४ वैशाख २०८१ मंगलबार
राजनीति

अवैध आप्रवासी खोज्दै अध्यागमन

काठमाडौं- सरकारले अध्यागमन कानुनविपरीत विभिन्न आवरण र भेषमा नेपालमा बसिरहेका अवैध विदेशीको खोजी थालेको छ। गृह मन्त्रालयले काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरमा अध्यागमन अनुमतिबिना विभिन्न पेसा तथा व्यवसायमा संलग्न विदेशी नागरिक खोज्ने भएको हो।

सरकारले विदेशी नागरिकको खोजी गर्न गृह मन्त्रालयको नेतृत्वमा अध्यागमन अधिकारी र प्रहरी सहितको विशेष कार्यदल बनाउने तयारी गरेको हो। गृह मन्त्रालयले अध्यागमन नेतृत्वमा प्रहरीसहितको दस्तालाई पहिलो चरणमा काठमाडौं केन्द्रित भएर अवैध बसोबास र व्यापारमा संलग्न विदेशीको खोजी गर्न अपरेसन सुरुआतको अन्तिम तयारी गरेको हो।

'अध्यागमन कानुनको अधीनमा रही सम्भावित स्थानमा खोजी तथा पहिचानका लागि छलफल भइरहेको हो', विभागका सूचना अधिकारी कृष्णबहादुर कार्कीले नागरिकसँग भने। उनले अध्यागमनका अधिकारीले विदेशी नागरिकको बढी चहलपहल हुने क्षेत्रमा विशेष निगरानी राख्ने र शंकास्पद देखिए सोधपुछ गर्नेछन्।

नेपालले सार्कस्तरीय र अन्तर्राष्ट्रिय फोरममा अध्यागमन कानुनअनुसार अवैध बसोबास नियन्त्रण गर्ने प्रतिबद्धता जनाउँदै आएको छ। नेपालले गरेको प्रतिबद्धताअनुसार कारबाही प्रक्रिया अघि बढ्नेछ। नेपालमा युद्धग्रस्त, आतंकवादसम्बन्धी गतिविधिको केन्द्रबिन्दु रहेका र नेपालसँग कूटनीतिक सम्बन्ध समेत स्थापना नभएका देशका नागरिक पर्यटन भिसामा प्रवेश गरी यतै बस्ने गरेका छन्।

अध्यागमन सक्रिय बनाउने नीति

गृहले केही महिनाअघि पाकिस्तानमा सम्पन्न सार्कस्तरीय अध्यागमन अधिकारीको भेलामा देशभित्रका गतिविधि र अध्यागमनसम्बन्धी कार्यपत्र प्रस्तुत गरेको थियो। तत्कालीन महानिर्देशक केदारप्रसाद न्यौपाने सहभागी उक्त कार्यक्रममा नेपाल अध्यागमन कानुनका अधिकार प्रयोगमा कमजोर रहेको सार्क सदस्यको लिखित आपत्तिपछि गृहले नयाँ योजना बनाएको हो।

'देशभित्र रहेका विदेशी नागरिकका विषयमा लगत राख्ने र सोधपुछको अधिकार हामीसँग छ, सोहीअनुसार बिस्तारै यस क्षेत्रमा समेत सक्रियता बढाउनेछांै', महानिर्देशक गंगाराम गेलालले नागरिकसँग भने। उनका अनुसार नेपालमा बंगलादेशी र चिनियाँ नागरिकको संख्या अध्यामगन विपरीतका क्रियाकलापमा बढी छ।

नेपालले सन् २०१६ मा २३ देशका ६२ जना विदेशी नागरिकलाई देशनिकाला गर्‍यो। देशको अधयामन कानुनविपरीत बसोबास गरी निकालामा पर्ने जम्मा ६ जना थिए। अन्य विदेशी जघन्य तथा फौजदारी कसुरका कारण नेपालबाट सम्बन्धित देश धपाइएका थिए।

अध्यागमन विभागका अनुसार लागुऔषध, बैंकिङ कसुर, बलात्कार, जाली राहदानी र बलात्कारसम्मका घटनामा दोषी रहेका नागरिकलाई देशनिकाला गरिएको हो। विभागको तथ्यांकअनुसार यसरी देशनिकालामा पर्ने ६२ मध्ये सबैभन्दा बढी चिनियाँ १६, बंगलादेशी १३ र पाकिस्तानी ९ जना छन्।

