१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पलनीसामी तामिल नाडुको मुख्य मन्त्री

नयाँ दिल्ली- भारतको दक्षिणी राज्य तामिल नाडुको मुख्यमन्त्री इके पलनीसामी बनेका छन्। शशिकलाका विश्वास पात्र पलनीसामीलाई सरकार बनाउन तामिल नाडुको राज्यपालले सरकार बनाउन निमन्त्रणा गरेको छ। बिहिबार बिहान राज्यपाल विद्यासागर रावले आइएडीएमकेको विधायक दलका नेता पलनीसामीलाई भेटघाट गर्नका लागि बोलाएका थिए। भेटघाट कै क्रममा राज्यपाल रावले उनलाई सरकार बनाउन निमन्त्रणा दिएका थिए। उनको निमन्त्रणापछि पलनीसामीले मुख्य मन्त्रीको सपथ लिएका थिए।

जयललिताको मृत्युपछि भारतको दक्षिणी राज्य तामिल नाडुको राजनीतिक घटनाक्रममा उतारचढाव आएको थियो। उनको मृत्युपछि ओ पनिरसेल्भम तामिल नाडुका मुख्य मन्त्री बनेका थिए। तर केही समयपछि नै जयललितासँग नजिकको सम्बन्ध भएकी शशिकला नटराजनलाई एआइएडीएमके पार्टीको महासचिव बनाइएको थियो। त्यसपछि शशिकला विधायक दलको नेता बनेकी थिइन् र आफ्नो नेतृत्वमा सरकार बनाउने तयारीमा लागेकी थिइन।

पनीरसेल्भमले मुख्य मन्त्रीको पदबाट राजीनामा दिएका थिए। उनको राजीनामा राज्यपालले स्वीकृत पनि गरिदिएका थिए तर राज्यापालले शशिकलालाई सरकार बनाउन निमन्त्रणा गरेनन्। पनीरसेल्भमले आफूलाई राजीनामा दिन बाध्य बनाइएको बताएका थिए। उनले आफ्नो भिन्न गुट तयार पारेका पनि थिए। त्यसपछि उनलाई पार्टीको सामान्य कार्यकर्ता पनि नरहने गरी शशिकलाले कारवाही गरेकी थिइन्। तामिल नाडुको मुख्यमन्त्री बन्न तम्तयार भएकी शशिकलालाई सर्वोच्चले बार लगाइदिएको थियो।

सर्वोच्च अदालतले शशिकला लगायत अन्य दुईलाई आम्दानी भन्दा बढि सम्पत्ति कमाएको आरोपमा चार वर्षको जेल सजायको फैसला गरेपछि उनले आफ्नो विश्वास पात्र पलनीसामीलाई आफ्नो ठाउँमा विधायक दलका नेता चुनिन्। शशिकलाले प्रशासन समक्ष आत्मसर्मपण गरिन् र उनी जेल गइन्। सामान्य कार्यकर्ताबाट राजनीति सुरु गरेका पलनीसामीको जन्म सन् १९५४ मा भएको हो। पार्टीमा लामो समय त्याग गरेका पलनीसामी स्वर्गीय दक्षिण भारतकी प्रसिद्ध नेतृ जे जयललिताका पनि विश्वास पात्र रहेका थिए।

प्रकाशित: ६ फाल्गुन २०७३ ०५:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App