८ वैशाख २०८१ शनिबार
समाज

प्रेम गर्न कुनै विशेष दिन चाहिँदैन

काठमाडौं- सविता डंगोल र इसान परियार फाइन आर्ट पढ्दापढ्दै प्रेममा परे। 'मास्टर्स पास गरेपछि ऊसँग बिहे गर्छु भनेर घरमा भने,’ सविता भन्छिन्, 'पहिले त दलितसँग बिहे गरेको भनेर अचम्म माने। अनि, उल्टै मलाई समाजबारे सम्झाए।’

पछि इशान सक्षम भएकाले अप्ठेरो नपर्ने सम्झाएपछि सविताको घरपरिवार बिहे गर्न राजी भयो।

इशान बेलाबेला सबिताको घर गइरहन्थे। त्यसैले पनि अन्तर्जातीय नै भए पनि छोरीलाई खुसी राख्छ भन्ने आशा सबिताका आमाबुबामा पलायो।

इशानको परिवारले पनि यो विवाहलाई त्यति निको मानेको थिएन, नेवारकी छोरी धेरै छोइछिटो हुन सक्छ भनेर। तर, इशानले सविता नै आफ्नो रोजाइ भएको भनेर सम्झाए। दुई परिवारबीच कुरा मिलेपछि उनीहरूको बिहे भयो।

नेवार समुदायमा अलिक बढी धार्मिक प्रवृत्ति हुन्छ। अझ गुठीको सदस्य रहेकाले निकै छोइछिटो, जातभात मान्छन्। सबिताले गुठी छाडेकाले सजिलो भयो। 'गुठियारहरू निकै धर्मभीरु हुन्छन्। मैले गुठी नछाडेको भए सायद हाम्रो बिहे हुन्नथ्यो कि?' सविताले आशंका पोख्छिन्, 'तर उनको साथ म छाड्नेवाला थिइन।'

सारा बर्नहार्डको भनाइ छ, 'तिमी सोध्छौ, म तिमीलाई कति माया गर्छु भनेर? लौ सुन, मेरो आत्मा जति गहिराइ, चौडाइ र उचाइसम्म पुग्न सक्छ, म तिमीलाई त्यति नै माया गर्छु।’ यी दुई प्रेमगाथाले यस्तै भावना व्यक्त गर्छन्।

कर्मले जोडिएका यी जोडीको एक वर्ष प्रेमिल बित्यो। जसको अवसरमा उनीहरुले आफ्नो प्रेम चित्रभरि पोखे। दुवैले सांकेतिक विम्बमार्फत प्रेम र संघर्षका कथा समेटिएको कला केही दिनअघि कला परिषद्मा प्रदर्शन गरे।

'प्रेम गर्न भ्यालेन्टाइन डे नै चाहिन्छ भन्ने छैन,' इशान भन्छन्, 'हाम्रो एक वर्षको स्मरण त्यसअघि र पछि पनि सिर्जनाबाटै मौलाउनेछन्।'

०००

रोय क्रफ्टले लेखेका छन्, 'तिमी जे छौ, त्यसका लागि मैले तिमीलाई असाध्यै प्रेम गरेको होइन, बरू म तिमीसँग हुँदा जे हुन्छु, त्यसका लागि तिमीलाई प्रेम गरेको हुँ।’

उनले भनेझैँ यस्तै प्रेममा रमाएका अर्का जोडी हुन्– पवित्रा घिमिरे र बालकृष्ण घिमिरे। बालकृष्ण अपांगता भएका व्यक्ति हुन्। पोलियोका कारण उनका दुवै खुट्टा कमजोर भए। उमेर बढ्दै गएपछि उनलाई घरमा बोझ भएर बस्न मन लागेन। राजधानीको भीडभाडमा मिसिए। मानिससँग हेलमेल गर्दै जाँदा राम्रो काम पाए। आफन्तले उनको बिहे गरिदिने प्रयास गरे। र, उनी पवित्राको हात माग्न गए।

