coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

पाँच लाख राशिको बुढासुब्बा गोल्डकपमा १० टोली भिड्ने

प्रतियोगिताबारे जानकारी दिँदै अायोजक। तस्विरः रोहित

धरान—मोफसलको चर्चित फुटबल प्रतियोगिता बुढासुब्बा रेडबुल गोल्डकपको १९ औं संस्करण शुक्रबारदेखि शुरु हुदैछ। धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भइसकेको आयोजक धरान फुटबल क्लबले जानकारी दिएको छ।

प्रतियोगितामा पहुना टोलीको रुपमा भारतबाट दुर्गापुर र युनाइटेड सिक्किम फुटबल क्लबले पहिलो पटक भाग लिएका छन्। युनाइटेड सिक्किम पुर्वभारतीय कप्तान भाइचुङ भुटियाले सञ्चालन गरेको एकेडेमी हो।

फागुन १४ गतेसम्म हुने प्रतियोगिताको उद्घाटन कांग्रेस नेता एवं सांसद मिन विश्वकर्माले गर्नेछन् भने प्याराग्लाइडिङ उडेर स्वागत पनि गरिनेछ।

क्लबका अनुसार प्रतियोगितामा दुई विदेशी टोलीसहित १० टिमले प्रतियोगितामा सहभागीता जनाउँदैछन्। प्रतियोगिताको उद्घाटन खेल पाहुना टोली दुर्गापुर स्टिल कलकत्ता, भारत र संकटा एफसि काठमाडौबीच हुनेछ । प्रतियोगितामा पहुना टोलीको रुपमा भारतबाट दुर्गापुर र युनाइटेड सिक्किम फुटबल क्लबले पहिलो पटक भाग लिएका छन्। युनाइटेड सिक्किम पुर्वभारतीय कप्तान भाइचुङ भुटियाले सञ्चालन गरेको एकेडेमी हो।

एपिएफ क्लब, काँकडभिट्टा ट्रेनिङ सेन्टर झापा, रुपन्देही फुटबल क्लब, पोखरा फुटबल क्बल र नेपाल पुलिस क्लबले पनि प्रतियोगितामा भाग लिनेछन्। आयोजकको पहेलो (सिनियर) र निलो(जुनियर) गरी दुई टिमले भाग लिने क्लबका अध्यक्ष किसोर राईले जानकारी दिए।

साविक विजेता मनाङ मस्र्याङ्दी क्लब भने यो संस्करणमा सहभागीता जनाउने छैन। मनाङ बंगलादेशमा हुने शेख कमल अन्र्ताराष्ट्रिय क्लब च्याम्पियनसिपमा सहभागीता जनाउन बुधबार प्रस्थान गरिसकेको छ। मनाङ बुढासुब्बाको छैटौं, १३ आंै र १८ औं संस्करणको विजेता हो।

‘जति क्लबले सहभागीता जनाएका छन्, ती सबै जारी सिजनका उत्कृष्ट टिम छन्। केहीले त उपाधि पनि जितेका छन्’, एन्फा केन्द्रीय उपाध्यक्षसमेत रहेका राईले भने–‘आयोजकले पनि उपाधि जित्ने लक्ष्य राखेर २ टिम बनाएको छ। राष्ट्रिय टिमका खेलाडीहरु पनि आउने भएकोले हरेक खेल रोमाञ्चक हुनेछन्।’ घरेलु मैदानमा चार पटक फाइनल पुगेपनि आयोजक अहिलेसम्म उपाधिविहिन छ।

प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार पाउनेछ। गत संस्करणमा विजेता र उपविजेताको पुरस्कार राशी ४ लाख र २ लाख थियो। उत्कृष्ट खेलाडीले एक थान यामाहा मोटरसाइकल र सर्वाधिक गोलकर्ताले नगद २५ हजार पाउने महासचिव प्रताप तामाङले बताए।

उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्ड र उत्कृष्ट प्रशिक्षकले जनही नगद १५ हजार पाउनेछन्। हरेक खेलको म्यान अफ दि म्याचलाई नगद ५ हजारसहित उपहार पनि दिइने उनेले बताए।

खेलस्थलमा बाँसको प्यारापिटसमेत निर्माण गरेर ५ हजार बढी दर्शक क्षमता बनाइएको क्लबले जनाएको छ। मैदानको पुर्वपट्टि कम्तिमा २ हजार २ सय दर्शक क्षमताको पक्की प्यारापिट छ। टिकट काटेका दर्शकहरुमध्येबाट लक्की ड्र गरेर प्रत्येक सेमीफाइनल खेलमा एक जनालाई माउण्टेन बाइक उपहार पनि दिने आयोजकले घोषणा गरेको छ। फाइनलमा एक जना दर्शकलाई सुनको सिक्का दिइने अध्यक्ष राईले बताए। अन्य खेलहरुमा २ जना दर्शकलाई उपहार दिइनेछ।

कुल ६५ लाख ६७ हजार ५ सय आय हुने अनुमान गरिएको प्रतियोगितामा ५४ लाख ८५ हजार खर्च हुने आँकलन छ।

प्रकाशित: ५ फाल्गुन २०७३ ०७:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App