coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

मिस यु राजकुमारी

हेमन यात्री

त्यसयता करिब २० वर्ष उकालो हिँडेर आइसकेछु म यहाँ। तर, २० वर्षअघिको त्यो पहिलो प्रेमपत्रको झझल्को भने अझै ताजै छ। थाहा छैन, त्यो प्रेम थियो कि थिएन! तर, पे्रमपत्र भने अवश्य थियो। मोरङ जिल्लाको विकट गाउँ रमितेखोलाको एकमात्रै निम्न माध्यमिक विद्यालय थियो त्यो। स्कुलको नाम थियो– श्री टाँडी निमावि, उत्तरे। जहाँबाट मैले कक्षा ८ सम्मको शिक्षा पूरा गरेको थिएँ। अहिले श्री टाँडी माविको नामले जिल्लाको सामुदायिक विद्यालयहरूमै प्रसिद्ध छ मेरो विगत बोकेको प्रिय उत्तरे स्कुल। माध्यमिक शिक्षा सुरु भएको छोटो अवधिमा जिल्लाका सामुदायिक विद्यालयहरूमा शतप्रतिशत नतिजा निकाल्दै जानु यसको प्रशिद्धिको कारण बनेको छ। आज म त्यही विद्यालयमा मैले बिताएका केही प्रेमिल क्षण सम्भि्करहेको छु।

जीवन र प्रेमको अनेकौँ घुम्ती नाघेर यहाँसम्म आइपुगेको मलाई कसोकसो यस वर्षको भ्यालेन्टाइन्स डेमा उनै राजकुमारीको सम्झना हुन पुग्यो। मलाई पहिलो पे्रमपत्र लेखेको क्षणको याद आइरहेको छ। थाहा छैन राजकुमारी कहाँ छिन् अहिले? भूगोलको जुनसुकै कुनामा भए पनि यस वर्षको भ्यालेनटाइन डेको छेकोमा म हाम्रा अतीत सम्झनका लागि समय छुट्याइरहेको छु।

सेपिलो ठाउँ थियो, उत्तरे स्कुल भएको स्थान। स्कुल सुरु हुने समय भर्खरै उदाउँदै गरेजस्तो देखिन्थ्यो घाम। उत्तरपट्टि स्कुलसँगै जोडिएको थियो मूलबाटो। जुन बाटो भएर पुग्थे बटुवाहरू टाँडी, मधुमल्ला, उर्लाबारी हुँदै दमकसम्म। नुन, तेल, सामल बोकेर फर्कन्थे त्यही बाटो भएर। बाटो छेउछेउमा ठूल्ठूला वरपीपलका रुखहरू उभिएका थिए लहरै। हिँड्दाहिँड्दै थाकेका लागेका बटुवा थकाइ मेट्थे त्यही वरपीपलको छायाँमा। वरपीपलको आडैमा पसल थापिरहेका व्यापारीहरूको अनुहार उज्यालो हुन्थ्यो बटुवा बसेको देखेर। कक्षा एकदेखि आँखामा बसेको त्यो दृश्य आठ कक्षा छिचोलेर भाग्दासम्म त्यस्तै थियो। दुई रुपैयाँ प्लेटमा खान सुरु गरेको थुक्पाको भाउ स्कुल छाड्दै गर्दा पाँच पुगिसकेको थियो। कक्षा एकमा पढ्दै गर्दा त्यही थुक्पाले पेट दुःखेर पाइन्टमै दिशा गरेको थिएँ मैले। त्यसो गर्दै हुर्केको मान्छे म, त्यहीँ पढ्दापढ्दै प्रेमपत्र लेख्ने भइसकेको थिएँ। अहिले सम्झँदा पनि सपनाजस्तै लाग्छ, ती घुर्मैला अतीत।

