coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

युवामा बढ्यो ७२ घण्टे चक्कीको प्रयोग, कण्डमको बिक्री न्यून

काठमाडौं– पछिल्लो समय अनपेक्षित तथा आकस्मिक गर्भ रोक्ने गर्भनिरोधक चक्कीको प्रयोग बढेको पाइएको छ। इकोन, आइपिल, आइस्योर, निल–७२ जस्ता ७२ घण्टे गर्भ निरोधक चक्कीको प्रयोग पछिल्लो समय बढेको पाइएको हो।

इकोन, आइपिलजस्ता आकस्मिक भर्गनिरोधक चक्कीको प्रयोग बढेपछि पुरुष तथा महिलाले प्रयोग गर्ने कन्डमको बिक्री अत्यन्त न्यून भएको काठमाडौंको  जोरपाटीस्थित नारायणटार मेडिको फर्माका सञ्चालक हर्कबहादुर केसीको अनुभव छ।
‘अरु दिनभन्दा शनिबार त्यस्ता चक्कीको बिक्री बढी हुन्छ,’ उनी भन्छन्, ‘कन्डमको प्रयोगलाई यस्ता चक्कीले विस्थापन नै गरिसक्यो ।’

उनका अनुसार १५ देखि २५ वर्ष उमेर समूहका युवतीहरुले गर्भनिरोधक चक्कीको प्रयोग बढी मात्रामा प्रयोग गर्ने गरेका छन्। चक्कीको बिक्री बढेपछि पसलबाट कन्डमको बिक्री झन्डै ८० प्रतिशतले घटेको उनको अनुभव छ । गर्भनिरोधकका औषधि तथा साधनहरु प्रयोग गर्ने युवतीहरुले खरिद गर्न भने असज महसुस गर्ने गरेको उनी बताउँछन् ।
‘कतिपय युवतीहरु त यसको नाम लिन पनि हिच्किच्याउछन्,’ उनी भन्छन्, ‘कति चाहिँ चुपचाप औषधि लिन्छन् र हिँडिहाल्छन्।’

जोरपाटी नारायणटार निवासी १९ वर्षीया सृष्टी (नाम परिवर्तन) बिबिएस दोस्रो वर्षमा अध्यनरत छिन्। उनको प्रेम सम्बन्ध भएको ४ वर्ष बित्यो। उनीे प्रेमीसँगको शारीरिक सम्बन्धपश्चात् नियमित रुपमा इकोनको प्रयोग गर्दै आइरहेको बताउँछिन्।
‘इकोनको प्रयोग गरेपछि अरु कुनै पनि साधनको प्रयोग आवश्यक छैन,’ उनी भन्छिन्, ‘कन्डमको प्रयोगले शारीरिक सुख नहुने तथा फुट्ने खतरा हुन्छ यी सबै कुराहरुबाट बच्न इकोनको प्रयोग गर्छु।’

साथीहरुले ‘यो नै उत्तम साधन हो’ भन्दै उनलाई चक्कीको प्रयोगबारे जानकारी दिएको उनी बताउँछिन् । ३ वर्षदेखि यस्तो चक्की प्रयोग गर्न थालेको उनले बताइन् । यस्ता चक्कीको प्रयोगले हुने हानी नोक्सानीबारे सुनेको भए पनि चक्की प्रयोगलाई बाध्यतावश अपनाउनु परेको उनको धारणा छ।

यस्ता चक्कीको बढी प्रयोगले भविष्यमा गर्भ नै नबस्नेसम्मको खतारा हुनसक्ने चिकित्सकहरु बताउँछन्।

‘नेपाली समाजमा विवाहपूर्वको यौन सम्बन्धलाई स्वीकार गरिँदैन, विवाहअगाडि गर्भ बस्यो भने समाजले घृणा गर्छ,’ उनले आफ्नो बाध्यता सुनाइन्, ‘आफ्नो पढाई तथा ‘करिअर’ बनाउनका लागि नियमित रुपमा इकोनको प्रयोग गर्छु।’

पुरुष युवाहरू पनि आफूले कण्डम प्रयोग गर्नुभन्दा आफ्नो यौन साथीलाई ७२ घण्टे चक्की खुवाउनुनै उत्तम ठान्छन्। कण्डम लगाउन झन्झट हुने, फुटला भन्ने चिन्ता हुने र सन्तुष्टि पनि नहुने भएकाले ७२ घण्टे चक्की नै गर्भ निरोधको उत्तम विकल्प भएको युवाहरूको ठम्याइ छ ।

‘गर्लफ्रेण्ड लिएर गयो, आउँदा बाटामा चक्की किन्यो ख्वायो,’ औषधि पसलमा भेटिएका असनमा डेरा भएको बताउने शोभितले भने, ‘गज्जब भएको छ, कण्डम नलगाएको त निक्कै भइसक्यो।’ शोभित मात्र होइन, आजकल कण्डम बिक्नै छाडेको धेरैजसो औषधि पसलेहरूको स्वीकारोक्ति छ ।

‘आजकल १/२ जना कण्डम लिन आउँछन्,’ जनकपुर घर भई सरस्वती नगरमा पान पसलसँगै विभिन्न ब्राण्डका कण्डमसमेत बेच्ने गरेका रामबाबु भन्छन्, ‘ती पनि महँगो खालको बीचबीचमा काँडे थोप्ला भएका(डटेड) कण्डमको माग गर्छन्। साधारण कण्डम किन्न त कहिलेकाहीँ मात्रै कोहीकोही आउँदा झुक्किएर आएजस्तो लाग्छ।’

पसले र ग्राहक मात्र होइन, परिवार नियोजनका अस्थायी साधनको उत्पादक तथा वितरक नेपाल सिआरएस कम्पनीले पनि हिजोआज कण्डमको खपत घटेको जनाएको छ।

‘इकोन भन्ने चक्की आइकन कण्डमको खपत घटेको छ,’ सो कम्पनीका सेल्स अफिसर गिरिराज तिमलसिना भन्छन्, ‘इकोनको सदुपयोगभन्दा दुरुपयोग भएको छ, आकस्मिक गर्भ रोक्न निकोनले काम गर्ने हो। तर, यहाँ अन्य चक्कीजस्तो नियमित प्रयोग नै गर्न थालिएको छ।’

युवापुस्ताको खास रोजाइमा परेका ७२ घन्टे चक्कीले अनिच्छित गर्भ रोक्ने भए पनि यसले यौन रोगको भयावह खतरा निम्त्याउन सक्ने यौन तथा चर्म रोग विशेषज्ञ डा. राजकिशोर साह बताउँछन्। एचआइभी÷एड्सजस्ता रोगलाई यसले बढाउने उनको भनाइ छ।

‘चक्कीले गर्भ रहन नदिने मात्र हो,’ उनी भन्छन्, ‘कण्डमजस्तो यसले रोग सर्नबाट बचाउने र गर्भ रहन नदिने दुवै काम भने गर्न सक्दैन।’

यस्ता चक्कीको निरन्तर सेवनले स्वास्थ्यलाई हानी पुग्ने बताउँदै कण्डमकै प्रयोगलाई बढावा दिनु पर्ने डा. साहको सल्लाह छ।

 

 

 

 

प्रकाशित: ६ फाल्गुन २०७३ ०८:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App