सुरज राणा
आज तलब आएको दिन हो
किन्नु छ
केही रंगीन सपनाहरू आफ्ना लागि
पोत्नु छ
अलिकति गुलाफी मुस्कान
श्रीमतीको ओठमा बाल्नु छ
एउटा उज्यालो लाल्टिन
छोराछोरीको धूमिल बाटोमा
समात्नु छ
क्षितिज मास्तिर उड्दै गरेको
बा–आमाको आयु
दिनु छ
नयाँ उपहार साथीभाइ र आफन्तलाई
च्यात्नु छ
अबोध बाले ल्याप्चे ठोकेको तमसुक
र, मुक्त गर्नु छ
बन्धक परेवाजस्ता जिन्दगीहरू
तिर्नु छ
सास फेरेवापतको कर
आँखा हेरेबापतको शुल्क
पाइला उचालेबापतको महसुल
र, केही खु›ा ऋणहरू
लड्नु छ
महँगीको भीमकाय पहाडसँग
भोकको विस्फोटक ज्वारभाटासँग
अभावको उदेकलाग्दो खडेरीसँग
आज तलब आएको दिन हो
गर्नैपर्ने तमाम कामलाई थाँती राख्दै
म भने उधारो हिसाब चुक्ता गरेर
भर्खर निस्किँदै छु भट्टीबाट।
०००
अक्षरहरू
कागजको छातीमा राजमार्ग बनाएर
अक्षरहरूले महायात्रा गरेपछि मात्रै
कागज बाइबल बन्यो
कागज कुरान बन्यो
कागज त्रिपिटक बन्यो
कागज गीता, पुराण र महाभारत बन्यो
आज यिनै कागजको थुप्रोलाई ढोगेपछि
मान्छे इसाई बन्छ
मान्छे इस्लाम बन्छ
मान्छे बौद्ध बन्छ
मान्छे हिन्दू बन्छ
र, मान्छे भुल्दछ मान्छे बन्न।
चिहानघरका
चौताराका
देउरालीका
दोबाटोका सिलामाथि
अक्षरहरूले पलेटी मारेर बसेपछि
मुर्दाका सम्झनाले सास फेर्न थाल्छन्
अशासकले आदिम सभ्यतादेखि
संघर्ष गरेर निर्माण गरेको इतिहासको अनुहारमा
शासकको निरंकुश अक्षरको झिरले डामिएपछि
…इतिहास'ले शासकको पैताला चाट्न थाल्छ
अक्षरहरूको ढाडमा पदचाप नराखी
हिँड्न सक्दैन समय आफ्नै सापेक्षततामा
अक्षरहरूको दहमा डुबुल्की नमारी
विचारले विचारको अस्तित्व गुमाउँछ
एउटा युग र अक्षरको सम्भोगबाट
जन्मिएका नयाँ दर्शनलाई
मृत्युदण्डको फैसला सुनाइदिन्छ अर्को युगले
अक्षरहरूकै खुला इजलासबाट
अक्षरहरूकै राँको बालेर
मेरा कविताहरू जुलुसमा निस्किरहेका बेला
चेतनाको ‰यालमा कालो पर्दा टाँग्दै
केही भलादमीहरू मलाई कुटिल प्रश्न गर्छन्
कविज्यू, अक्षरहरूसँग खेलेर पेट भरिन्छ?
०००
मौन पहाड
सभ्यताको चरणबद्ध शृंखलामा
गौरवको अपरिमित आयतन बोकेर
ठिंग उभिइरहेको छ आदिवासी पहाड
शताब्दिऔँदेखि
पहाड जिउँदो यसकारण छ कि
शिरीष र टाँकी फुलिदिन्छन् चुल्ठोमा
देउराली नाचिदिन्छन् हुर्रा
सुसेल्छन् हाक्पारे वनहरू
डाँडा, भञ्ज्याङ झुम्दछन् साकेला र सेलोमा
नत्र पहाड कहाँ बाँच्थ्यो र स्वाभिमान?
गाडेर अंग–प्रत्यांग
अनुत्खनित खजाना र असर्फी
गुन्द्रीमा परालको समानान्तर रेखाजस्तै
गह्रागह्रा खेत बिछ्याएर वक्षमा
फुलाइरहन्छ, फलाइरहन्छ
पुर्खाको प्राचीन सीप र पौरखहरू
बाला–बालामा, हाँगा–हाँगामा
स्वधरातलमा राखेर अस्तित्व कायम
मौनमौन हेरी मात्र दिन्छ
काखमा खेलिरहेको क्रान्तिको विद्रूप चेहरा
र आन्दोलनको आक्रान्त उत्तेजनाहरू
जसले
न युगको मैलो घलेक फेरि दिन सक्यो
न समयलाई उभ्याउन सक्यो
परिवर्तनको नयाँ फाटकमा
किचिएर अपमानको विशाल ढुंगे कापमा
निमेष–निमेष
काँचो माटोको निर्बोध आँखाबाट
अविरल बग्दछ, निर्बाध बग्दछ
काबेली र तमोर आँसुुहरू
स्मरण रहोस्,
मौन पहाडले मौनता तोड्यो भने
अक्सर
आँधी, बेहरी र हुन्डरीको भाषा मात्र बोल्छ।
प्रकाशित: ७ फाल्गुन २०७३ ०६:४४ शनिबार