१३/१४ को कुखुरे बैँसमा हिँड्दै थिएँ म। पहिलेभन्दा धोद्रे बन्दै गइरहेको थियो स्वर। फुर्फुर् उडिहिँड्ने भइसकेको थियो मन। के गरौँ? के नगरौँ भइबस्ने। कक्षाकोठाबाट शिक्षक निस्किनासाथ पछिपछि निस्कन्थ्यौँ हामी पनि। काम न बेकाम स्कुल वरिपरि घुमिबस्थ्यौँ। अर्काको क्लासमा ‰यालबाट चियाउँथ्यौँ। तिर्खा लागोस्–नलागोस्, बेला न कुबेला पानी पिउने बहानामा स्कुल जजिकैको कुवा पुग्थ्यौँ र मुख चुठेर फर्कन्थ्यौँ। पिसाब लागोस्–नलागोस् बाटैबाटो हिँडेर परपर पुगेर फर्किन्थ्यौँ। सार्वजनिक शौचालय नहुनुको फाइदा त्यसरी लिन्थ्यौँ हामी। यसरी हिँड्नुको एउटै उद्देश्य भनेको अरुले अटेन्सन दिऊन् भन्ने थियो सायद। हामीसँग गाउँकै एक जना दाइ हुनुहुन्थ्यो– मोहन। उमेरले मात्रै नभएर सम्बन्धले पनि बैनैलो दाजुभाइ पर्थ्यौं हामी। तर, ज्यादा साथीको नाता थियो। सात कक्षाको मेरो क्लासमेट पनि हुनुहुन्थ्यो उहाँ। प्राय मोहन दाइकै पछिपछि हिँड्थे म। पढाइमा ल्वाँठ नै हुनुहुन्थ्यो उहाँ। तर, विपरीत लिंगीहरूसँगको हिमचिममा भने स्कुलभरिकै अगुवा। दाइले आफ्नो लभ अफेयरको बारेमा मच्चीमच्ची सुनाउनु हुन्थ्यो, म चाख मानीमानी सुन्थेँ। हप्तैपिछे बजार जाने, गर्लफ्रन्डसित सिनेमा हेर्ने र सिनेमाकै नायकी शैलीमा प्रस्तुत हुने गज्जबको स्वभाव थियो दाइको। त्यतिन्जेल गर्लफ्रेन्ड, सिनेमा दुवैसित टाढै थिएँ म। दाइको पछिपछि हिँड्नुको एकमात्रै स्वार्थ यही सिनेमा र विपरीत लिंगीप्रतिको रूचि थियो। त्यसो त त्यो समय लभ पर्ने कुरा स्कुलभरि नै प्रचलित थियो। गाउँकै अरु दाइ–दिदीको अफेयर पनि सुन्थेँ म, तर मोहन दाइको जस्तो नजिकबाट भने होइन। गाउँकै देवेन्द्र नामको साथीले त झन् ४ कक्षा पढ्दैदेखि सुरु गरिसकेको थियो लभ गर्न। साथीको चालै अर्को। रुप्पीको जस्तो चिल्लो कपाल बनाएर हिँड्ने। सफाचट लुगा धोएर लाउने। स्कुल जाँदा नि प्राय एक्लै एक्लै हिँड्ने। हामी वल्लो डाँडा हुँदा देबेन्द्र पल्लो डाँडो पुगिसकेको हुन्थ्यो। लभ परेपछि त्यस्तै भइँदो हो भन्ने सोचीरहन्थे म। लाग्थ्यो मपनि लभ गरुँ मोहन दाईले जस्तै, देबेन्द्रले जस्तै वा अरु साथीहरुले जस्तै। रुप्पीकोझैँ चिल्लो कपाल बनाएर एक्लैएक्लै प्रितीकोे गीत गाउँदै हिडूँ। पढ्ने बहानामा रातभरि लभ लेटर लेखूँ। तर कसलाई, कसरी गर्ने लभ? असमञ्जसले ह्वात्तै छोपेर रहरको घाँटी निमोठी दिने! तर, साँझमा डुबेर पनि बिहान उदाउने घामजस्तो रहरहरू फेरिफेरि जागिरहने मनको तलाउनेर आएर।

