८ वैशाख २०८१ शनिबार
खेल

नेपाली किशोरका लागि मिलानको प्रशिक्षण शिविर

काठमाडौं- इटालियन फुटबल महारथी एसी मिलानले एट्लान्टिक स्पोर्टस म्यानेजमेन्ट (एएसएम) सँगको समन्वयमा नेपाली यु–१७ खेलाडीका लागि जुनियर फुटबल प्रशिक्षण शिविर सञ्चालन गर्ने भएको छ। अप्रिल १० बाट सुरु हुने प्रशिक्षण शिविर मध्यपुर युथ एसोसिएसनको मैदानमा दुई हप्ता चलाउने आयोजकको योजना छ। सहभागि संख्या अनुसार शिविर एक वा दुई हप्ता गर्ने निर्णय हुनेछ।

एएसएमका कार्यकारी निर्देशक हरि खड्काले बुधबार पत्रकार सम्मेलनमा एसी मिलानको जुनियर प्रशिक्षण टोलीका पाँचसहित ६ जना शिविरका लागि नेपाल आउनेछन्। नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान खड्काका अनुसार जुनियर खेलाडीलाई प्रशिक्षण प्रदान गर्न आउने मिलानको टोलीमा एकजना स्काउट पनि हुनेछन्।

विश्वकै उत्कृष्टमध्येको एक क्लबका प्रशिक्षकहरुबाट उच्च स्तरको खेलशैली सिक्न यो हाम्रा बच्चाहरुलाई एउटा राम्रो अवसर हुनेछ।

सात पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको महारथी मिलानले जुनियर प्रशिक्षण शिविर सञ्चालन गर्न लागेको नेपाल दोस्रो दक्षिण एसियाली देश हो। यसअघि मिलानले श्रीलंकामा यस्तै शिविर सञ्चालन गरेको थियो। २०१०/०११ सिजनमा पछिल्लो पटक इटालियन सिरी 'ए' को उपाधि जितेको मिलानको लय पछिल्लो समय विग्रिएको छ। आगामी सिजन युरोपमा खेल्ने लक्ष्य प्राप्तीका लागि संघर्षरत मिलान हाल सिरी 'ए' अंकतालिकाको सातौं स्थानमा छ।

नेपाली खेलाडीलाई प्रशिक्षित गर्न काठमाडौं आउने मिलानका प्रशिक्षकको टोलीमा इटालीका पूर्व अन्तर्राष्ट्रिय विंगर स्टेफानो इरानियो पनि रहेको खड्काले पत्रकार सम्मेलनमा जानकारी गराए। इरानियोले १९९० देखि १९९७ सम्म इटालियन राष्ट्रिय टोलीमा रहँदा २० अन्तर्राष्ट्रिय खेल खेलेका थिए। उनले मिलानबाट १९९२ देखि १९९७ सम्म व्यावसायिक फुटबल खेलेका थिए।

'प्रशिक्षण शिविरका लागि खेलाडी दर्ता प्रक्रिया सुरु भइसकेको छ। फेब्रुअरीको अन्तिमसम्ममात्र दर्ता गरिनेछ। सहभागि संख्या टुंगो लागेपछि शिविर कति समय चलाउने भन्ने निर्णय हुनेछ,' पत्रकार सम्मेलनमा खड्काले भने, 'एक पटकको शिविरमा १ सय खेलाडीमात्र सहभागि गराउन सकिन्छ। त्यसैले सहभागिता संख्या बढेर २ सय पुग्यो भने शिविर पनि थप एक हप्ता लम्बाउने हाम्रो योजना छ।'

प्रशिक्षण शिविरमा सहभागिताका लागि युवा खेलाडीले ३० हजार रुपैयाँ बुझाउनु पर्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो। त्यसवापत प्रत्येक सहभागिले दैनिक खाना, यातायात र एसी मिलानको खेलसामाग्री पाउनेछन्।

'हामीले मिलानलाई एक सहभागि बराबर २ सय ६२ डलर बुझाउनुपर्छ। यो एएसएमको नाफाका लागि गरिएको कार्यक्रम होइन,' खड्काले भने, 'प्रशिक्षण शिविरमा सहभागि किशोरहरुलाई युरोपेली शैलीमा फुटबलको आधारभुत तालिम दिइन्छ। विश्वकै उत्कृष्टमध्येको एक क्लबका प्रशिक्षकहरुबाट उच्च स्तरको खेलशैली सिक्न यो हाम्रा बच्चाहरुलाई एउटा राम्रो अवसर हुनेछ। सानै उमेरदेखि प्रतिभा पहिचान गरी तिनलाई निखार्ने अभियानस्वरुप यो कार्यक्रम गरिएको हो।'

प्रशिक्षण शिविरका लागि एएसएमले मध्यपुर युथ एसोसिएसनको भक्तपुर गट्ठाघरस्थित मैदान रोजे पनि मिलानबाट आउने प्रशिक्षकहरुले मन नपराए त्यसको विकल्प खोजिने खड्काले जानकारी गराए। खड्काका अनुसार विश्वव्यापी रुपमा एसी मिलानको यस्तै जुनियर प्रशिक्षण शिविरको व्यवस्थापन गर्ने एएडी पोलिस्पोर्टेभेन्टियासँग एएसएमले सम्झौता गरिसकेको छ।

प्रकाशित: ५ फाल्गुन २०७३ ०२:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App