६ वैशाख २०८१ बिहीबार
समाज

माडीबाट टाढिँदै दाहाल

चितवन- चितवनको माडी र माओवादीबीच विशेष सम्बन्ध छ। माडीसँग माओवादीको राजनीतिक जीवन मात्रै जोडिएको छैन सशस्त्र संघर्षका बेला सबैभन्दा दुःखद घटना पनि सोही ठाउँमा भएको थियो। २०६२ साल जेठमा यात्रुबस ताकेर तत्कालीन विद्रोही माओवादीले विस्फोट गराउँदा ३८ जनाको घटनास्थलमै ज्यान गएको थियो। उक्त घटना माओवादी युद्धकालकै सबैभन्दा निन्दनीय मानिन्छ।

 घटनालगत्तै विज्ञप्तिमार्फत क्षमा मागेका माओवादीका सर्वोच्च नेता पुष्पकमल दाहालले अनुकूल समयमा माडीमै गएर पीडितसँग माफी माग्ने बाचा गरेका थिए। दाहालले त्यो बाचा अझै पूरा गरेका छैनन्। दोस्रोपटक प्रधानमन्त्री भएपछि रिबन काट्नेजस्ता कार्यक्रममा नजाने बताएका प्रधानमन्त्री दाहाल त्यस्तै खालका कार्यक्रममा भाग लिन चारपटक चितवन आइसकेका छन्।

२०६२ को माडी घटनालगत्तै क्षमा मागेका माओवादी अध्यक्ष पुष्पकमल दाहालले अनुकूल समयमा माडीमै गएर पीडितसँग माफी माग्ने बाचा गरेका थिए। दोस्रोपटक प्रधानमन्त्री भएपछि दाहाल चारपटक चितवन आइसकेका छन्। तर माडी पुगेका छैनन्।

चितवन आउँदा सदरमुकामबाहिरका कार्यक्रममा पनि जाने गरेका प्रधानमन्त्री दाहालले माडी भने सम्झनै चाहँदैनन्। पछिल्लोपटक माघ २६ गते चितवन आएका बेला उनले जिल्लाको विकासका लागि भन्दै करोडौं लागतमा बन्ने योजनाको प्याकेज घोषणा गरे। माडीका लागि केही खास योजना सार्वजनिक होला कि भन्ने आसमा बसेकाहरूलाई निराश पार्दै उनले एउटामात्रै योजना सुनाए।

उनले खैरनी शीतलपुरमा एकता स्तम्भ निर्माण  गर्ने घोषणा गरेका छन्। माडीको शीतलपुरमा २०४८ पुसमा तत्कालीन कम्युनिस्ट पार्टीहरू दाहाल नेतृत्वको नेकपा (मशाल), नेकपा (चौम), सर्वहारावादी श्रमिक संगठन लगायतका घटकको एकता महाधिवेशन भएर नेकपा (एकता केन्द्र) निर्माण भएको थियो। महाधिवेशनमा दाहाल महामन्त्री बनेका थिए।

 त्यसैको सम्झनामा एकतास्तम्भ बनाउन खोजेको स्थानीयको बुझाइ छ। 'माडीमा आवश्यकता अरू नै छन्। जनताको मर्का बुझेर पूर्वाधार निर्माणका योजना बनाउन सकेको देखिएन', बाँदरमुढे घटनापीडित समितिका उपाध्यक्ष कृष्ण अधिकारीले भने। सशस्त्र संघर्षको सबैभन्दा दुःखद घटना भनेर आफैंले स्वीकार गरेको घटनाका पीडितलाई त दाहालले वास्तै नगरेको उनले बताए।

 माडी वन्यजन्तु आक्रमणबाट धेरै आक्रान्त क्षेत्र हो। चितवन निकुञ्जसँग जोडिएका ११ नगरपालिका र आठ गाविसमध्ये माडी नगरपालिकामा वन्यजन्तु आक्रमणबाट ज्यान गुमाउने बढी छन्। वन्यजन्तु आक्रमणबाट पछिल्ला १७ वर्षमा यी क्षेत्रमा एक सय ५६ जनाले ज्यान गुमाएकोमा माडी नगरपालिकाका मात्रै ५० जना रहेको चितवन निकुञ्ज कार्यालयको तथ्यांक छ।

 यसलाई रोक्न प्रधानमन्त्रीबाट केही योजना आउँछ कि भन्ने स्थानीयको आशा पनि पूरा भएन। बरु भरतपुर उपमहानगरपालिकाभित्र पर्ने पटिहानीदेखि केसरबागसम्म वन्यजन्तु रोक्न तारजालीसहितको १० किलोमिटर छेकबार बनाउने योजना प्रधानमन्त्रीले घोषणा गरेको प्याकेजमा परेको छ।

 प्रधानमन्त्रीले घोषणा गरेको प्याकेज जिल्ला विकास समिति, सडक, वन, शिक्षाजस्ता सरकारी निकायको समन्वयमा आएको नेकपा माओवादी केन्द्रका चितवन संयोजक यमबहादुर परियार बताउँछन्। 'माडीका लागि केही योजना थप गर्नुपर्छ भन्ने सुझाव हामीले दिएका छौं', परियारले भने। माडीको वसन्तपुरमा ५० शऒ्ढयाको अस्पताल बनाउन आवश्यक भएको उनले बनाए।

 'वसन्तपुरमा अस्पताल आवश्यक हो। यसका साथै रेवाखोला तटबन्धन र अन्य केही सडक योजना थप्नुपर्छे' परियारले भने।  बाँदरमुढे घटनापछि दाहाल २०६९ साल फागुन १७ गते माडी महोत्सव उद्घाटन गर्न हेलिकोप्टर चढेर आएका थिए। त्यो बेला बाँदरमुढे घटनाका पीडितलाई सरकारले ६० लाख रुपैयाँ राहत दिने बताएका थिए।

 तर सो घोषणा कार्यन्वयमा आएन। ६३ साल कात्तिक ३ गते दाहाल, बाबुराम भट्टराई र रामबहादुर थापा बादलसहितका नेताहरूको टोलीले बाँदरमुढे घटनाका पीडितसँग भरतपुर नजिकको गाउँ फूलबारीमा भेटघाट गरेको थियो। भेटमा नेताहरूले राहत प्याकेजसहित माफी माग्न चाँडै माडी आउने प्रतिबद्धता गरेका थिए।

 प्रतिबद्धताअनुसार दाहाल ६३ चैत  १५ गते माडी आउने कार्यक्रम तय भएको थियो। गौरमा माओवादी कार्यकर्ताको हत्या भएपछि दाहालको कार्यक्रम स्थगित भएको थियो। त्यस्तै २०६४  असार ९ गते आउने कार्यक्रम पनि रद्द भएको थियो। फूलबारीमा गरेको प्रतिबद्धता अझै पूरा नगरेका दाहाल माडीबाट टाढिँदै गएका छन्।

 चितवन दाहालको गृहजिल्ला हो। पटकपटक जिल्ला आएर यहाँका अरू ठाउँका कार्यक्रममा सहभागी भइरहने तर माडी कहिले जाने भनेर माघ २६ गते भरतपु विमान स्थलमा सोध्दा प्रधानमन्त्री दाहालको जबाफ थियो, 'एकचोटि म जान्छु, छिट्टै जान्छु। तर आजचाहिँ होइन।'

प्रकाशित: ४ फाल्गुन २०७३ ०६:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App