एक दिन होइन, दुई दिन होइन। दिनदिनै रहरहरू उफ्रिन थालिसकेका थिए। स्यानो बच्चाले आफूलाई मन परेको कुरा मागेर आमालाई सताएजस्तो गरी लभ गर, लभ गर भन्न थालिसकेको थियो मनले। सातौँ कक्षाको अर्धवार्षिक परीक्षा नजिकिँदै थियो। परीक्षाको तयारीमा जुट्नुको साटो म भने कोसँग लभ गर्ने भनेर लभर छनोटमा जुट्दै थिएँ। आफूभन्दा सिनियर कक्षामा आँखा जाने आँटै भएन। जुनियर क्लासमा पनि के जानु? पोर्टफोलियो नमिल्ने डर थियो। घुमिफिरी रुम्जाटार भनेजस्तो आफ्नै कक्षामा आइपुगेर अडिए आँखा। विद्यार्थी उति धेरै थिएनौँ हामी। ३०/४० मात्रै थियौँ। आधाजसो केटी थिए। तिनैमध्येबाट एकजनालाई लभ गर्नुपर्थ्यो मैले। कक्षाका हरेक केटी आउन थाले आँखा वरिपरि। क्रमश :  हेमकुमारी, भीमकुमारी, जसकुमारी, मनकुमारी, लककुमारी, भाग्यकुमारी, धनकुमारी... हुँदै राजकुमारीसम्म। कुमारी नै कुमारीको बीचमा राजकुमारीमा गएर टक्क रोकिए आँखा। पटकपटकको छनोटमा म राजकुमारीलाई लभ गर्ने निर्णयमा पुगिसकेको थिएँ। मेरो छनोटको मापदण्ड के थियो? त्यही २० वर्षअघिको मेरो मनै जानोस्। तर, लभ गर्नको लागि जोडी छानिसकेको थिएँ मैले। उपयुक्त समयको पर्खाइमा थिएँ म। तर, मनमनै समय पनि रोजिसकेको थिएँ।

प्रेम प्रस्ताव गर्नुअघि ध्यानले हेर्न थालिसकेको थिएँ राजकुमारीलाई। उसको हरेक क्रियाकलापको निगरानी गथर्ेँ म टाढैबाट। झुक्किएर कहिलेकाहीँ नजिक हुँदा अनुहार त्यसैत्यसै रातोपिरो भइजाने। मुटुको तेज बढेजस्तो हुने। कतै मैले मनमनै प्रेमपत्र लेख्न सोचेको कुरा राजकुमारीले थाहा पाइसकिन् कि जस्तो लाग्ने। सेतो सर्ट, निलो फ्रकमा देखिएको गोरो अनुहार। अनुहारमा हल्का तिलकोठी। नाकमा सानो नथिया झुन्डिएको, जसले अनुहारको बान्की अझ मिलेको जस्तो देखिने। स्कुलमा लाइन बस्दा पछाडिबाट हेरिरहन्थेँ म राजकुमारीलाई। चिटिक्क जुरो बनाएको कपालमा डटपेन सिउरिएको हुन्थ्यो। मास्टरले जब गोडा फार, सतर्क, गोडा फार, सतर्क सुरु गर्थे, म राजकुमारीको मोटोमोटा पासुला हेर्थें। गोडा फार, सतर्क गर्दा पुक्लुकपुक्लुक हल्लन्थे मोटो पासुलाका मासु। श्रीमान गम्भीर नेपाली...भन्दै राष्ट्रगान सुरु हुँदा, मेरो मनमा भने श्री प्यारी राजकुमारी राखून् चिरायु ईशले आउँथ्यो। यसरी राजकुमारी मेरो प्राथमिकतामा पर्दै गइरहेकी थिइन्।