'दिदी र आफन्त आउनुभएको थियो,' पवित्राले पुराना दिन सम्भि्कइन्, 'अपांग छन् भन्ने सुनेपछि बुबा निकै रिसाउनुभयो झगडै पर्‍यो। तर आमा र दाइले जागिर भएको मान्छे भनेर दिन मन्जुर गरे।'

खुट्टा नचले पनि अरु अंग राम्रै थियो। पवित्रा भने अल्लारे उमेरकी। घरपरिवारको सहमतिमा बिहे भयो।

'त्यस्तो अपांगसँग तैंले घर गरेर खान्नस् भनेर मान्छेले धेरै भने,' उनी भन्छिन्, 'तर मलाई केही थाहा थिएन, कपाल कोरिदिने, कपडा यसरी लाउने भनेर पनि उहाँले नै सिकाउनुहुन्थ्यो।'

बिहे गरेको एक वर्षमै छोराकी आमा बनिन् पवित्रा। तर घरको सबै जिम्मेवारी उनले भन्दा बढी बालकृष्णले पूरा गर्थे। बाहिरको काम, घरको काम सबै भ्याउँथे। ह्विलचियरमै गुडेर बजार, अफिस र घर भ्याउँथे। पछि काम गर्न सकेन भनेर कामबाट निकालिएपछि भने उनीहरू अप्ठेरोमा परे। त्यतिखेर दोस्रो छोरा जन्मिसकेको थियो। बल्ल पवित्रा घरपरिवार, समाज बुझ्ने भइन्।

'माया नलाग्ने भए मान्छेहरूले भनेजस्तै म छाडेर जान्थे होला तर सक्दिनँ यही मायाले म अल्भि्कएको छु,' उनले भनिन्।

बालकृष्ण पनि समझदारी र इमानदारपन जोडीमा हुनु आवश्यक ठान्छन्। बिहे गरेर घरजम होला, कसैको माया पाउँला भन्ने आशा निकै कम थियो बालकृष्णलाई। जब पवित्राको साथ पाए, उनको संसार उज्यालियो। शारीरिक अस्वस्थताले उनलाई सताउँदा कहिलेकाहीँ पवित्राले छाडेर जान्छिन् कि भन्ने शंकाले निकै सताउँछ। 'उनी काम गर्न चाहन्छिन् तर बाहिर कतै नडुलेकी उनी अरुका कुरा सुनेर बरालिन्छिन् कि भन्ने चिन्ता भने लाग्छ,' घिमिरे भन्छन्, 'नत्र उनको इच्छा जे भन्छिन् त्यही गर भन्छु।’

जेठो छोरा कक्षा ८ र कान्छो ३ मा पढ्छन्। बालकृष्ण घरमै हस्तकलाका सामान बनाउँछन् र बजारतिर लगेर बेच्छन्। त्यसैको कमाइले घर चल्छ। प्रेसर नाप्ने, तौल जोख्ने पनि गर्छन्। एकअर्काको विश्वास नहुँदा, शंका बढ्दा अनि मोबाइल, इन्टरनेट र फेसबुकको बढी प्रयोगले अचेलका प्रेम सम्बन्ध टुट्ने गरेको आशंका घिमिरे दम्पती व्यक्त गर्छन्।

खुला प्रेमले ल्याएका निराशा

०७२ सालमा नुवाकोटका जीवन विकले रामेछापकी एक युवतीलाई फेसबुकमार्फत साथी बनाए। आफू ब्रिटिस लाहुरे भएको भन्दै युवतीलाई प्रमजालमा पारे। बीचमा समस्या परेको भन्दै चार लाख रुपैयाँ सापटी मागे। युवतीले लाहुरे त्यसमाथि आफ्नै प्रेमी भएपछि फिर्ता आउने आशमा पैसा दिइन्। तर, त्यसको केही दिनमै जीवन सम्पर्कविहीन भए।

