८ वैशाख २०८१ शनिबार
खेल

शिवरामद्वारा उपाधि रक्षा

काठमाडौं- साबिक विजेता शिवराम श्रेष्ठले बिहीबार प्लेअफसम्म संघर्ष गर्दै गोकर्ण गल्फ क्लबको कोर्समा सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि रक्षा गरेका छन्। रवि खड्कालाई पहिलो अतिरिक्त होलमा पराजित गर्दै शिवरामले उपाधि कब्जा गरे। चारदिन चलेको निर्धारित ७२ होलको खेलमा शिवराम र रविको स्कोर समान २ अन्डर २ सय ८६ भएपछि विजेताको टुंगो टाइब्रेकरबाट लगाइएको थियो। अन्तिम दिन बिहीबार दुवैले २ अन्डर ७० स्कोर गरेका थिए। शीर्ष स्थानमा रहेर दिनको खेल सुरु गरेका भुवन नगरकोटी अन्तिम दिन ३ ओभर ७५ को स्कोरमा समेटिएपछि तेस्रो स्थानमा झरे।

सूर्य नेपाल गल्फ टुर २०१५–१६ अन्तर्गत अन्तिम प्रतियोगिता जितेपछि उपाधिसँगै शिवरामले पुरस्कारस्वरुप १ लाख रुपैयाँ हात पारे भने रविले ६३ हजार तथा भुवनले ४५ हजार रुपैयाँ पाए।

सञ्जय लामा २ ओभर २ सय ९० स्कोरसाथ चौथो भए। उनले अन्तिम दिन ४ ओभर ७६ खेलेका थिए। यसैगरी रमेश अधिकारी (७३) ३ ओभर २ सय ९१ स्कोरसाथ पाँचौं हुँदा जयराम श्रेष्ठ (७३) ५ ओभर २ सय ९३ स्कोरसहित छैटौं भए। दीपक मगर (७१) ८ ओभर २ सय ९६ स्कोर बनाउँदैसातौं हुँदा रामे मगर (७०) १० ओभर २ सय ९८ स्कोरसाथ आठौं भए। रमेश नगरकोटी (७८) ३ सय १ स्कोरसाथ नवौं तथा धन थापा (७७) ३ सय ३ स्कोरसहित १० औं भए।

एमेच्योरतर्फ टंकबहादुर कार्कीले ३ ओभर २ सय ९१ स्कोर गर्दै उपाधि जित्दा शीर्ष स्थानमा रहेर दिनको खेल सुरु गरेका टासी छिरिङ दोस्रो स्थानमा सीमित भए। बिहीबार टंकले ३ अन्डर ६९ स्कोर गर्दा टासीले ५ ओभर खेलेका थिए। शुक्रबहादुर राई (७५) समग्रमा ३ सय १२ स्कोरसाथ तेस्रो भए।

१५ एमेच्योर र ३१ व्यावसायिक गरी ४६ खेलाडी सहभागी रहेको प्रतियोगिताको कटमा सफलता हासिल गर्ने व्यावसायिकतर्फका शीर्ष २१ खेलाडीले नगद पुरस्कार पाए।

विजेताहरूलाई सूर्य नेपालका ब्रान्ड म्यानेजर रजत थापा, आयोजक नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपिजिए) का अध्यक्ष रवीन्द्रमान श्रेष्ठ, एनपिजिएका सल्लाहकार घनश्याम थापा र नेपाल गल्फ संघका महासचिव टासी घलेले पुरस्कृत गरे।

प्रकाशित: २४ असार २०७३ ०३:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App