अर्धवार्षिक परीक्षा सुरु भयो। ध्यान पढाइमा छँदै थिएन। तैपनि, जाँचमा सामेल हुनैपर्थ्यो। मेधावी विद्यार्थी नभए पनि कक्षामा पहिलो, दोस्रो, तेस्रोभित्रै तलमाथि भइरहन्थेँ म। सात कक्षाको अर्धवार्षिकको अन्तिम दोस्रो दिनको जाँच दिएर घर फर्किएँ म। अन्तिम दिन स्वास्थ्य तथा जनसंख्या विषयको परीक्षा हुनुपर्छ। खास गाह्रो विषय नभएकाले ध्यानले कहिल्यै पढ्दैनथेँ उक्त विषय। घर पुगेर सीधै परीक्षाको अन्तिम दिनको विषयको पुस्तक निकालेँ, कापीको खाली पृष्ठ पल्टाएँ र प्रेमपत्र लेख्न थालेँ राजकुमारीलाई। मेरा लागि सबैभन्दा उपयुक्त दिन भनेको त्यही परीक्षाको अन्तिम दिन थियो। परीक्षा सकिएपछि २/३ दिन बिदा हुन्थ्यो। त्यही बिदाको समय पे्रमप्रस्ताव पठाइदिने निर्णयमा पुगेर चिठी लेख्न थालेँ। समग्र चिठी कस्तो थियो? अहिले ठ्याक्कै सम्झना भएन, तर सारमा लेखेको कुरा भने याद छ अझै– 'हजुरसामु यी दुई हात जोडेर पे्रमको भिख माग्दैछु... मेरो यो चोखो प्रेमलाई स्वीकार गरिदिनुहुन्छ भन्ने श्री पशुपतिनाथसँग विश्वास लिएको छु' एवं प्रकारले जानेको जति भाका हालेर लेखेको थिएँ। र, चिठीको अन्तिममा लेखेको थिएँ– 'उही तपाईंलाई हृदयबाटै प्रेम गर्न चाहने एच. आर.।' हेमन्त राईलाई अंग्रेजी छोटकरीमा एच.आर लेखेर प्रेमपत्रको बिट मारेँ। भोलिपल्ट स्कुल जानुअघि बडो जतनले पाइन्टको भित्री चोरगोजीमा चिठी हालेँ, ऐनामा एकपटक आफैलाई हेरेँ र जिन्दगीमा आफैसँग लजाएँ पहिलो पटक।

