१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बनिनसक्दै फुट्यो फुटपाथ

काठमाडौं- लेन मिलेका सफा अनि भव्य सडक। दायाँबायाँ हरियाली, आकर्षक टायलसहितको व्यवस्थित फुटपाथ जहाँ दृष्टिविहीन र ह्विलचियरमा गुड्नुपर्नेसम्मले निर्बाध यात्रा गर्न सकून्!

काठमाडौं महानगरपालिकाले राजधानीबासीलाई यस्तै 'नमुना सहर' को सपना देखाउँदै काम अगाडि बढायो तर फुटपाथमा ओछ्याइएका टायल निर्माणसम्पन्न नहुँदै धमाधम फुट्न थालेका छन्। निर्माण सामग्री असरल्ल छाडिँदा दुर्घटनाको जोखिम उत्तिकै छ।

महानगरले लैनचौर, जमल, कमलादी, प्रदर्शनीमार्ग, सिंहदरबार, त्रिपुरेश्वर, टुँडिखेल, भद्रकालीलगायत स्थानमा अपांगमैत्री फुटपाथ बनाउने योजनामा काम थालेको थियो। कतिपय स्थानमा ओछ्याइएका टक टायल फुट्न र उप्किन थालेका छन् भने कंक्रिट टायलको हालत पनि उस्तै छ।

टायल फुटेर खाल्डो परेकै कारण अपांगमैत्री भनिएको फुटपाथमा उनीहरू सुरक्षित महसुस गर्न सकिरहेका छैनन्। कतिपय स्थानमा टायल लेबल नमिलाई राखिएकाले समस्या भएको उनीहरू बताउँछन्।

'टायल मिलेको ठाउँमा त लट्ठी बगाएर हिँड्दा सजिलो हुन्छ,' नवनिर्मित फुटपाथ भएर सहिदगेटमा हिँडिरहेका एक दृष्टिविहीनले भने, 'टायलको लेबल नमिलेको र फुटेको ठाउँमा गएर लट्ठी अड्किँदा लडिने सम्भावना रहन्छ, लट्ठी ठोक्किएर  पेटमा धसिन पुग्छ।' टायल मिलेको ठाउँमा हिँड्न भने निकै सहज रहेको उनले बताए।

काठमाडौं दिगो सहर यातायात आयोजनाको सहयोगमा काठमाडौं महानगरपालिकाले करिब १० करोड रुपैयाँ लागतमा नमुना परियोजनाका रूपमा करिब १० किलोमिटर फुटपाथ अपांगमैत्री बनाउन लागेको हो।

फुटपाथमा लामो समय निर्माण सामग्री असरल्ल छोडिँदा अपांगता भएकाले मात्र होइन, अन्य सर्वसाधारण पैदलयात्रीले पनि सास्ती खेप्नुपर्‍यो। अहिले फुटपाथ निर्माण करिब ९० प्रतिशत सकिइसके पनि बाँकी १० प्रतिशत स्थानमा त्यो जोखिम कायमै छ। रेलिङ हाल्न ल्याइएका सामग्री असरल्ल छाडिएका छन्।

'हामीले परियोजनाअन्तर्गत ४–५ वटा काम गरिरहेका छौं,' आयोजनाप्रमुख दीपक श्रेष्ठले भने, 'फुटपाथ जिम्मा महानगरलाई दिएका छौं जसमा २८ प्रतिशत सरकार र बाँकी २८ प्रतिशत एसियाली विकास बैंकको लगानी छ।'

महागरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्की ठेकेदार कम्पनीले गुणस्तरीय टायल नराख्दा र निर्माणक्रममा लापरबाही अपनाउँदा फुटपाथ बिग्रिएको हुन सक्ने बताउँछन्।

'अहिले बनेको फुटपाथले सहरको सुन्दरता बढाउँछ तर गुणस्तरीय सामग्री प्रयोग नभए काम गर्नुको अर्थ रहन्न,' उनले भने, 'टायल फुटेको तथा लेबल नमिलेको गुनासो आएका छन् तर निर्माणसम्पन्न भएपछि पनि एक वर्षसम्म मर्मत गर्ने जिम्मा ठेकेदार कम्पनीकै हुन्छ।' चाँडै फुटपाथ अनुगमन गरी प्रयोग भएका सामग्री र निर्माणशैली मापदण्डअनुरुप नरहे ठेकेदारलाई पुनः बनाउन लगाइने उनले बताए।