बंगलादेशी भित्र्याउन ठूलो गिरोह सक्रिय 

बंगलादेशबाट ज्यान जोखिममा राख्दै भारतको पश्चिम बंगाल  र त्यहाँबाट खुला सिमानाको फाइदा उठाउँदै पूर्वी नेपाल र त्यहाँबाट काठमाडौंसम्म ल्याउन तीन तहमा गिरोह सक्रिय छ। दलालले नक्कली नागरिकता, राहदानी र युरोप तथा खाडी देशको भिसासम्मको ग्यारेन्टीमा बंगलादेशी नेपालमा थुपिँ्रदै गएका छन्।

प्रहरीले काठमाडौंको ठमेल र नयाँबजार क्षेत्रमा माघ २३ मा गरेको अपरेसनमा अवैध रुपमा बसोबास गरिरहेका ३७ बंगलादेशी नागरिक फेला परे। महानगरीय प्रहरी वृत्त, लैनचौरले आफ्नो क्षेत्रमा मात्र एक हजारभन्दा बढी बंगलादेशी अवैध बसोबास गरिरहेको सूचनाका आधारमा आधा दर्जनभन्दा बढी कपडा उद्योगमा छापा मारेको थियो।

काठमाडौंका विभिन्न स्थानमा परिचय बदलेर बसिरहेका ३७ बंगलादेशी नागरिक पक्राउ परेका हुन्। प्रहरीले ठमेल, नयाँबजार र ढल्कु क्षेत्रमा सञ्चालित कपडा सिलाउने उद्योग (होजियारी) मा छापा मारी अवैध रुपमा नेपाल वसिरहेका ३७ बंगलादेशीलाई पक्राउ गरेको हो।

महानगरीय प्रहरी वृत्त, लैनचौरको टोलीले चःमतीबाट १५, ढल्कुबाट ८, नयाँबजारबाट १२ र ठमेलबाट २ जनालाई पक्राउ गरेको जनाएको छ। वृत्तका प्रमुख डिएसपी सोमेन्›सिंह राठौरले नेपालीले सञ्चालन गरेका होजियारी उद्योगबाट बिनाकागजपत्र बसोबास गरिरहेका बंगलादेशीलाई नियन्त्रणमा लिएको जानकारी दिए। उनका अनुसार पक्राउ पर्नेमा चार वर्षअघि नेपाल आएर बसिरहेकादेखि शुक्रबार मात्र नेपाल आइपुगेका बंगलादेशीसम्म छन्।

'चोरबाटो नेपाल आउने र नेपालमा नक्कली राहदानी खरिद गरी युरोप तथा खाडी देश जाने योजना रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ', डिएसपी राठौरले भने। उनका अनुसार नेपाल ल्याउने र विदेश पठाउने ठूलो गिरोह रहेको र त्यसका नेपाली सदस्यको खोजी जारी छ। प्रहरीले पक्राउ गरी अध्यागनमा बुझाएका ३७ जनाले भिसाबापतको रकम बुझाउन नसकेपछि कारागार चलान भएका छन्।

अध्यागमनका अधिकारी बंगलादेशीका सम्बन्धमा तत्काल सम्बन्धित दूतावासमा औपचारिक र अनौपचारिक खबर गरे पनि कुनै प्रतिनिधि विभागमा आउने गरेका छैनन्। विभागको नियन्त्रणमा रहेका बंगलादेशीले आफ्नो देशको दूतावासलाई खबर गर्न भनेपछि यसपटकसमेत बारम्बार दूतावाससँग सम्पर्क गरे पनि प्रतिनिधि आएनन्।

'हामीले लिएको बयानमा आम्दानीका लागि दलाललाई मोटो रकम बुझाएर आएको पायौं', अध्यागमनका एक अधिकारीले भने। उनका अनुसार हाल काठमाडौंमा अवैध बसोबास गरिरहेका बंगलादेशी र चिनियाँको सख्या हजारौं छन्।

चिनियाँको अवैध व्यवसाय

अध्यागमनको प्रारम्भिक अनुसन्धानमा काठमाडौं र पोखरामा चीनबाट पर्यटन भिसामा नेपाल आएका चिनियाँ पर्यटकले परिवारको सहयोगमा सञ्चालन गरेको व्यवसायको सञ्जाल र आर्थिक कारोबार परिमाण अपत्यारिलो छ।

अध्यागमन कानुनअनुसार नेपालमा ब्यवसायका लागि बेग्लै प्रावधान रहे पनि चीनका नागरिकका लागि नेपालमा रहेको भिसा सुविधाको फाइदा उठाउँदै चिनियाँको व्यापार फस्टाएको हो।

 

प्रकाशित: ४ फाल्गुन २०७३ ०३:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App