coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

नीरस खेलमा नवलपरासीलाई उपाधि

भैरहवा- नवलपरासीले मणिमुकुन्द रनिङ कप पश्चिमाञ्चल क्षेत्रीय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ। मंगलबार भैरहवामा भएको खेलमा नवलपरासीले आयोजक रूपन्देहीलाई सोझो सेटमा ३–० ले हरायो। नवलपरासीले रूपन्देहीलाई २७–२५, २५–१५, २५–१९ ले पराजित गर्‍यो।

नवलपरासी गत वर्ष प्रतियोगिताको फाइनलमा स्याङ्जासँग ३–२ को सेटमा पराजित भएको थियो। तर यस पटक नवलपरासीले स्याङ्जालाई ३–१ को सेटमा हराउँदै फाइनलमा पुगेको थियो।

नवलपरासीका प्रशिक्षक रमेश कर्माचार्यले फाइनल खेल सोचेअनुसार प्रतिस्पर्धात्मक नभएको बताए। उनले भने, 'स्याङ्जा क्षेत्रीय स्तरमा बलियो टोली हो। पश्चिमाञ्चलको नम्बर एक टोली हो। स्याङ्जाका धेरै खेलाडीले पश्चिमाञ्चल टोलीबाट खेल्ने गरेका छन्। तर हामीले सेमिफाइनलमा उनीहरूलाई हराएपछि उपाधि जित्नेमा विश्वस्त थियौँ।’

नवलपरासी टोलीमा युवा स्पाइकरले पछिल्लो समय राम्रो खेलिरहेको प्रशिक्षक कर्माचार्यले बताए। उनले थपे,  'हाम्रो टोलीका खेलाडीले पश्चिमाञ्चलको प्रतिनिधित्व गर्दै राष्ट्रिय स्तरको प्रतियोगिता पनि खेलिसकेका छन्। अधिकांश युवा खेलाडी छन्। उनीहरूलाई अवसरको खाँचो छ। अवसर पाए राष्ट्रिय टोलीमा पनि उनीहरूले स्थान बनाउन सक्छन्।’

प्रतियोगिताको उत्कृष्ट खेलाडी नवलपरासीका घनश्याम चौधरी र उत्कृष्ट सर्भर रामनारायण महतोले पश्चिमाञ्चल टोलीबाट सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता खेलेका थिए। २१ वर्षे स्पाइकर घनश्यामले टोलीले गत वर्षको हारबाट पाठ सिक्दै उपाधि जित्न मेहनत गरेको बताए।

मणिमुकुन्द भलिबल क्लबले आयोजना गरेको प्रतियोगिता विजेता नवलपरासीका घनश्याम चौधरी उत्कृष्ट खेलाडीबाट पुरस्कृत हुँदा गुल्मीका दीपेन्द्र श्रेष्ठ उत्कृष्ट स्पाइकर, रूपन्देहीका लोकेन्द्र भण्डारी उत्कृष्ट सेटर, नवलपरासीका रामनारायण महतो उत्कृष्ट सर्भर, रूपन्देहीका सुरेन्द्र गुरुङ उत्कृष्ट डिफेन्स र रूपन्देहीका राजु बिक उत्कृष्ट ब्लकरबाट पुरस्कृत भए। प्रतियोगिताका विजयी खेलाडीलाई नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्के, पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघका उपाध्यक्ष विष्णुकुमार श्रेष्ठलगायतले पुरस्कृत गरेका थिए। नेपाल भलिबल संघकी उपाध्यक्ष मास्केले क्षेत्रीय स्तरको प्रतियोगिताले नेपाली भलिबलको विकासमा सहयोग गर्ने बताइन्। उनले भनिन्, 'भलिबल नेपालको लोकप्रिय खेल हो। क्षेत्रीय स्तरको प्रतियोगिता भए पनि दर्शकको उपस्थितिले भलिबल कति लोकप्रिय छ भन्ने प्रमाणित गरेको छ।’ मास्केले थपिन्, 'प्रतियोगिता गर्न सहज छैन। तर स्तरीय प्रतियोगिता गर्ने प्रयास गर्नुभएको छ। संघले सक्दो सहयोग गर्नेछ। क्षेत्रीय स्तरको प्रतियोगिताले स्थानीय खेलाडीलाई क्षमता देखाउने अवसर दिएको छ। यसले घरेलु भलिबलको विकासमा पनि योगदान दिन्छ।’

चार दिनसम्म चलेको प्रतियोगितामा पश्चिमाञ्चलका ८ जिल्लाहरू नवलपरासी, रुपन्देही, गुल्मी, स्याङ्जा, तनहुँ, कास्की, बागलुङ र पाल्पाले प्रतिस्पर्र्धा गरेका थिए। प्रतियोगिताका विजेताले ८० हजार, उपविजेता ५० र तेस्रो भएको गुल्मी टोलीले ले ३० हजार रुपियाँ प्राप्त गरे।

 

प्रकाशित: ४ फाल्गुन २०७३ ०४:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App