८ वैशाख २०८१ शनिबार
राजनीति

प्रधानमन्त्री र मधेसी मोर्चाबीच छलफल हुँदै

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनको मिति घोषणा, संविधान कार्यान्वयन र संविधान संशोधनलगायतका विषयमा मधेस केन्द्रीत दलका नेतासँग शनिबार छलफल गर्ने भएका छन्।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले मधेस केन्द्रित दलका नेताकै सहमतिमा निर्वाचनको मिति घोषणा गर्ने तयारी स्वरुप छलफलका लागि आमन्त्रण गरिएको जानकारी दिए।

राजनीतिक सल्लाहकार खनालले सबै पक्षको सहमतिमा नै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने र मुलुकलाई निर्वाचनमा केन्द्रित गर्ने सरकारको तयारी रहेको बताए।

शनिबार बिहान १० बजे छलफलका लागि प्रधानमन्त्रीले मधेस केन्द्रीत दलका शीर्ष नेतालाई प्रधानमन्त्री निवास बालुवाटारमा आमन्त्रण गरेका छन्। प्रमुख तीन दलका बीचमा स्थानीय तहको निर्वाचन घोषणा गर्ने विषयमा प्रारम्भिक सहमति भइसकेको र उक्त सहमतिमा मधेस केन्द्रित दलका नेतालाई समेत सहमत गराउने सरकारको तयारी छ।

सरकारले निर्वाचन आयोगलाई यही फागुन ८ गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी भएको जानकारी गराएको छ । सङ्घीय सद्भावना पार्टीका अध्यक्ष अनिल झाले छलफलका लागि प्रधानमन्त्रीले बोलाएको बताए। अध्यक्ष झाले संविधान संशोधन, स्थानीय तहको निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफलका लागि आमन्त्रण गरिएको र प्रधानमन्त्री निवासमा मोर्चा आबद्ध दल सहभागी हुने जानकारी दिए।

प्रकाशित: ७ फाल्गुन २०७३ ०४:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App