८ वैशाख २०८१ शनिबार
अर्थ

प्रशासनिक कामलाई केन्द्र जानु नपर्ने

भैरहवा- केन्द्रबाट सञ्चालन हुँदै आएको विशेष आर्थिक क्षेत्र (सेज) को प्रशासनिक काम अबदेखि भैरहवास्थित कार्यालयबाटै हुने भएको छ। बिहीबारसेज कार्यालय उद्घाटन गरी प्रशासनिक सेवा प्रदान गर्न लागिएको हो।

विशेष आर्थिक क्षेत्र कार्यालयको उद्योगमन्त्री नविन्द्रराज जोशीले उद्घाटन गर्दै शुक्रबारदेखिनै सम्पूर्ण प्रशासनिक सेवा प्रवाह गर्न सम्बन्धित निकायलाइ निर्देशन दिए। उद्घाटन कार्यक्रमका बोल्दै उद्योग मन्त्री जोशीले नेपालमा आर्थिक क्रान्ति सम्भव छ भन्ने कुराको थालनी गर्न वर्तमान सरकार लागिपरेको बताए।

लगानीको वातावरण बन्दै गएकाले सरकारले निजी क्षेत्रलाई लगानी सुरक्षाको प्रत्याभूति दिलाएर आर्थिक क्रान्ति गर्ने दिशातर्फ अगाडि बढिसकेको उनको दाबी छ। मन्त्री जोशीले आयात निर्यातबीचको ठूलो अन्तरका कारण वर्षेनी व्यापार घाटा डरलाग्दो गरी बढेकाले निर्यातजन्य उत्पादनलाई प्राथमिकता राखेर काम अगाडि बढाइएको बताए। त्यसका लागि भैरहवा सेजको सञ्चालन अति जरुरी रहेको भन्दै मन्त्री जोशीले छिट्टैनै निर्यातजन्य उद्योग स्थापना गरी सञ्चालनमा ल्याइने बताए।

सेजमा बाँकी रहेका पूर्वाधार निर्माण तथा प्रशासनिक कामलाई तत्काल अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिँदै उद्योग मन्त्री जोशीले अबको आठ महिनाभित्रै विद्युतको व्यवस्था गर्ने दाबी समेत गरे। विद्युतका लागि सम्बन्धित मन्त्रालयसँग छलफल तथा गृहकार्य अगाडि बढाइसकेको उनको भनाइ थियो। सेजमा वैकल्पिक ऊर्जाको समेत व्यवस्था गर्न  मन्त्रालयले सोलार जडानका लागि आवश्यक गृहकार्य गरिरहेको मन्त्री जोशीले जानकारी दिए।

भैरहवा सेजलाई नमुना सेजको रुपमा सञ्चालन गरिने मन्त्री जोशीले दाबी गरे। अबको १० वर्षभित्र कुनैपनि नेपालीलाई विदेश जानु नपर्ने गरी उद्योग मन्त्रालायले स्वरोजगारमूलक उद्योग व्यवसायको विकास गर्ने उनले बताए। कार्यक्रममा उद्योग राज्यमन्त्री कञ्चनचन्द्र बादेले औद्योगिक हबको रुपमा विकास हुँदै गएको भैरहवामा लगानीको प्रशस्त सम्भावना रहेको बताए। सेज ऐन पास भइसकेको र नियमावलीहरु पनि बन्दैगरेको अवस्थामा अब सेज सञ्चालनमा कुनै समस्या नआउने राज्यमन्त्री बादेले बताए।

सेज विकास समितिका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले शुक्रबारदेखिनै सेजकै कार्यालयबाट उद्योग दर्ता लगायत प्रशासनिक काम सुरु हुने बताए। सेजमा उद्योग स्थापनाका लागि हालसम्म २१ वटा उद्योगले स्वीकृति लिइसकेको उनले बताए। ती उद्योगले पाँच अर्बलगानी भिœयाउने भट्टले  जानकारी दिए।

कार्यक्रममा सांसद इस्तियाक अहमद खाँ, उद्योग मन्त्रालयका सहसचिव दिनेशप्रसाद घिमिरे, प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंह,कांग्रेसका दिपक क्षेत्री न्यौपाने, माओवादी केन्द्रका रुपन्देही इन्चार्ज हकिउल्लाह खाँ,सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार शर्मा,उद्योग व्यापार संगठनका अध्यक्ष नारायण भण्डारी लगायतलेसेजमा उद्योग स्थापनाका लागि अत्यावश्यक विद्युतको व्यवस्था छिट्टै गर्नुपर्ने, पूर्वाधार निमार्णका बाँकी काम समयमै सक्नुपर्ने र सेजमा स्थापना हुने उद्योगमा स्थानीयलाई रोजगारीको ग्यारेन्टी गरिनु पर्ने माग गरेका थिए।

यसअघि दुई जना कर्मचारी रहेको सेजको कार्यालयमा हाल ११ जना कर्मचारी रहेको इन्जिनियर लक्ष्मण भट्टराइले बताए। प्रशासनिक सेवा प्रवाहका लागि आवश्यक जनशक्ति र पूर्वाधारको व्यवस्था भइसकेको उनले बताए।

सिद्धार्थनगर नगरपालिकासँग सीमा जोडिएको बगाह गाविसमा ५२ बिघा क्षेत्रफलमा सेज निर्माण गरिएको छ। सेजमा १६ सयदेखि ३७ सय वर्गमिटरका ६८ वटा प्लट छन्। गत भदौमा सेज ऐन पारित भइसकेको छ भने हालसम्म २१ उद्योग स्थापनाका लागि स्वीकृति लिएका छन्। निर्यात प्रवर्द्धनसँगै वैदेशिक लगानी भित्रने अपेक्षा गरिएको सेजमा हालसम्म बाह्य लगानी भने भित्रन सकेको छैन।

प्रकाशित: ६ फाल्गुन २०७३ ०५:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App