परीक्षा सकिएको तीन दिनपछि सधैँजसो स्कुल सुरु भयो। स्कुल सुरु भएको पहिलो दिन अरुबेला भन्दा चाँडै पुगेँ। कक्षामा १/२ जनामात्रै थिए। बेन्चमा पुस्तक राखेँ र बाहिर निस्किएँ। स्कुलछेउको पीपलको फेदमा बसेर पश्चिमतिर आँखा ओछ्याउन थालेँ। जहाँबाट राजकुमारीहरू स्कुल आउँथे। तर, राजकुमारीहरू कोही देखिएका थिएनन् त्यहाँ। स्कुलको घन्टी बज्यो। सबै विद्यार्थी लाइनमा निस्के। गोडा फार, सतर्क गरे। तर, राजकुमारी देखिएन त्यो दिनको लाइनमा। मन त्यसैत्यसै कुँडिएर आयो। श्रीमान गम्भीर सक्दा म आफै गम्भीर भइसकेको थिएँ। मनमा चैन भन्ने कुरा नै थिएन। गरुँगो मन बोकेर कक्षाकोठामा छिरेँ। पहिलो घन्टी बज्यो। शिक्षक आएर पढाउन के सुरु गरेका थिए, म आउन सक्छु सर भन्दै राजकुमारीहरू गुरुरु भित्र पसे। अघिसम्मको उदास मनले अर्कै मोड लियो। कसोकसो सरमले गाला तात्तातो हुन थालिसकेको थियो। एक घन्टी सकियो। दुई घन्टी सकियो...चार घन्टी नि सकियो। त्यसलगत्तै मनकुमार नाम गरेको साथीले बोलाएर बाहिर लगे मलाई। मनकुमारको पछिपछि हिँडे म। स्कुलको पश्चिमतिरको खोल्सीमा लग्यो उसले मलाई। त्यो खोल्सा पिसाब गर्ने ठाउँ थियो। मनकुमार खोल्सामा पुगेर फस्नर खोलेर पिसाब गर्न थाल्यो। चुपचाप यो मान्छेले किन यता ल्यायो भनेर डरैले पनि पिसाब आएजस्तो भो मलाई। मैले नि फस्नर खोलेँ र नआएको पिसाब गर्न थालेँ। दुवैले पिसाब गरिसकेपछि, मनकुमारले गोजीमा हात हाल्यो। एउटा टाटेपांग्रे लिफा निकाल्यो र मेरो हातमा थमाउँदै भन्यो– 'यी राजकुमारीले तिमीलाई दिनु भनेको चिठी।' म अक्न न बक्क भएँ। चिठी हातमा लिएँ, गोजीमा राखेँ र खुइँखुइँती स्कुल फर्कें। फर्किंदा मनकुमार मेरो पछिपछि थियो। हतारहतार कक्षा कोठा पुगेँ म। मनकुमार नआइनपुग्दै पुस्तक, कापी काखीमा च्यापेर निस्किएँ म। टिफिनको समय भएकाले सबै विद्यार्थी आफ्नै सुरमा थिए। म एउटा विद्यार्थी भने अर्कै सुरमा स्कुलबाट भागिरहेको थिएँ। स्कुलबाट पाँचसय मिटर के हिँडेको थिएँ, खल्तीमा भएको खामबन्दी चिठीले पोल्न थालिसकेको थियो। गोजीको चिठी निकालेर किताबको चेपमा राखेँ। कतिखेर घर पुगेर चिठी खोलुँ भइरह्यो। तर, घरसम्म पुग्ने धैर्य हराइसकेको थियो। स्कुलबाट करिब डेढ किलोमिटर हिँडेपछि हातमा बोक्दै गरेको पुस्तक फ्यात्तै चौरमा मिल्काएँ। किताब जसरी नै हरियो चौरमा उत्तानो पल्टिएँ म पनि। लामोलामो स्वास तानेँ। किताबको चेपबाट चिठी निकालेँ। वरीपरी हेरेँ कोही छन् कि भनेर। मेरा लागि कोही नहुनु नै अनुकूल समय थियो। हात काँपीरहेको थियो चिठी खोल्दै गर्दा। दुई तास राजकुमारीको फोटोसहित प्रेम स्वीकार गरेको बेहोरा थियो चिठीमा। दुःखी हुने कुरै थिएन। तर, प्रेमको स्वीकारोक्तिमा खुसी कसरी व्यक्त गर्ने भन्ने समेत थाहा नभएको म बबुरोलाई प्रेमपत्र स्वीकार हुनु नै लाख थियो। सिरिसे जंगलको चौरमा खोलेको चिठी बोकेर 'कसरी भनूँ म, मनको कुरा यो पहिलोपहिलो हो मेरो माया हजुरलाई' गीत गाउँदै बतासे डाँडामा लडिबुडी गर्दै घर पुगेको थिएँ।

