी नाटक गर्दाको चुनौती भिन्न किसिमको थियो भने राजनलाई संवादले बढी थिचिएको र फरक पृष्ठभूमिका कलाकारलाई एकै नाटकमा उभ्याउनुको चुनौती पनि बेग्लै थियो।

सरोज र राजन मात्र नभई बाँकी कलाकार अनुपम शर्मा, विशारद बस्नेत, कुशल पाण्डे, पुष्कर कार्की र आयान खड्काको पनि नाटकमा कामको प्रशंसा भयो। सरोजसँग काम गरिरहँदा अधिकांश कलाकारले सहजता महसुस गरे। सरोजलाई पनि नयाँ पुस्ताका प्रतिभाशाली कलाकारसँग काम गर्दा बढी नै मेहनत गर्नुपर्‍यो। उनी यसबाट अरु नाटक गर्न हौसिएका पनि छन्। नाटकका अनेक वैशिट्य छन्। यति हुँदाहँुदै पनि नाटकमा पात्रको धूमपानमार्फत् प्रयुक्त चुरोटको अत्यधिक धुवाँले दर्शकलाई कहिलेकाहीँ नाटक आस्वादनबाट विमुख गराउँथ्यो। नाटकले 'लाउड डिमान्ड' गरे पनि कतैकतै 'ओभर लाउडनेस'ले पात्रलाई थिचेको देखियो। समग्रमा नाटक '१२ दुर्वासा' नेपाली रंगमञ्चको लागि भिन्न स्वाद बन्यो।

प्रकाशित: ७ फाल्गुन २०७३ ०६:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App