coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

निर्वाचन आयोगले पूर्णता पायो

काठमाडौं- सरकारले स्थानीयसहित तीनै तहको निर्वाचनका लागि राजनीतिक वातावरण बनाउन लागिपरेका बेला चुनाव गराउने मुख्य जिम्मेवारी पाएको निर्वाचन आयोगले पनि पूर्णता पाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आयोगमा तीन आयुक्त नियुक्त गरेसँगै आयोगले पूर्णता पाएको हो। केही समयदेखि आयोगमा आयुक्तका तीन पद रिक्त थिए। आयोमा प्रमुख आयुक्त एक र आयुक्त चारजना रहने व्यवस्था छ।

संवैधानिक परिषद्को सिफारिस र संसदीय सुुनुवाइ विशेष समितिको अनुमोदनपछि राष्ट्रपति भण्डारीले बिहीबार नरेन्› दाहाल, ईश्वरीप्रसाद पौडेल र सुधिरकुमार शाहलाई आयोगको आयुक्तमा नियुक्त गरेकी हुन्। नवनियुक्त आयुक्तहरूले बिहीबार नै पद तथा गोपनीयताको शपथ लिएका छन्।

राष्ट्रपतिको उपस्थितिमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले राष्ट्रपति भवन शीतलनिवासमा उनीहरूलाई शपथ गराएका हुन्। सपथलगत्तै उनीहरूले आयोगमा पुगेर पदभार समाले। तीनै जनाले स्वच्छ, पारदर्शी, स्वतन्त्र ढंगले निर्वाचन गराउने प्रतिबद्धता जनाएका छन्। कार्यरत इला शर्मासँगै अब आयुक्तको संख्या चार पुगेको छ।

संवैधानिक व्यवस्था अनुसार आगामी २०७४ माघ ७ भित्र स्थानीय, प्रदेश र केन्द्रीय संसद्को निर्वाचन सम्पन्न गर्नुपर्छ। सरकारले जेठमा स्थानीय निर्वाचन गराउने गरी मिति निर्वाचन घोषणा गर्ने गृहकार्य गरिरहेको छ।

प्रकाशित: ६ फाल्गुन २०७३ ०३:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App