फुटपाथ लुम्बिनी, रमन जेभी कन्ट्रक्सन कम्पनीले निर्माण गरिरहेको हो। उक्त कम्पनीले टेकुस्थित सम्पदामार्ग पनि निर्माण गरिरहेको छ। महानगरका अनुसार उक्त कम्पनीले फुटपाथ र सम्पदामार्ग २२ करोड रुपैयाँमा ठेक्का लिएको छ।

निर्माण सम्पन्न नै नभई फुटपाथ बिग्रनुमा ठेकेदार र महानगर दुवैको चरम कमजोरी रहेको स्रोतले जनाएको छ।  ठेकेदार कम्पनीले भने परियोजनाले नै गुणस्तर जाँच गरेर उपयुक्त ठहर्‍याएका टायल प्रयोग गरिएको दाबी गर्छ। कम्पनीका अनुसार फुटपाथमा प्रयोग गरिएको टक टायलको मूल्य प्रतिगोटा ५५ देखि ६० रुपैयाँसम्म पर्छ।

ठेकेदार कम्पनी आफैं पनि केही ठाउँमा टायल फुटेको, सरेको तथा लेबल नमिलेको स्विकार्छ। 'नेपालमा यस्तो फुटपाथ पहिलोपटक बनेको हो। दक्ष कामदार अभावमा भनेजस्तो हुन पाएन,' ठेकेदार कम्पनीका प्रोजेक्ट म्यानेजर सुकबहादुर तामाङले भने, 'टायल राख्दा तलपट्टिको स्तर नमिल्दा, राखेकै बेलामा व्यक्ति हिँडिदिँदा वा मोटरसाइकल लगायत सवारी गुडाएका कारण फुटेको हो।' तामाङका अनुसार सामग्री गुणस्तरीय नै हाले पनि निर्माणक्रममा भएको कमजोरीले टायल फुटेको हो।

'अबको केही समयमै फुटपाथको काम पूरै सक्छौंं,' उनले भने, 'काम सकेपछि एक वर्षसम्म हामीले नै हेर्ने हुँदा फुटेको, लेबल नमिलेको र सरेको ठाउँमा पनि एक वर्षसम्म मिलाउने तथा मर्मत गर्नेछौं।'

एक वर्षपछि फुटपाथको सम्पूर्ण जिम्मेवारी महानगरमा आउनेछ। एक वर्षभित्र फुट्नेजति टायल मर्मत गरिसकिने भएकाले त्यसपछि फुटपाथ दिगो हुने ठेकेदार कम्पनीले बताइरँदा महानगरकै एक स्रोत भने कमसल सामग्री प्रयोग भएको दाबी गर्दै फुटपाथ टिक्नेमा आशंका दर्साउँछ। 'गुणस्तरीय टायल नहालेकाले एकपछि अर्को गरेर बिग्रिँदै जाने निश्चित छ,' स्रोतले भन्यो, 'एक वर्षसम्म त कम्पनीले बनाउँछ, त्यसपछि कस्ले बनाउने?, एक वर्षका लागि मात्रै हो भने किन यति धेरै रकम खर्च गरेर बनाउनुपर्‍यो?'

महानगर कार्यालयदेखि सुन्धाराचोक नपुग्दै सिटिसी मलअगाडिसम्म करिब ३४ सय मिटर दुरीमा आधा दर्जन स्थान गरी दर्जनभन्दा बढी टायल फुटेका छन्। ठेकेदार कम्पनीले फुटपाथ ठेक्का पाएदेखि नै निर्माणमा ढिलाइ र निर्माण सामग्री जथाभाबी राखेर लापरबाही गर्दै आएको छ।

२०१४ अगस्टबाट डेढ वर्षसम्म सक्ने सम्झौता भए पनि भूकम्प र नाकाबन्दीले अवरोध गरेपछि ०१६ सेप्टेम्बरसम्म समय थपिएको तामाङले बताए। 'पहिले तोकिएभन्दा केही ठाउँ र डिजाइनलगायत परिवर्तन भएकाले काम ढिला हुन सक्छ,' उनले भने, 'समयमै काम नसकिए पुनः समय थपिनेछ।' महानगरले भने सेप्टेम्बरसम्म काम नसके कम्पनीलाई हर्जना तिराइने जनाएको छ।

प्रकाशित: २४ असार २०७३ ०२:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App