८ वैशाख २०८१ शनिबार
अर्थ

दोस्रो अन्तर्राष्ट्रिय उद्यमी व्यापार मेला सुरु

काठमाडौं- उपराष्ट्रपति नन्दकिशोर पुनले समृद्ध नेपालको परिकल्पना महिला सहभागिताबिना सार्थक नहुने बताएका छन्। समृद्ध नेपालका लागि हरेक क्षेत्रमा महिलाका सहभागिता आवश्यक रहेको भन्दै संविधान कार्यन्वयन समेत महिला सहभागिताबिना पूरा नहुने धारणा राखेका हुन्। 

नेपाल उद्यमी महिला महासंघले आयोजना गरेको दोस्रो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलामा उपराष्ट्रपति पुनले नेपालको हरेक क्षेत्रमा महिलाको पहुँच नपुगेसम्म समृद्ध नेपालको परिकल्पना अधुरै रहने बताए। उनले नेपाल पितृसत्तात्मक देश भएका कारण अझै पनि महिलाप्रति हेर्ने दृष्टिकोण पूर्ण रुपमा परिवर्तन भई नसकेकाले महिलाका संघ–संस्था सचेत हुनुपर्नेमा जोड दिए। 

उनले महिलाका सीप, कला, उद्यमी क्षमताको प्रवर्द्धनका लागि सरकारले कन्जुस्याइँ गर्न नहुने समेत बताए। महिलासँग अथाह सीप क्षमता भएका कारण उनीहरुको सीप विकास र प्रवर्द्धनमा राज्यले नै सहयोग गर्नुपर्ने उपराष्ट्रपतिको धारणा थियो। 

स्थानीयदेखि केन्द्र तहसम्मका उद्यमी महिलाको उत्पादनको बजार प्रवर्द्धन स्वदेशमा मात्रै नभएर अन्तर्राष्ट्रिय स्तरम ागर्न कानुनी व्यवधान हुन नहुने उपराष्ट्रपति पुनले औंल्याए।

उद्यमी महिला महासंघका अध्यक्ष भवानी राणाले महिला उद्यमीले उत्पादन गरेको वस्तुको व्यापार प्रवर्द्धन गर्न मेला आयोजना गरेको भन्दै सार्क राष्ट्रका महिला उद्यमीसँगै फिलिपिन्सबाट समेत उद्यमी मेलामा सहभागी भएको बताए। उनले भनिन्, 'महिलाहरु पनि सक्षम छन् भनेर देखाउने उद्देश्यसँगै उद्यमशीलताको जागरणले हामी दोस्रो अन्तर्राष्ट्रिय महिला उद्यमी मेलासम्म आएका छौं। 

उनका अनुसार भारत, चीन, पाकिस्तान, अफगानिस्तान, भुटान, फिलिपिन्सबाट महिला उद्यमीले आफ्नो सीपको प्रवर्द्धन मेलामा स्टल राखेका छन्। 

महासंघकी प्रथम उपाध्यक्ष शारदा रिजालले महिलाले उत्पादन गरेका वस्तुको बजार प्रवर्द्धन गर्न मेला आयोजना गरेको बताइन्। 'यसबाट विभिन्न क्षेत्रका महिलाको आर्थिक सुधार हुनेछ,' उनले भनिन्।  
मंगलबार सुरु मेला ७ गतेसम्म चल्ने छ। मेलामा स्वदेशी सहित विदेशी महिला उद्यमीका एक सयभन्दा बढी स्टल छन्। मेला आयोजनामा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, अन्तर्राष्ट्रिय श्रम संगठन लगायतको सहयोग छ। 

मेलामा हस्तकला, पहिरन, कृषि उत्पादन, आइटी, शैक्षिक सामग्रीका स्टल छन्। अर्गानिक उत्पादन, बिजुली बत्तीका सामान, खानाका परिकार, सजावटका सामान, पस्मिनाको पनि स्टल छ। 

प्रकाशित: ४ फाल्गुन २०७३ ०४:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App