७ वैशाख २०८१ शुक्रबार
अन्य

मिजासिला मुस्लिम

काठमाडौमा सिए पढ्दै गरेका ओखलढुङगाका रमेश भट्टराईले पहिलो पटक मुस्लिम धर्मावलम्बीसँग बिहीबार राजधानीमा भलाकुसारी गर्ने अवसर पाए। इदको अवसरमा काठमाडौस्थित जामे मस्जिदमा आयोजित कार्यक्रम नियाल्न पुगेका भट्टराईले उनीहरुको सँगको कुराकानीपछि मुस्लिम समुदाय मिजासिलो रहेको प्रतिक्रिया दिए। 

 'उनीहरको बारेमा विभिन्न टिकाटिप्पणी सुन्दै आएको थिएँ,' उनले भने, 'मस्जिदमा गएर  प्रत्यक्ष कुरा गर्दा उनीहरु निक्कै सहज र मिजासिला पाएँ।' कुनै पनि मानिस र समुदायको बारेमा अरुको कुरा सुनेर धारणा बनाउनु भन्दा स्वयम् उनीहरुको नजिक गएर उनीहरुलाई बुझ्नु पर्ने  उनको बुझाई थियो।

 उनीजस्तै सोच भएका थुप्रै युवाहरु बिहीबार  यो मस्जिदमा आएका थिए। उनीहरु मध्ये कतिपयले प्रार्थनामा सहभागिता जनाए भने कतिपयले परै बसेर इदको उल्लास नियाले। मुश्लिम समुदायले नमाज पढेको , घुँडा टेेकेर बसेको, शिरले जमिन छोएको , गैरमुस्लिम युवाहरुले निक्कै ध्यान दिएर नियाले।

'मलाई यहाँ आउदा निक्कै खुसी लागेको छ,'गोर्खा घर भई हाल काठमाडौमा पढ्दै गरेकी रविना देवकोटाले भनिन्, 'पहिलो पटक उनीहरुसँग कुरा गर्न पाउँदा खुसी लाग्यो।' आफ्नो चाड पर्वको मात्र रुची राख्दै आएकी हिन्दू धर्मालम्बी रविनाले सवै धर्मको सम्मान गर्नु  पर्ने बताइन्।

उनीसँगै रहेकी बानियाँटारकी निशा भेटवालले आफ्नो मुस्लिम साथीहरु रहेको बताउँदै उनीहरुको पर्वमा सरिक हुन पाउँदा खुसी लागेको प्रतिक्रिया दिइन्। कुर्ताको सल टाउकोमा बेरेर प्रार्थना समेत गरेकी निशाले  आफूलाई यसो गर्दा आनन्द लागेको अनुभव  सुनाइन्।

गैर मुस्लिम युवाहरुले पर्वप्रति देखाएको चासोले मुश्लिम समुदायपनि हर्षित भयो।  समूह समूहमा आएका युवाहरुलाई मुस्लिम अगुवाहरुले उनीहरुको जिज्ञासा मेटाउँथे। 'उहाँहरुले इद पर्वको बारेमा र धर्मको बारेमा सामान्य जानकारी राख्नु भयो,' ५८ बर्षिय मकबुल हुसेनले भने, 'हामीले जानेका कुरा बतायौ।' ठमेल घर भएका मकबुलले आफ्नो साथीहरु हिन्दू समुदायमा धेरै भएको बताउँदै पर्वमा उनीहरलाई बोलाएर सेवइ खुवाउने गरेको सुनाए। 'उहाँहरुले पनि दशैमा हामीलाई बोलाएर भोज खुवाउनु हुन्छ,' उनले भने, 'हामी हाम्रो  चाडमा उनीहरुलाई बोलाउँछौ।'

बिहीबार मुलुकभर रहेका मुस्लिम समुदायले  नमाज पाठ गरी इद उल फित्र पर्व मनाएका छन्। अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन बुधबार  बेलुकी चन्›मा देखिएपछि बिहीबार इद उल फित्र मनाइएको हो। काठमाडौका जामे मस्जिद लगायत मुलकभरका मस्जिदमा नमाज पढ्दै हर्षोल्लासपूर्वक इद मनाइएको छ।

प्रकाशित: २४ असार २०७३ ०२:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App