८ वैशाख २०८१ शनिबार
खेल

पिएसएल फाइनल लाहोरमा !

दुबई- यसै साता १३ जनाको ज्यान जाने गरी एक तालिबानीबाट आत्मघाति बम आक्रमण हुनाका बावजुद पाकिस्तान क्रिकेट लिग (पिएसएल) को फाइनल अर्को महिना लाहोरमा गर्ने योजना अधिकारीहरूले सार्वजनिक गरेका छन्।

अन्तर्राष्ट्रिय खेलाडीहरूलाई पूर्ण सुरक्षा प्रदान गर्ने प्रतिबद्धताका साथ पिएसएलको फाइनल मार्च ५ मा पूर्वी सहर लाहोरमा गर्ने योजना बनाएको बताइएको छ। ट्वान्टी–२० स्वरूपमा हुने प्रतियोगिताको पहिलो दुई संस्करण संयुक्त अरब इमिरेट्स (युएई) को दुबई र सारजहाँमा भइरहेको छ। तथापि पछिल्लो साता लाहोरको बमकाण्डसँगै पाकिस्तानमा भएका थुप्रै तालिबान आत्मघाति आक्रमणका कारण पिएसएलको योजनाले मूर्तरूप पाइनसकेको बताइएको छ।

'हामी पिएसएलको फाइनल लाहोरमा गर्न प्रतिबद्ध छौं। पाकिस्तानी क्रिकेट समर्थकहरू यहाँ खेल भएको हेर्न चाहन्छन्। यो फाइनल पाकिस्तानमा अन्तर्राष्ट्रिय क्रिकेट फर्काउने प्रयासमा एउटा कोसेढुंगो साबित हुनेछ,' पिएसएलका अध्यक्ष नाजाम सेथीले बिहीबार दुबईमा भने, 'सबै टोलीका लागि भिभिआइपी सुरक्षा व्यवस्था गरिनेछ।'

२००९ मा श्रीलंकाको टिम चढेको बसमाथि लाहोरमा आतंककारी आक्रमण भएयता पाकिस्तानले कुनै पनि ठूलो विदेशी टोलीलाई  सत्कार गर्न पाएको छैन। आठ वर्षअघिको उक्त घटनामा आठ व्यक्तिको ज्यान गएको थियो भने भ्रमणकारी टोलीका खेलाडीसहित ९  घाइते भएका थिए।

सेथीका अनुसार फेब्रुअरी २२ सम्ममा न्युजिल्यान्डका पूर्वकप्तान ब्रेन्डन म्याककलम, वेस्ट इन्डिजका स्टारद्वय क्रिस गेल र ड्वाइन ब्राभो, अस्ट्रेलियाका शेन वाट्सन, बंगलादेशका शाकिब अल हसन र इङल्यान्डका ट्वान्टी–२० कप्तान इयान मोर्गानलगायतका अन्तर्राष्ट्रिय खेलाडीलाई उनीहरूको टोली फाइनल पुगे लाहोर जान तयार भए नभएको विषयमा सोधिनेछ। 'कसैले पाकिस्तान जान चाहेनन् भने उसको ठाउँमा लाहोर जान तयार हुने अर्को विदेशी खेलाडी खोजिनेछ,' सेथीले भने।

अधिकारीहरूले फाइनलका लागि लाहोर जाने खेलाडीलाई 'बुलेटप्रुफ' बस, ठूलो संख्यामा पुलिसको पहरा र अन्य उच्चस्तरीय सुरक्षाव्यवस्था उपलब्ध गराउने प्रतिबद्धता जनाइसकेका छन्।

इस्लामाबाद युनाइटेड, कराची किंग्स, लाहोर कलन्दर्स, पेशावर जाल्मी र क्वेटा ग्लाडिएटर्स गरी पाँच टोलीको सहभागितामा पिएसएल चलिरहेको छ। पूरा प्रतियोगिता युएईमा गर्नाका बावजुद गत वर्ष पिएसएलले २६ लाख डलर फाइदा गरेको बताइएको छ। सरकार र सेनाले अतिवादविरुद्ध कडा कदम चाल्न थालेपछि पछिल्लो दुई वर्षमा पाकिस्तानको सुरक्षा अवस्थामा व्यापक सुधार आएको छ। तर पाकिस्तानी तालिबानजस्ता केही समूह अझै पनि त्यहाँ आतंक मच्चाउन सक्षम मानिन्छन्।

पाकिस्तान क्रिकेट बोर्डले पछिल्लो पाँच वर्षमा वेस्ट इन्डिज, बंगलादेश, आयरल्यान्ड र श्रीलंकाजस्ता टोलीलाई पाकिस्तान भ्रमण गराउन थुप्रै प्रयास गरे पनि सबै टोलीले सुरक्षाको कारण देखाउँदै अस्वीकार गर्दै आएका छन्।

प्रकाशित: ६ फाल्गुन २०७३ ०५:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App