coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मकवानपुरसम्मै वागमती फोहोर

ललितपुर- काठमाडौंको चोभार गल्छी हुँदै बगेको ढलयुक्त वागमतीबाट ललितपुरको माल्टा, गिम्दी, प्युटार, आस्राङ तथा मकवानपुरसम्मका बासिन्दालाई असर परेको छ। 'काठमाडौंको फोहोर जस्ताको तस्तै आउँछ,' श्रीनारायण मावि गिम्दीका शिक्षक अमिरकुमार थापाले भने, 'खेतीपातीमा यस्तो पानी प्रयोग गर्नै मिल्दैन, पानी फोहोर भएपछि हामीले चाहेअनुसारको किसानी काम पनि गर्न पाएका छैनौं।'

उनका अनुसार १५ वर्षअघि गिम्दी क्षेत्रका स्थानीयले वागमतीकै पानी पिउने र खेतीपातीमा प्रयोग गर्ने गर्थे। हिजोआज उनीहरूलाई पिउन र खेतीपातीमा प्रयोग गर्न सफा पानी अभाव भएको छ।

ढलयुक्त वागमतीबाट ललितपुरको माल्टा, गिम्दी, प्युटार, आस्राङ तथा मकवानपुरसम्मका बासिन्दालाई असर परेको छ।

काठमाडांैबाट झन्डै ४७ किलोमिटर दूरीमा पर्ने दक्षिण ललितपुर र मकवानपुरसम्म वागमती सेरोफेरोका बासिन्दा ढलयुक्त पानीले प्रभावित छन्। 'वागमती सफा हुँदा यहाँका कैयौं परिवारले पानीघट्ट र माछा मारेेरै जीविकोपार्जन चलाएका थिए,' प्युटार गाविसका सचिव विक्रम कोइरालाले भने, 'काठमाडौंवासीले वागमती फोहोर बनाउँदा यहाँका गरिबको पेसा गुम्यो।'

वागमतीको दुर्गन्धले नदी किनारका बासिन्दालाई बसिनसक्नुभएको सचिव कोइराला बताउँछन्। 'वागमतीमा मिसिएको मलमूत्रको गन्ध गाविस भवनसम्मै आउँछ,' उनले भने, 'यहाँका स्थानीयले चाहँदैमा नदीको फोहोर हट्दैन, यसलाई समाधान काठमाडौंवासीले नै गर्नुपर्छ।'

नदी सफा हुँदा स्थानीय कत्ले, वाम, सहरलगायत प्रजातिका माछा पाइने गरेको आस्राङका बासिन्दा सुरेश तिमल्सिनाले बताए। विगतमा माछा मारेरै जीविका चलाउँदै आएका उनले वागमती फोहोर भएपछि गरिखाने पेसा गुमेको गुनासो गरे। 'पानी सफा हुँदा खेतीपाती र माछा व्यापार गरेरै छोराछोरीलाई पढाउँदै आएका थियौं,' तिमल्सिनाले भने, 'तर अहिले परिवार पाल्नै मुस्किल भएको छ।'

वागमती फोहोर बनेपछि विगतमा यहींको पानी पिउने स्थानीयले अहिले खोल्साखाल्सीका पानीका मुहान धाउन थालेका छन्।

नदी फोेहोर बनेपछि सरकारले सिँचाइ कार्यक्रममा लागि दिएको रकम पनि प्रयोग गर्न नपाएको गिम्दी गाविसका सचिव कोइरालाले बताए। 'सिँचाइका लागि आवश्यक सफा पानी नभएकै कारण सिँचाइ कार्यक्रमसमेत प्रभावित बनेको छ,' उनले भने, सिँचाइ कार्यक्रमका लागि अन्य साना खोलाको पानी अपुग हुन्छ।'

काठमाडौंको ढल व्यवस्थापनका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेडले नयाँ योजना सुरु गरेको छ। वागमती नदी फोहोर व्यवस्थापनका लागि 'काठमाडौं उपत्यका फोहोर पानी व्यवस्थापना आयोजना' बनाएर काम थालिएको आयोजनाका प्रोजेक्ट म्यानेजर सूर्य कँडेलले जानकारी दिए।

'हामीले दुई वर्षमा वागमतीको फोहोर हटाउने गरी काम थालेका छौं,' उनले भने, 'गोकर्ण, गुह्येश्वरी, भक्तपुरको सल्लाघारी, बालकुमारीलगायत ठाउँमा खानेपानी प्रशोधन केन्द्र बनाउने कार्य सुुरु भइसकेको छ।'

उनका अनुसार ललितपुरको खोकनामा अन्तिम खानेपानी प्रशोधन केन्द्र बनाउन सात सय रोपनी जग्गा खोज्ने कार्य भइरहेको छ। एसियन विकास बैंकको १३ अर्ब रुपैयाँ सहयोगमा प्रशोधन केन्द्र बनाउन लागिएको अधिकारसम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ।

प्रकाशित: ६ फाल्गुन २०७३ ०४:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App