फेरि झापाकी अर्की केटीसँग उनले त्यसैगरी सम्बन्ध राखे। पैसा मागे। नुवाकोट, कास्की, काठमाडौंसहितका विभिन्न स्थानका सात युवतीलाई प्रेमजालमा पारे। करिब एक वर्षभित्र उनले २९ लाख ५५ हजार रकम प्रेमजालमा पारेका युवतीबाट ठगी गरे। जब उनी हराए, तब ठगीमा परेको महसुस ति युवतीहरूले गरे। ठगीको आरोपमा काठमाडौंमा गत वर्ष चैतमा मुद्दा परेपछि उनी समातिए। अहिले उनी जेल परेको टेकु प्रहरीले जनायो।

०००

काठमाडौं सामाखुसीका ३८ वर्षीय विनय मानन्धरले प्रेममा धोका पाएपछि झुन्डिएर आत्महत्या गरे। आफूले मन पराएकी युवतीको अर्कोसँग बिहे भएपछि उनी निराश भएर सुसाइड नोट लेखेरै झुन्डिएका थिए।

०७१ जेठमा धनुषाका रामउदय यादवले जनकपुर क्याम्पस चोकस्थित आफ्नी प्रेमिकाको घरमै पासो लगाएर आत्महत्या गरे। त्यो घरकी युवतीको प्रेमजालमा परेका उनले आफ्नो प्रेम सफल हुने नदेखेपछि उनकै घरमा प्राण त्याग गरेका थिए।

करिब १५ दिनअघि राजधानीको सेन्टमेरिज स्कुलकी एक युवती र जेम्स स्कुलका एक युवकले एकाध दिनको फरकमा आत्महत्या गरे। उनीहरूको आत्महत्याको ठोस कारण नखुले पनि प्रेम र धोका एक कारण रहेको अनुमान अनुसन्धान गरिरहेका प्रहरी बताउँछन्।

०००

यही माघ २३ गते आइतबार बुटवलको एक होटलमा धादिङ नौबिसेका सुनील कोइरालाले नवलपरासी गैंडाकोटकी तुलसा सापकोटालाई एसिड प्रहार गरी हत्या गरे।

रोजगारीको सिलसिलामा कुवेत पुगेका सुनीलसँग फेसबुकबाटै साढे तीन वर्षअघि तुलसासित प्रेम भएको बयान कोइरालाले प्रहरी सामु दिएका छन्। बीचमा कोइरालाले अर्कै केटीसँग बिहे गरेपछि तुलसा उनीबाट टाढिन खोजिन्। त्यही सहन नसकी भेट्न बोलाएर तुलसालाई होटलमा पुर्‍याएका थिए, सुनिलले। कुरा नमिलेपछि एसिडकाण्ड घटाएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

दुई वर्षअघि राजधानीमै संगीता थापा र उनकी साथीलाई एसिड हान्ने जीवन विक पनि प्रेममै  थिए। आफ्नो प्रेम अस्वीकार गरेको झोंकमा उनले कलेजको कक्षामै पुगेर संगितामाथि एसिड छ्यापेका बताएका थिए।

खुला प्रेमको संस्कृतितर्फ उन्मुख नेपाली समाजमा यस्ता घटना बढ्दो छ। अझ तीव्र विकास भएर सबैका हातहातमा पुगेको सामाजिक सञ्जालले यस्ता घटना बढाउन प्रोत्साहन गरेको नेपाल प्रहरीका सहप्रवक्ता ठाकुरप्रसाद ज्ञवाली बताउँछन्। सामाजिक सञ्जालको गलत उपयोगले निराशाका घटना बढेको उनको भनाइ छ।

