८ वैशाख २०८१ शनिबार
राजनीति

मोर्चालाई फकाउन अन्तिम प्रयास

काठमाडौं- संविधान संशोधनबिना कुनै पनि चुनावमा जान नसक्ने अडान राख्दै आएको मधेसी मोर्चालाई फकाउन प्रधानमन्त्री पुष्पकमल दाहालले अन्तिम प्रयास थालेका छन्। प्रधानमन्त्री दाहालले बिहीबार सद्भावना पार्टीका  अध्यक्ष्य राजेन्द्र महतोलाई बालुवाटार बोलाएर सहमतिमा आउन आग्रह गरे। महतोले पुरानै अडान 'संविधान संशोधनपछि मात्र चुनाव' दोहर्‍याए।

प्रधानमन्त्री दाहालले चुनाव मिति घोषणा गर्नु सरकारको बाध्यता भएको बताउँदै यसमा सकारात्मक भइदिन महतोलाई  आग्रह गरेका थिए। प्रधानमन्त्रीले चुनाव प्रक्रिया र संविधान संशोधन विधेयक एकसाथ अघि बढाउने आश्वासन पनि महतोलाई दिएका थिए।

संविधान संशोधन नगरी चुनाव मिति घोषण गरिए सरकारलाई दिएको समर्थन फिर्ता लिने मधेसी मोर्चाको चेतावनी।

महतोले भने परिमार्जनसहित संविधान संशोधन प्रस्ताव पास नभईकन चुनावमा आफूहरूले भाग लिन नसक्ने बताएका थिए। 'प्रधानमन्त्रीज्यूले स्थानीय तहको चुनाव मिति घोषणा गर्नु सरकारको बाध्यता भएको बताउनुभयो', प्रधानमन्त्रीसँग भेटपछि  महतोले नागरिकसँग भने, 'संविधान संशोधनबिना चुनाव घोषणा भए आन्दोलनमा जानु मोर्चाको बाध्यता हुने जबाफ दिएँ।'

महतोले सरकारको नियत जालझेल गर्ने र संशोधन विधेयकलाई अघि नबढाउने देखिएको बताए। 'सरकारको नियत नै जालझेल गर्ने देखिएको छ। 'महतोले भने, 'संशोधन विधेयक पास गर्ने सरकारको चाहना देखिएन।'

महतोका अनुसार प्रधानमन्त्रीले शनिबार मोर्चाका नेतासँग संयुक्त रुपमा छलफल गर्ने भएका छन्। त्यसअघि उनले मोर्चाका नेतासँग एक्लाएक्लै भेट गर्ने छन्। मोर्चाले पनि शनिबार नै बैठक गरी  थप रणनीति तय गर्ने भएको छ। 'शनिबार प्रधानमन्त्रीसँग भेट हुने सम्भावना छ। त्योभन्दा अघि नै मोर्चाले बैठक गरी थप रणनीति तयार गर्छ,' मोर्चाका नेता केशव झाले भने, 'सरकारले निर्वाचन मिति तोके हामीसँग आन्दोलनमा जानुबाहेक अर्को विकल्प छैन। '

सरकारले चुनाव मिति घोषणा गरे आन्दोलनका कार्यक्रम घोषणा गर्ने र सरकारलाई दिँदै आएको समर्थन पनि फिर्ता लिने मोर्चाको तयारी भएको नेताहरूले बताएका छन्। यसबारे मोर्चाले बैठक डाकेर निर्णय लिने महतोले जनाए। मोर्चाका नेता झाले भने सरकारले चुनाव मिति घोषणा गर्नेबित्तिकै मोर्चाले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने निश्चित भएको बताए।

माोर्चाका नेताले बिहीबार तमलोपा कार्यलयमा अनौपचारिक बैठक गरेका थिए। बैठकले शनिबार मोर्चाको औचपारिक बैठक गर्ने निर्णय गरेको बैठकमा सहभागी झाले बताए।  अनौपचारिक बैठकमा तमलोपा नेता हृदयेश त्रिपाठी, नेपाल सद्भावना पार्टी अध्यक्ष्य अनिल झा, राष्ट्रिय मधेस समाजवादी पार्टी महासचिव झा, तराई–मधेस सद्भावना पार्टी प्रवक्ता सत्यनारायण मण्डल, सद्भाना पार्टी सचिव राजराम पासवानलगाय नेता उपस्थित थिए।

प्रकाशित: ६ फाल्गुन २०७३ ०३:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App