८ वैशाख २०८१ शनिबार
राजनीति

राष्ट्रिय सहमति खोज्दै तीन दल

काठमाडौं- सरकार परिवर्तनको विषयमा चर्चा चलिरहेका बेला प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताबीच राष्ट्रिय सहमतिको विषयमा छलफल भएको छ। प्रधानमन्त्रीनिवास बालुवाटरमा बिहीबार साँझ भएको बैठकमा दलहरूबीच कसरी सहमति कायम गर्ने विषयमा छलफल भएको छ। 'अहिले देखिएका चुनौती समाधान गर्न राष्ट्रिय सहमतिका साथ अघि बढ्नुपर्ने विषयमा सामान्य छलफल भएको छ,' प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले भने, 'नेपाली कांग्रेसलाई पनि यही सरकारमा आउन प्रधानमन्त्रीले आग्रह गर्दै आउनुभएको छ।'

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नारायणकाजी श्रेष्ठ उपस्थिति थिए। निर्धारित समयभन्दा करिब २ घन्टा ढिलो साँझ सात बजे बैठक सुरु भएको थियो।

दाहालका स्वकीय सचिव जोगबहादुर महरले समय अभावका कारण विस्तृत छलफल हुन नसकेको बताए। यसअघि केन्द्रको पोलिटव्युरो बैठकले राष्ट्रिय सहमतिको सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको थियो। उनीहरूले नेतृत्वका लागि खुला रहेको समेत जनाएका थिए।

यसैबीच सरकार परिवर्तनबारे चर्चा भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले भने आफ्नै नेतृत्वमा मन्त्रिपरिषद् विस्तार हुने बताएका छन्। भूमिसुधार तथा व्यवस्था मन्त्रालयले आयोजना गरेको कार्यक्रममा बिहीबार ओलीले हल्लैहल्लाको देशमा सरकार परिवर्तनको हल्ला चलेको बताए।  'कतिपयलाई हल्लैहल्लामा हल्लिने र त्यसैको पछि कुद्ने बानी परेको छ,' ओलीले भने, 'सरकार परिवर्तनको हल्ला खुब चलेको छ तर सरकार परिवर्तन हुँदैन, विस्तार हुन्छ।'

प्रकाशित: २४ असार २०७३ ०२:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App