यस्तै, पति विदेश भएका बेला पत्नी परपुरुषसँगको सम्बन्धमा पर्ने, फस्ने घटना पनि बढ्दो छ। यस्ता पत्नीहरु पतिले पठाएको पैसासहित अर्कोसँग भाग्ने, पति वा पत्नी साथमा हुँदाहुँदै पनि सामाजिक सञ्जालका कारण अन्यको प्रेममा पर्ने जस्ता घटना बढ्दै गएको महानगरीय प्रहरी परिसर टेकुका गुनासो सुन्ने अधिकृत प्रद्युम्न कार्की बताउँछन्।

। 'प्रेम परिवार र समाजलाई सुन्दर बनाउनभन्दा पनि व्यक्तिगत स्वार्थ मेट्ने साधन बन्दै गएको छ,’ उनले भने, 'यसमा सामाजिक सञ्जालले बढी भूमिका खेलिरहेको छ।’

अहिलेका टिनएजका विद्यार्थी किशोरकिशोरी समेत प्रेमको नकारात्मक जालोमा फसेको कार्की सुनाउँछन्। कसैले धोका दियो, फेसबुकमा अश्लील फोटो हालिदियो भन्नेजस्ता गुनासा आउने गरेको उनले बताए।

अझ प्रेम दिवसको आसपासमा यस्ता समस्या बढ्ने गरेको अनुभव उनको छ। प्रेम असफल हुँदा आत्महत्या गरेर जीवन फाल्ने शिक्षित वर्गको वृद्धि भएको तथ्यांक प्रहरीसँग रहेको उनले बताए। गत मंसिरमा देशभरका तीन सय २७ जनाले र पुसमा तीन सय पाँच जनाले आत्महत्या गरेको तथ्यांक छ। यीमध्ये मंसिरमा दुई सय ४७ र पुसमा दुई सय ३१ जनाले झुन्डिएर आत्महत्या गरेका हुन्। यिनमा अधिकांश प्रेम असफल भएकै कारण आत्महत्या गरेको मुद्दा छन्।

प्रहरीले सामाजिक व्यवहार सुधारका लागि स्कुल सम्पर्क कार्यक्रम सञ्चालन गरे पनि त्यसको असर नयाँ पुस्तामा देखिँदैन। 'घरमा चारजना हुन्छन् चारैजना स्मार्टफोन वा ल्यापटपमा व्यस्त हुन्छन्,’ कार्की भन्छन्, 'सामाजिक सञ्जाल नै रोक लाउन सक्दैनौँ तर अभिभावकका कुरा नसुन्ने भइसकेका केटाकेटी सुधार्न निकै गाह्रो छ।’

विश्वमा नेपाल धेरै आत्महत्या हुने मुलुकको सूचीमा नै परेको छ। सन् २०१४ मा विश्व स्वास्थ्य संगठनले गरेको 'प्रिभेन्टिङ सुसाइड अ ग्लोबल इम्पेरेटिभ' अध्ययनमा नेपाल आत्महत्या बढी गर्ने देशमध्ये आठौँ स्थानमा रहेको छ।

बेलायती सहयोग नियोग (डिफिड) र संयुक्त राष्ट्रसंघीय जनसांख्यिक कोष (युएनएफपिए)ले गरेको संयुक्त अध्ययनमा आत्महत्या नेपालको प्रमुख स्वास्थ्यजन्य समस्याका रूपमा रहेको उल्लेख गरिएको छ।

सन् २००८ र ००९ मा घटेका दुई सय ५६ आत्महत्याका घटनाको अनुसन्धानबाट आत्महत्याको प्रमुख कारणमा परिवार, वैवाहिक सम्बन्ध एवं बाह्य सम्बन्ध रहेको उल्लेख छ। जसअनुसार ३८ प्रतिशत आत्महत्या जीवनसाथी वा प्रेमी–प्रेमिकासँगको सम्बन्धका कारण हुने गरेको छ। बाँकी २४ प्रतिशत वैवाहिक सम्बन्धमा आएको चिसोपनाका कारण हुने गरेको अध्ययनको निष्कर्ष छ।

प्रकाशित: ४ फाल्गुन २०७३ ०४:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App