८ वैशाख २०८१ शनिबार
समाज

'बाजे भन्दै आँखा खोल्यो'

महाराजगन्जस्थित मनमोहन कार्डियो भास्कुलर सेन्टरमा नाति वीरबहादुरसँगै दुर्गाबहादुर घर्ती। तस्बिर :  उपेन्द्र लामिछाने

काठमाडौं- 'अपरेसन कोठाभित्र नातिको, बाहिर मेरो छाती चिरिँदै थियो,' उनले भने, 'जब नातिले आँखा खोल्यो, मेरो होस आयो', आठ वर्षीय नातिको पाँच घन्टा लामो मुटुको अपरेसन जिन्दगीकै दुःखको  क्षण बन्यो, ६० वर्षीय  दुर्गाबहादुरलाई।

दुर्गाबहादुरका नाति वीरबहादुरको मुटुको अपरेसन सफल भयो, महाराजगन्जस्थित मनमोहन कार्डियो भास्कुलर सेन्टरमा। ६ दशक काटेका दुर्गाबहादुर घर्ती प्युठान, खर्पिङखोलाबाट नातिकै उपचार गर्न पहिलोपटक राजधानी आएका हुन्।

दुर्गाबहादुरका जेठा छोरा बिरामी छन्। छोरो आउन नसकेपछि नाति लिएर उनी आफैं राजधानी आइपुगे माघ १९ गते। 'जिल्ला अस्पतालमा देखाउँदा निको भएन, त्यहाँका डाक्टरले राजधानी जानू भने', उनले सुनाए, 'अहिले यहाँ ल्याएर उपचार गराएर फर्कंदै छु।'

मुटुको पत्रमा पानी जमेका कारण वीरबहादुरको शल्यक्रिया गर्नुपरेको थियो।

वीरबहादुर  हजुरबुबालाई 'हजुरबाला बाजे' भनेर सम्बोधन गर्छन्। बाल्यकालदेखि नै हजुरबुबालाई पछ्याउँदै आएका वीरबहादुरले अपरेसन कक्षमा होस खुल्दा पनि पहिलो शब्द 'बाजे' नै निस्कियो।

'बाजे भनेर आँखा खोल्यो', दुर्गाबहादुरले सुनाए, 'मेरा आँखा आँसुले भरिए।'

उपचारपछि आठ वर्षीय वीरबहादुरको अनुहारमा चमक छाएको छ। 'अब सबै ठिक हुन्छ रे', उनले भने, 'घर फर्केपछि अब स्कुल जाने हो।' उपचारअघि रिंगटा लाग्ने, टाउको दुख्ने लगायत समस्याका कारण राम्रोसँगै पढ्न नसकेका वीरबहादुरले अब राम्रोसँग पढ्ने सुनाए।

एक साता अस्पताल बसाइमा यी बालकले धेरैको मन जिते।  अपरेसनका लागि तयार रहेका बालकको हँसिलो अनुहारले मुटुको उपचारका लागि भर्ना भएका बिरामी र कुरुवाको अनुहारै हँसिलो बनेको थियो।

'मलाई मेरा बुबा बिरामी भएको चिन्ता यो बालकको हँसिलो अनुहारले हटाइदियो', मूलपानीका जयराम थापाले भने, 'हजुरबाले उसको उपचारका लागि देखाएको लगनले झन् सबैको मन जित्यो।' अस्पताल आएका बिरामीका आफन्तले वीरबहादुरलाई खेलौना र सकेको आर्थिक सहयोगसमेत गरे।

राजधानी आउँदा भएको पैसा सकिए पनि नातिलाई नयाँ जीवन दिन पाएकोमा दुर्गाबहादुर खुसी देखिन्छन्। 'साथीभाइसँग सरसापट गरेर १० हजारजति ल्याएको थिएँ', दुर्गाबहादुरले भने, 'सुरुमा अलिकति खर्चमा त्यो सकिए पनि अपरेसन खर्च निःशुल्क भएकाले उपचार हुन सक्यो।'

सरकारले १५ वर्षमुनिका बालबालिका र ७५ वर्षमाथिका वृद्धवृद्धाको  मुटु उपचार निःशुल्क भए पनि कागजी प्रक्रिया ढिलाइका कारण अस्पतालमा उनले केही रकम खर्चिनुपरेको थियो। 'अलिकता खर्च भए पनि अस्पतालले मेरो नातिलाई नयाँ जीवन दिएको छ', उनले भने, 'म अस्पतालसँग निक्कै खुसी छु।' अपरेसन निःशुल्क नभएकाले आफूले नातिको उपचार गराउन नसक्ने उनले सुनाए।

आइतबारै वीरबहादुरको डिस्चार्ज भएको छ। अब उनीहरु केही दिन राजधानीकै एक आश्रममा बसेर गाउँ फर्कने तयारीमा छन्। 'अब केही दिन यहाँ आश्रममा बस्नेछौं', दुर्गाबहादुरले भने, 'त्यसपछि नातिलाई लिएर आफ्नै गाउँ फर्कनेछु।'

बाथ मुटुरोग शल्यक्रिया निःशुल्क

सरकारले आइतबारैदेखि बाथ मुटु रोग भएको बिरामीलाई भल्भ शल्यक्रिया तथा औषधि निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ। गंगालाल हृदय केन्›को वार्षिकोत्सव अवसरमा स्वास्थ्यमन्त्री गगन थापाले विपन्न नागरिकका लागि बाथ मुटु रोगको भल्भको शल्यक्रिया र औषधि निःशुल्क गर्ने घोषणा गरेका थिए। गंगालाल अस्पताल, महाराजगन्जस्थित मनमोहन कार्डियो भास्कुलर सेन्टर र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा भल्भको निःशुल्क शल्यक्रिया हुनेछ।

प्रकाशित: ४ फाल्गुन २०७३ ०२:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App