coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

विवादित पहाडी निगम सञ्चालक सदस्य

काठमाडौं- सरकारले नेपाल वायुसेवा निगम सञ्चालक समितिको रिक्त सदस्यमा 'विवादित छवि'का निगमकै पूर्वनिर्देशक अच्युतराज पहाडीलाई नियुक्त गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीस्तरीय बुधबारको निर्णयअनुसार पहाडीलाई चार वर्षका लागि राष्ट्रिय ध्वजावाहक निगम सञ्चालक समिति सदस्यमा 'विज्ञ' भन्दै नियुक्त गरिएको हो। सञ्चालक सदस्य टेकनाथ आचार्यको पदावधि सकिएपछि रिक्त स्थानमा पहाडी पुगेका छन्।

'वायुसेवा निगममै लामो समय काम गरेको अनुभवका आधारमा अच्युतराज पहाडीलाई बुधबारको मन्त्रीस्तरीय निर्णयबाट निगम सञ्चालक समिति सदस्य नियुक्त गरिएको हो', पर्यटन मन्त्रालयका सचिव तथा निगम सञ्चालक समितिका अध्यक्ष शंकरप्रसाद अधिकारीले बिहीबार नागरिकसँग भने।

२०६८ असारमा २५ भारतीय नागरिकसँग भारु २ लाखका दरले रकम उठाई निगममा जागिर दिने भन्दै पहाडीले नक्कली नियुक्तपत्र दिएका थिए।

निगमको दसौं तह (निर्देशक) पदबाट दुई साताअघि अवकाश पाएका पहाडी २०६८ असारमा २५ भारतीय नागरिकलाई निगमको 'एयरक्राफ्ट मेन्टिनेन्स टेक्निसियन' पदमा नियुक्त गर्दा दोषी ठहरिएका थिए। त्यसबेला इन्जिनियरिङ विभागका निर्देशक रहेका उनलाई असार २८ गते निगमकै उच्च अधिकारी सहभागी छानबिन समितिले दोषी ठहर गरेको थियो। त्यसपछि उनलाई कार्यकारी अध्यक्षको कार्यालयमा हाजिर गराइएको थियो।

ती भारतीयलाई दिइएको नक्कली नियुक्तिपत्रमा भएको पहाडीको हस्ताक्षर, उनीबाट लिइएको हस्ताक्षर र निगमका अफिसियल कागजातमा भएका उनका हस्ताक्षरलाई केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशालाले गरेको परीक्षणमा दुरुस्त मिलेपछि पहाडीको संलग्नता पुष्टि भएको थियो।

महानगरीय प्रहरी परिसरको अपराध अनुसन्धान तथा कारबाही शाखाबाट पर्यटन मन्त्रालय र निगम कार्यकारी अध्यक्षको कार्यालयलाई त्यसबेला पठाइएको पत्रमा पहाडीको हस्ताक्षर एउटै भएको उल्लेख छ। परिसरका तत्कालीन प्रहरी उपरीक्षक राजेन्द्र श्रेष्ठद्वारा हस्ताक्षरित पत्रको बोधार्थ महानगरीय प्रहरी आयुक्तको कार्यालयलाई दिइएको थियो।

निगमको कर्मचारी विनियमावली, २०५८ मा यस्तो प्रकृतिका विषयमा कारबाहीका लागि 'भविष्यमा निगमको सेवामा अयोग्य ठहरिने गरी बर्खास्त गर्ने' उल्लेख भए पनि निगम व्यवस्थापनले उनलाई कारबाही भने गरेन।

त्यसबाहेक करिब डेढ दशकअघि निगमका बोइङ ७५७ जहाजका १६ थान टायर खरिद गर्दा डेढदेखि २ लाख अमेरिकी डलर 'घोटाला' गरेको प्रमाणित हुँदा पनि उनीमाथि निगमले कारबाही गरेको थिएन। तर, केही समयपछि यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि छानबिन गरियो र अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी निलम्बित भएका थिए। त्यसपछि मुद्दा जितेर उनी काममा फर्किएका थिए।

'पर्यटनमन्त्री जीवनबहादुर शाही र सचिव अधिकारीलाई पहाडीको विवादास्पद छविबारे जानकारी गराइएपछि उनको नियुक्ति केही दिन रोकिएको थियो', उच्चस्रोतले भन्यो, 'तर, पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको दबाब थेग्न नसकेपछि बाध्य भएर पहाडीलाई निगम सञ्चालक सदस्य नियुक्त गरियो।'

