७ वैशाख २०८१ शुक्रबार
राजनीति

जलविद्युतकाे उद्घाटन गर्दै प्रधानमन्त्रीले भने– 'वैशाखभित्रै चुनाव हुन्छ'

फाइल तस्बिर

पाँचथर– प्रधानमन्त्री पुष्पकमल दाहालले तीन प्रमुख राजनीतिक दलबीच अनौपचारिक रुपमा सहमति बनिसकेकाले अब जसरी पनि वैशाखभित्रमा स्थानीय तहको निर्वाचन हुने बताएका छन्।

पाँचथरको याङनाम र नागिनको सीमाना भएर बग्ने ‘हेवा खोला’ जलविद्युत् परियोजना ‘ए’ को बुधबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

'मङ्गलबार बेलुका र बुधबार बिहान मात्रै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)काअध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरिसकेको छु, अब चाँडै असमझदारीका विषयमा सहमति गरेर वैशाखभित्रमा स्थानीय तहको निर्वाचन गर्ने छौँ ,' उनले भने।

उनले अब संविधान आइसकेको हुँदा अब मुलक समृद्धितर्फ लम्कने बेला आइसकेको बताए। उनले मुलुकलाई समृद्धितर्फ अघि बढाउन ऊर्जा क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै यो क्षेत्रमा लाग्न सबै सरोकारवालालाई आग्रह गरे।

अब सरकारले साना लघुजलविद्युत् परियोजना मात्रै नभएर अब जलाशययुक्त ठाउँ पहिचान गरी त्यस्ता नदीबाट बिजुली उत्पादन गरी मुलुकलाई समृद्ध बनाउने लक्ष्यका साथ अघि बढेको बताए।

यस्तै कार्यक्रममा बोल्दै ऊर्जामन्त्री जनार्दन शर्माले काम गर्ने शैली परिवर्तन गर्दै नयाँ तौरतरिकाबाट मुलकलाई समृद्धितर्फ अघि बढाउन सकिने धारणा राखे।

मन्त्री शर्माले नीति निर्माण गर्ने बेलामा आफू तार काट्दै हिँड्नु पर्ने बेला आएको भन्दै उनले झिनामसिना काम नगरी ठूला काम गर्न नसकिने बताए।

यस्तै उनले तमोर जलाशयलाई अघि बढाउन सके यस प्रदेशका जनताका जीवनस्तर उकासिने मात्रै नभएर मुलक नै समृद्ध बन्ने भएकाले यसका लागि सरकारले ऋण लिएर भए पनि तमोर जलाशयलाई अघि बढाउने बताए।

कार्यक्रममा पूर्व सभामुख सुवास नेम्बाङ, स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगु, उद्योग वाणिज्य हकहित समृद्ध समिति सभापति भीष्मराज आङ्देम्बेले मन्तव्य व्यक्त गरेका थिए। रासस

प्रकाशित: ४ फाल्गुन २०७३ ११:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App