१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

विज्ञान र व्यवस्थापनमा चाप

काठमाडौं- सरकारले यस वर्ष प्रकाशित गरेको ग्रेडिङ प्रणालीको एसएलसी नतिजाले ४ लाखभन्दा बढी विद्यार्थी कक्षा ११ पढ्न योग्य ठहरिएका छन्। तीमध्ये अधिकांश विद्यार्थी विज्ञान र व्यवस्थापन पढ्न इच्छुक देखिँदा प्लसटुहरूलाई चाप थेग्नै हम्मे परेको छ।

केही नाम चलेकाबाहेक अन्य प्लसटुले यी विषयमा विद्यार्थीको तीव्र चाप थेग्ने गरी तयारी नगरेकाले गुणस्तर कायम गर्न चुनौती थपिएको केएमसी इजुकेसन नेटवर्कका निर्देशक किशोर गौतमले बताए।

'देशभरि कुल ३ हजार ६ सय ६९ प्लसटु सञ्चालित छन्, ४ लाख विद्यार्थी प्रत्येकलाई बाँड्दा पनि एउटा प्लसटुमा एक सय हाराहारी पुग्छन्। तर, उपत्यकाका २० राम्रा प्लसटुले सयौं गुना बढी विद्यार्थी भर्ना गरिसके,' उनले नागरिकसँग भने, 'अन्य प्लसटु विद्यार्थी तान्न होडबाजी गरिरहेका छन्। सस्तो शुल्क लिने आश्वासन दिएर विद्यार्थी तान्ने प्रतिस्पर्धा कायम छ।' त्यस्ता प्लसटुमा राज्यले समयमै अनुगमन गरी गुणस्तर व्यवस्थापन गर्न नसके भविष्यमा ठूलो शैक्षिक दुर्घटना निम्तिने उनले चेतावनी दिए।

यी दुई विषयमा विद्यार्थीको थेगिनसक्नु चापसँगै नाम निकालिदिन विभिन्न नेता, उच्च ओहदाको कर्मचारीको दबाबले थप हैरानी खेप्नुपरेको गौतमको भनाइ छ। राजधानीको बागबजारस्थित गौतमको केएमसी उमाविले नै पोहोरको तुलनामा यस वर्ष विज्ञानमा ४ सेक्सन थपेर २८  र व्यवस्थापनमा समेत ४ सेक्सन थपेर १० पुर्‍याएको छ। 

'गत वर्ष विज्ञानमा १ हजार विद्यार्थी भर्ना थिए, यस वर्ष साढे १२ सय पुगिसके, व्यवस्थापनमा साढे ४ सय भर्ना हुँदै छन्,' उनले भने, 'विद्यार्थीको चाप थेग्न नसकेर भर्ना बन्द गरेको सूचना नै निकाल्नुपर्‍यो।' यस वर्ष बढीजसो पूर्वी तराईका विद्यार्थी विज्ञान र व्यवस्थापन अध्ययनकै लागि राजधानी आएको उनको अनुभव छ।

राजधानीमा मानविकी र शिक्षा संकायतर्फ भने विद्यार्थीले खासै चासो नदेखाएको पेन्टागन कलेजका अध्यक्ष एसपी सिंहले बताए। उनका अनुसार मानविकी र शिक्षा संकाय पढ्न चाहने बाहिरी जिल्लाका विद्यार्थी घरनजिकैको प्लसटु भर्ना हुन्छन् भने विज्ञान र व्यवस्थापन पढ्नेहरू जसरी पनि राजधानी नै आउँछन्।

पेन्टागनमा पनि यस वर्ष विद्यार्थीको चाप बढेको छ। विज्ञानमा ५ सय, व्यवस्थापनमा ३ सय गरी कुल ८ सय सिटका लागि ६ हजार फाराम वितरण भएको सिंहले जानकारी दिए। 'यस वर्ष सिटभन्दा बढी विद्यार्थी आएका छन्,' उनले भने, 'व्यवस्थापन गर्न हम्मे पर्न सक्छ।' आफूहरूले भने १८ वटा भवन, छात्रावास, ल्याब, पुस्तकालयलगायत भौतिक पूर्वाधार पहिल्यै तयार पारिसकेकाले त्यति अप्ठ्यारो नभएको उनले बताए।

सरकारले ग्रेडिङबारे शिक्षक, विद्यार्थी र अभिभावकलाई बुझाउन नसकेका कारण समस्या आएको बानेश्वरस्थित नोबेल एकेडेमीका अध्यक्ष सुरेन्द्र श्रेष्ठको भनाइ छ। धेरैजसो विद्यार्थीले विज्ञान र व्यवस्थापनको प्रवेशपरीक्षा पास गरे पनि भर्नाको समयमा धेरैको ग्रेड नपुगेर रोक्नुपर्ने अवस्था आएको उनले जानकारी दिए।

'कुन ग्रेडका विद्यार्थीले के पढ्ने, सरकारले पहिल्यै तय गर्नुपर्थ्यो,' श्रेष्ठले भने, 'त्यसो हुँदा विद्यार्थीले पहिल्यै आफ्नो ग्रेडअनुसार उपयुक्त विषय छान्न सक्थे।' उनले थपे, 'प्रायः विद्यार्थीले जिपिए २ आएकै देखर विज्ञान र व्यवस्थापनमा प्रवेशपरीक्षा दिएका रहेछन्, पछि प्रमाणपत्र ल्याउँदा गणित र विज्ञानमा ग्रेड नपुगेर भर्ना रोक्नुपर्‍यो।'

नोबेलले पनि विज्ञानमा २ सय ५० र व्यवस्थापनमा २ सय ५० गरी कुल ५ सय सिट तोकेको छ। यस वर्ष सिटभन्दा विद्यार्थी विद्यार्थी चाप निकै बढी भएकाले थेग्न हम्मे परेको श्रेष्ठको भनाइ छ। 'गुणस्तर कायम गर्न क्षमताका हिसाबले नै भर्ना लिन्छौं,' उनले भने, 'तर, जिपिए एउटा रेन्जमा भएका सबै पर्छन्।'

बबरमहलस्थित मेगा उमाविको पनि उही अवस्था छ। 'यस वर्ष हाम्रो प्लसटुमा विज्ञान अध्ययन गर्न आउनेको चाप थेगिनसक्नु छ,' अध्यक्ष गोपाल खनालले भने, 'गुणस्तर कसरी कायम गर्ने भन्ने चिन्ताको विषय भएको छ।'

शिक्षा विभागका निर्देशक वैकुण्ठ अर्याल सामुदायिकका विद्यार्थीले समेत विज्ञान विषयमा रुचि देखाउनु सकारात्मक रहेको औंल्याउँदै प्लसटुको अस्वस्थ प्रतिस्पर्धा नियन्त्रण गर्नु पनि उत्तिकै आवश्यक रहेको बताए। यस वर्ष विभागले नै अनुमगन, नियमन र प्लसटु सम्बन्धनको काम गर्ने उनको भनाइ छ। 'सम्बन्धनका लागि १ सय १५ निवेदन आएको छ, बढी व्यवस्थापनमै  छ,' निर्देशक अर्यालले भने, 'विद्यार्थी भर्ना, अनुगमन र नियमनका लागि विभाग कार्यविधि बनाएर अघि बढ्छ।'

प्रकाशित: २४ असार २०७३ ०२:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App