विवादित छवि भएकालाई यसरी राजनीतिक दबाबमा नियुक्ति दिँदा निगमका व्यापारिक योजनादेखि अन्य विविध काम–कारबाहीमा समस्या आउन सक्ने निगमका एक पूर्व उच्च अधिकारीले बताए। 'विवादित व्यक्तिका लागि पूर्वप्रधानमन्त्री नै यसरी राजनीतिक दबाबमा उत्रिएपछि निगम मात्र होइन, देशको हालत कस्तो होला?' उनले प्रश्न गरे।

प्रहरी विधिविज्ञान प्रयोगशालाबाट २०६८ साउन ५ मा परीक्षण प्रतिवेदन प्राप्त भए पनि परिसरले मंसिर २० मा पत्र तयार गरेको थियो। त्यसको छैटौं दिन निगममा आइपुगेको पत्रअनुसार 'निगमको एयरक्राफ्ट मेन्टिनेन्स टेक्निसियन पदमा २५ जना खाली रहेको र इच्छुकले ओमप्रकाश यादवसँग सम्पर्क राख्न गत असारमा इन्टरनेटमा विज्ञापन राखेका थिए। इच्छुक २५ भारतीयले त्यो पदमा जागिर खान यादवले रकम चाहिने भनेपछि १३ लाख १५ हजार भारतीय रुपैयाँ (भारु) बुझाएका थिए।'

त्यसपछि पहाडीको हस्ताक्षर भएको नियुक्तिपत्र दिएपछि जागिर खान निगममा पुग्दा नक्कली नियुक्तिपत्र भएको र उक्त पदमा कुनै विज्ञापन पनि नभएको यकिन भएपछि यादवसँगको मिलेमतोमा पहाडीले ठगी गरेको भन्दै त्रिमलराज एकबोटेसहित आठ जनाले असार २५ मा यादव र पहाडीलाई कारबाही गरी रकम फिर्ता दिलाइदिन परिसरमा निवदेन दिएका थिए।

निगमका तत्कालीन महाप्रबन्धक केबी लिम्बूको कार्यकालमा ती भारतीयलाई नियुक्त गरिएको थियो। हुँदै नभएको पदका लागि प्रत्येकबाट २ लाख भारु लिएर नियुक्ति दिइएको दियो। तीमध्ये आठ भारतीयलाई जागिर खान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित निगम इन्जिनियरिङ विभाग जाने क्रममा विभागकै कर्मचारीले समातेका थिए।

पक्राउ परेकाले प्रहरीलाई दिएको बयानमा यादवले मासिक २२ हजार ५ सय रुपैयाँ तलबमा जागिर दिने भन्दै इन्टरनेटमा निगमको विज्ञापन राखेको उल्लेख थियो। आफूहरूको अन्तर्वार्ता निगमका निर्देशकभन्दा माथिल्लो तहका प्रमुख कार्यकारी अधिकृतले लिएको बयान प्रहरीलाई उनीहरूले दिएका थिए। नियुक्ति पाएका सबै १७ देखि २५ वर्ष उमेरका थिए। यादवसहित अरु १५ भारतीय फरार भएका थिए।

घटना सार्वजनिक भएपछि पहाडीलाई पनि प्रहरीले करिब एक साता हिरासतमा राखेको थियो। बयान क्रममा उनले आफू निर्दोष रहेको र हस्ताक्षर पनि आफ्नो नभएको बताएका थिए। सर्वोच्च अदालतमा पहाडीका छोराले हालेको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनपछि नेपाल बार एसोसिएनका तत्कालीन अध्यक्ष प्रेमबहादुर खड्काको जिम्मामा उनलाई साउन ३ मा हिरासतमुक्त गरिएको थियो।

निगमकै सात उच्च अधिकारी सम्मिलित छानबिन समितिले असार २८ मा पहाडीले विमानस्थल प्रवेश पास दुरुपयोग गरेको निष्कर्ष निकालेको थियो।

त्रिभुवन विमानस्थलको १० नम्बर क्षेत्र (जहाजको ह्यांगर) मा जान प्रयोग हुने पास दुरुपयोग गरी पहाडीले ती भारतीयलाई विमानस्थलको निषेधित क्षेत्रमा प्रवेश गराएको प्रतिवेदन समितिले तयार पारेको थियो। पहाडीले निगम केन्द्रीय कार्यालय प्रवेश गर्न आगन्तुकलाई दिइने २० थान पास र विमानस्थल प्रवेश गर्दा चाहिने ५ थान पास लगेको र तिनै पासमा पहाडीले हस्ताक्षर गरेको प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित: ६ फाल्गुन २०७३ ०२:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App