८ वैशाख २०८१ शनिबार
समाज

साउदीमा हराएका आसमान मरुभूमिमा भेटिए, ल्याइदिने कस्ले ?

हराएका आशमान गुरुङ भेटिएपछि नारायण कटुवालले आफ्नो फेसबुकमा पोष्ट गरेको तस्बिर

धादिङ– एक महिनाअघि साउदीमा बिरामी परेपछि बेपत्ता रहेका धादिङको वसेरी गाविस–४ का आसमान गुरुङ साउदीकै एक मरुभुमिमा भेटिएका छन्। उनलाई साउदीमै सेल्स मार्केटिङमा कार्यरत इलामका नारायण कटुवालले फेला पारेका हुन्।

पुषको २ गतेबाट हराएका आशमान साउदीको रियादबाट करिब ४ सय किलोमिटर टाढा साफिया भन्ने ठाउँमा बिरामी अवस्थामा नै सोमबार राति भेटिएको नारायणले जानकारी दिए।

आसमान बेपत्ता भएको समाचार नागरिकन्युज अनलाइलमा प्रकाशित भएपछि साउदीमा उनको खोजी तीव्र भएको हो।

‘साउदी गएका आसमान कहाँ बेपत्ता भए?’ शिर्षकमा गत माघ २७ गते समाचार प्रकाशित भएको थियो। समाचारको आधारमा नारायणसहित उनका साथीहरु खोजी कार्यमा जुटेका थिए।

आशमान २०७३ साउन २८ गते अक्सफोर्ड इन्टरनेशनल प्रालिबाट होटलमा वयटर कामको लागि साउदी पुगेका थिए।

अहिले आशमानलाई साउदीमा रहेको नेपाली दूतावासमा राखिएको छ। आशमानको साथमा पासपोर्ट नहुँदा नेपाल फर्काउन समस्या भएको नारायणले बताएका छन्। ‘आशमान त भेटिनुभयो, तर उहाँले काम गर्ने कम्पनी नै बन्द भैसकेको रहेछ, पासपोर्ट झिकाउन नसकेकोले नेपाल पठाउन सकिएको छैन’ नारायणले भने।

पासपोर्ट साथमा नहुँदा स्वास्थ्य स्थिति बिग्रेका आशमानको उपचार समेत हुन सकेको छैन। आशमान भेटिएको खबर पाएका परिवारमा खुसी छाएको छ। आशमानलाई नेपाल फर्काइदिन सबैसँग आग्रह गरेका छन्।

आशमानका श्रीमति प्रितिमायाले भनिन् ‘श्रीमान त भेटिनुभयो, अब कस्ले ल्याइदेला नेपाल ?’ आशमान हराएपछि खोजिदिन आग्रह गर्दै विभिन्न संस्थामा पुगेका श्रीमती प्रितीमाया र दाजु सकराम अहिले आशमान आउने बाटो कुरेर बसेका छन्।

परिवारको सुख खोज्न होटलमा वेटर कामको लागि भनेर साउदी स्थित रियात पुगेका आशमान ६ महिना पुरा नहुँदै विरामी परेका थिए।

पासपोर्ट नम्वरः ०९४३३८४५ भएका आसमान  २०७३ साउन २८ गते ललितपुरको जावलाखेल स्थित अक्सफोर्ड इन्टरनेशनल प्रा.ली नामको मेनपावरमार्फत साउदी पुगेका थिए ।


 

प्रकाशित: ३ फाल्गुन २०७३ ११:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App