coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

संविधान संशोधनमा एमाले लचक

काठमाडौं- प्रमुख प्रतिपक्षी एमालेले निर्वाचन सुनिश्चित भए संविधान संशोधन प्रक्रिया अघि बढाउन लचिलो बन्ने संकेत गरेको छ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बुधबार सुरु पोलिटब्युरो बैठकमा अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनको विपक्षमा उभिने निर्णय यथावत् रहे पनि मधेस केन्द्रित दलहरू निर्वाचनमा आउने सुनिश्चि भए संशोधन प्रस्ताव मतदानबाट टुंगो लगाउन तयार हुनुपर्ने अवस्था आउन सक्ने बताएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालसहित प्रमुख तीन दलका शीर्ष नेताहरूबीच पछिल्ला दिनमा निरन्तर छलफलपछि बुधबार साँझ बसेको बैठकमा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले संशोधन प्रक्रिया अघि बढाए मधेसी  दललाई निर्वाचनमा सहभागी गराउन सकिने आश्वासन कांग्रेस र माओवादी केन्द्रले दिएको बैठकमा जानकारी गराएका छन्। 'एमाले अहिले पनि संशोधनको विपक्षमा छ,' ओलीलाई उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, 'मधेसी मोर्चा चुनावमा आउने सुनिश्चित भए भोटिङ प्रक्रियामा जानुपर्ने हुन सक्छ।'

सरकारले संसद्मा पेस गरेको संविधान सशोधन प्रस्तावलाई संसदीय प्रक्रियाबाट टुंगो लगाउन एमाले तयार भए मधेस केन्द्रित दलहरू निर्वाचनमा सहभागी गराउने आश्वासन कांग्रेस र माओवादी नेताहरूले बताएका छन्।

प्रमुख तीन दलका शीर्ष नेताबीच पछिल्ला दिनमा स्थानीय चुनाव घोषणा र संविधान संशोधन प्रक्रिया सँगै अघि बढाउने सहमति नजिक पुगेको बताउँदै आएका छन्। प्रधानमन्त्री दाहालले मधेसी दलका नेताहरूसँग अन्तिम छलफल गर्ने र त्यसमा सहमत नभए निर्वाचन घोषणा गरेर जाने बताएको पनि अध्यक्ष ओलीले बैठकमा जानकारी गराएका छन्। बिहीबार प्रधानमन्त्रीले मोर्चासँग कुरा गर्ने र मोर्चाले नमाने पनि चुनाव मिति घोषणा गरेर जाने सहमति भएको ओलीले बैठकलाई जानकारी गराए। 

यसबीचमा शीर्ष नेताहरूबीच चुनाव मिति घोषणा गर्ने र स्ववियु चुनाव पनि नरोक्ने सहमति भएको बैठकपछि एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए। 'स्ववियु चुनावसमेत गराउन नसक्ने सरकारले अरू ठूला चुनाव कसरी गराउन सक्छ भन्ने प्रश्न उठ्छ। त्यसैले सबै चुनाव तोकिएको समयभित्र गरिसक्नुपर्छ भन्नेमा हाम्रो पार्टीको जोड हुनेछ', प्रचार विभाग प्रमुख भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

बैठकमा अध्यक्ष ओलीले १० पेज लामो राजनीतिक प्रतिवेदन पेस गर्दै मधेसी मोर्चा र सत्तापक्ष चुनावप्रति उदासीन रहेको आरोप लगाएका छन्। प्रतिवेदनमाथि बिहीबार छलफल हुनेछ।

प्रकाशित: ५ फाल्गुन २०७३ ०१:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App