coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सीमाभित्र तीनै तहको निर्वाचन सक्न एमालेद्वारा ध्यानाकर्षण

कठमाडौं– नेकपा एमालेले २०७४ मंसिरअघि नै तीनै तहको निर्वाचन सम्पन्न गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ। अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको स्थायी समितिको बैठकले यस्तो निर्णय गरेको हो।

निर्वाचनका लागि आवश्यक कानुनी तथा राजनीतिक वातावरण मिलाउन पनि बैठकले सरकारको ध्यानाकर्षण गराएको एमाले सचिव योगेश भट्टराईद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।

उनका अनुसार बैठकले फागुन २१ गतेदेखि आयोजना गर्न लागिएको मेची–महाकाली राष्ट्रिय अभियानको कार्यक्रम अनुमोदन गरेको छ। उक्त कार्यक्रमको उद्घाटन फागुन २१ गते झापाको काँकडभिट्टामा हुने तय भएको छ ।

फागुन १४ गते क्याम्पसहरुमा आयोजना हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन र नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा अवरोध पु¥याउन भएका तालाबन्दीहरुप्रति बैठकले ध्यानाकर्षण गरेको छ।

मुलुकमा कुनै पनि निर्वाचन हुन नदिने षडयन्त्रस्वरुप विभिन्न क्रियाकलापहरु भएको ठहर गर्दै पार्टीले ती निर्वाचनहरुका लागि सहज वातावरण बनाउन र तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नसमेत ध्यानाकर्षण गराएको छ ।

स्थायी समिति बैठकले पोलिटब्युरो बैठकमा अध्यक्षको प्रतिवेदन, समसामयिक राजनीतिक परिस्थिति, मेची–महाकाली अभियान र विविध विषयमा छलफल गर्ने एजेन्डाहरुसमेत तय गरेको छ। 

एमाले पोलिटब्युरोको बैठक बुधबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बताइएको छ।  
 

प्रकाशित: ३ फाल्गुन २०७३ १४:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App