म प्रेमी भइसकेको थिएँ। राजकुमारीको भने राजा। १/२ दिन बिराएर चिठी आदानप्रदान हुन्थ्यो हाम्रो। हामी चिठी लेखालेख गर्छौं भन्ने कुरा धेरैलाई थाहा भैसकेको थियो। अथवा भनौँ अरु साथीजस्तै म पनि प्रेममा फेमस भैसकेको थिएँ। बेलाबेला सटायर गर्थे साथीहरू मेरो प्रेमको विषयलाई लिएर। म भने बाहिर रिसाएझैँ गरेर आनन्द मानिरहेको हुन्थेँ मनमनै। प्रेमको यो चक्र घुमिरह्यो एक वर्षसम्म। तर, यस्तो विचित्रको थियो प्रेम, चिठीबाहेक हाम्रो सामान्य  बोलचालसम्म भएको थिएन। स्कुलमा एकले अर्कालाई देखेको आधारमा हामी आफ्नो धारणा बनाएर चिठी लेख्थ्यौँ। यसरी करिब एक वर्षसम्म नियमित चिठी लेख्यौँ हामीले। अर्को वर्ष कक्षा आठमा थियौँ दुवैजना। कक्षा आठको परीक्षा केही जटिल हुन्छ भन्ने कुरा शिक्षकहरू बताइरहनुभएको थियो। जिल्ला स्तरीय परीक्षा हुने भएकाले राम्ररी पढ्नुपर्छ भन्ने बुझेका थियौँ हामीले। तर, हाम्रो चिठी लेखनकार्य चली नै रहेको थियो। कक्षा आठको वार्षिक परीक्षा आँगनमै आइसकेको थियो। शिक्षकहरूले जिल्लाव्यापी परीक्षा गाह्रो हुन्छ भने पनि हामीले खास वास्ता गरिरहेका थिएनौँ। अन्ततः परीक्षा आयो र एक हप्तापछि फर्कियो पनि। परीक्षा सकेसँगै हाम्रो चिठीको भेटघाट समेत जोखिममा पर्‍यो। उत्तरे स्कुलकै अन्तिम दिनहरूमा थियौँ हामी। चाहेर पनि हामी फेरि यही स्कुलमा भेट गर्न सम्भव थिएन। थियो त एउटै अवस्थामा मात्रै, त्यो अवस्था भनेको हामी दुवैजना कक्षा आठमा गुल्टिनु! फेल हुने मनसाय हामी दुवैको थिएन सायद। परीक्षा सकिएको केही हप्तापछि नतिजा आयो। विषय लागेर कक्षा चढ्नेहरूका लागि कक्षा आठमा कुनै मौका थिएन। आधाजसो विद्यार्थी आठमै रोकिए। आधामात्रै पास भएर अर्को स्कुल जान पाउने भए। त्यो आधामा राजकुमारी म आधाआधा बाँडिएछौँ। अर्थात् म उत्तीर्ण भएँ, राजकुमारी फेल भइन्। म पास भएसँगै टाँडीको कालिका मावि छनोट गरेँ र मेहनतले पढ्न थालेँ। राजकुमारी कक्षा आठमा गुल्टिएसँगै त्यही रहिन्। हाम्रो प्रेमपत्र लेखन पनि त्यहीँ रोकियो। एक वर्षभन्दा बढी एक वाक्य नबोलिकन प्रेमपत्र लेखिरहेका हामी, स्कुल परिवर्तनसँगै पत्रलेखन  बन्द भयो। अथवा, मैले नै बन्द गरेको थिएँ। नजिकिँदै गरेको  फलामे ढोका मानिएको परीक्षाका लागि दत्तचित्तले लागिरहेँ म। मैले उत्तरे स्कुल छोडेको केही महिनापछि राजकुमारीले एउटा चिठी लेखेकी रहिछन्। चिठीको सार म धोकेबाज हो भन्ने व्यहोराको थियो। धोकेबाज नै भइसकेपछि फेरि चिठी लेख्ने कुरा पनि भएन। त्यसपछि उनी कता गइन्? कहाँ पढिन्? केही पत्तो भएन। जीवन र प्रेमको अनेकौँ घुम्ती नाघेर यहाँसम्म आइपुगेको मलाई कसोकसो यस वर्षको भ्यालेन्टाइन्स डेमा उनै राजकुमारीको सम्झना हुन पुग्यो। मलाई पहिलो पे्रमपत्र लेखेको क्षणको याद आइरहेको छ। थाहा छैन राजकुमारी कहाँ छिन् अहिले? भूगोलको जुनसुकै कुनामा भए पनि यस वर्षको भ्यालेनटाइन डेको छेकोमा म हाम्रा अतीत सम्झनका लागि समय छुट्याइरहेको छु।

प्रकाशित: ७ फाल्गुन २०७३ ०६:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App