८ वैशाख २०८१ शनिबार
समाज

उपमहानगरपालिका बनाउन माग गर्दै कलैया बन्द

बारा- कलैया नगरपालिकालाई उपमहानगरपालिका बनाउन माग गर्दै मंगलबार कलैया बजार बन्द गराएका छन्। बारा उद्योग वाणिज्यको नेतृत्वमा एक महिनादेखि कलैया नगरपालिकालाई उपमहानगरपालिका बनाउन माग गर्दै विभिन्न चरणमा विरोध प्रदर्शन गरिँदै आएका छन्।

बन्दका कारण ग्रामिण भागबाट मालसमान खरिद गर्न सदरमुकाम कलैया आएका सर्वसाधारणहरु समस्यामा परेका छन्। बन्दकर्ताले बजार बन्द गराउनुको साथै कलैयाको भरतचोकमा टायर बालेर विरोधका प्रर्दशन गरेका छन्।

स्थानीय तह पुनःसंरचना आयोगले जिल्लाको सदरमुकाम तथा पुरानो कलैया नगरपालिकालाई उपमहानगरपालिका बनाउनको लागि सरकारलाई प्रतिवेदन पेस नगरेको भन्दै उद्योग वाणिज्य संघ बाराको नेतृत्वमा व्यपारी र राजनीतिक दलहरु विरोधमा उत्रेका हुन्।

कलैया नगरपालिकाभित्र रहेका २५ वडाहरुमध्ये केही वडाहरुलाई छुटयाएर गढीमाई नगरपालिकामा मिलाएर जितपुर–सिमरा उपमहानगरपालिका बनाउने कार्य कुनै पनि हालतमा मान्य नहुने बारा उद्योग वाणिज्य संघका अध्यक्ष बिनोद साहले बताए।

सरकारले कलैया नगरपालिकाको इतिहास मेटाउन चार वर्ष पहिला घोषणा गरिएको जिल्लाको उत्तरी भेगको गढीमाई नगरपालिकालाई उपमहानगरपालिका बनाउन खेलमा लागेको साहले आरोप लगाए। ३५ वर्षभन्दा पुरानो कलैया नगरपालिकालाई भेदभाव नगरी सरकारले उपमहानगरपालिका बनाउनुपर्ने माग साहले गरे।

आयोगले जिल्लाका एमाले र कांग्रेसका केही सांसदहरुसँग जिल्ला बाहिर काठमाडौंमा छलफल गरी अव्यवहारिक तरिकाले नयाँ स्थानीय निकाय राख्न सुझावसहित प्रतिवेदन सरकारलाई कार्यवन्यनको लागि बुझाएपछि कलैयालाई बचाउन आन्दोलन हुँदै आएको छ।

बारामा छवटा नगरपालिका र ६८ गाविसहरु रहेकोमा अहिले तयार पारिएको प्रतिवेदनमा केही कांग्रेस र एमालेका सांसदहरुले आफ्नो पार्टीका आधार क्षेत्र रहेको गाबिसलाई एक ठाउँमा राख्ने अव्यवहारिका तरिकाले स्थानीय निकायहरु गठन गर्न लगाएको आरोप आन्दोलनकर्ताको छ।

आयोगले हालै सिमरा-जितपुर उपमहानगरपालिका, कलैया, कोल्वी, महागढीमाई, सिम्रौनगढ र निजगढ गरी पाँचवटा नगरपालिकासहित सातवटा गाउँपालिका गरी १३ वटा स्थानीय निकाय राख्ने प्रतिवेदन सरकारलाई बुझाएको छ।

प्रकाशित: ३ फाल्गुन २०७३ ०७:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App