खण्डहरमा कला पछ्याउँदै

मङ्गलबार, ११ जेठ २०७३, ११ : ३९

दोलखा, गैरीमुदीका छविलाल श्रेष्ठ गाउँमा आएका केही कलाकारसँग मिलेर केही फरक काम गर्दै थिए। गाउँमै उपलब्ध बाँस, निगालोका चोया चिर्दै, चिल्याउँदै डोको, डालो, थुन्से बुनेर अर्थाेपार्जन गर्दै आएका उनी बिजुलीका पोललाई चोयाको पेरुंगोजस्तो आकृतिले सिँगार्दै थिए।

कताकता अनौठो र रमाइलो लागिरहेको थियो उनलाई। दिनहुँ हस्तकलाका अनेक सामान बनाउँदै आएका उनलाई 'कला' के हो, थाहै थिएन। कलाकारबारे सोच्थे होलान्, तिनीहरु सहरमा बस्ने सुकिलामुकिला, धनले पुगिसरी आएका, फाल्तु काममा समय काट्ने बेकारका मान्छे हुन्। कल्पनाका कलाकार आज सामुन्ने थिए र उनीहरुकै आग्रहमा छविलाल बिजुलीका पोलमा कला सिर्जना गर्दै थिए। उनमा आज जाँगर मात्र थिएन, भित्रैदेखि केही बाहिर आइरहेजस्तो, अभिव्यक्त भइरहेजस्तो महसुस भइरहेको थियो। 'निकै रमाइलो भइरहेको छ,' उनी घरीघरी कलाकारसँग भन्थे, 'हामी आफ्नै सिपले गाउँ सिँगार्न सक्ने रहेछौं, म पनि कलाकार पो रहेछु।'

छविलाल मात्र होइन, उनीजस्ता थुप्रै गाउँले (वैशाख २१–३१) सात दिनसम्म राजधानीबाट गएका विभिन्न विधाका पाँच कलाकारसँग रुमल्लिए। कलाकारका कुरा सुने, उनीहरुसँग आफ्ना अनुभव बाँडे र सँगसँगै स्थानीय स्तरमै सिकेका सिपले कलासिर्जनामा अभ्यस्त भए। कला संस्था 'आर्टुडियो' ले भूकम्पले खण्हडर बनाएको गैरीमुदीका तीन वडामा सातदिने आवासीय कला कार्यशालाको अवसर जुटाएको थियो। संस्थाका अध्यक्ष कैलाश श्रेष्ठ ललितकलाका विभिन्न विधाका पाँच युवा कलाकार लिएर गाउँ पुगेका थिए। उनीहरुले भूकम्पले खण्डहर गाउँका पीडितसँग घुलमिल मात्र गरेन्, उनीहरुकै टहरा, आँगन, बारीमा सातदिनसम्म बसे, उनीहरुसँगै सिस्नुपिठो खाए, घुमे अनि तिनका अन्तर्वेदना कलामा उतारे। पछि तिनै कला स्थानीयलाई देखाएर जीवन र मानिसका दैनिकलाई कलासँग कसरी जोड्न सकिन्छ भनेर बुझाउँदा स्थानीय रमाएका थिए।

कलाका हरेक गतिविधिमा स्थानीयलाई संलग्न गराउँदा कलाकार स्वयं पनि नयाँ अनुभव सँगालिरहेका थिए। 'कलामार्फत पीडामा मलम लगाउन र उनीहरुका कला आत्मसात गर्न यस्तो कार्यशाला गरेका हौं,' संयोजक कैलाशले सुनाए, 'यो अभियानले स्थानीयमा आफूभित्रै केही खोज्न र नयाँ जाँगरसाथ उठ्न प्रेरित गरेको महसुस गरेका छौं।'

वैशाख २१ गते राजधानीबाट पाँच कलाकार सुजन डंगोल, सन्ध्या सिलवाल, सुरेन्द्र मर्हजन, राजन श्रेष्ठ र अभिमन्यू दीक्षित गैरीमुदी पुगे। कलामार्फत समुदायमा सामाजिक सशक्तीकरण गर्ने र सिर्जनशील पक्ष उजागर गर्ने उद्देश्य लिएर आयोजित कार्यशालामा सहभागी हुन पुगेका उनीहरुसामु कम्ती चुनौती थिएन। गाउँलेसँग न पाहुना सुताउने घर थियो न खुवाउने मिठा परिकार। सरकारले घर बनाउन पैसा दिन्छु भन्ने आस देखाएर झुलाएको, आफैं बनाउनसमेत नदिएको आक्रोशमिश्रित पीडामा बाँचिरहेका उनीहरुसँग पाँचै कलाकार छिट्टै घुलमिल भए, मानौं कि उनीहरु अपरिचित होइनन्, बिदेसिएका छोराछोरी हुन् जो भर्खर गाउँमा केही गर्ने सपना बोकेर फर्किएका छन्। गाउँलेले खेतीकिसानी र अन्य दैनिक कामसमेत पन्छाएर कला अभियानमा साथ दिए।

पाँचै कलाकारका विधा फरक थिए, भूमिका फरक थियो, योजना अलग थियो। फाइन आर्टका सुजनले भूकम्पले भत्किएका खण्डहरबाट विभिन्न सामग्री संकलन गरे। सन्दुक, कन्तुर, डोका, बोतललगायत बिग्रेका, फुटेका, प्रयोग भइसकेका सामग्री एकत्रित गर्न उनलाई स्थानीयले दिनभर सघाए। डोकामा संकलन गरिएका त्यस्ता सामग्री जोडजाड गरेर उनले गाउँमा सुन्दर प्रतिस्थापन कला ठड्याए। 'कलामार्फत स्थानीयलाई जीवन बुझाउने प्रयत्न गरेँ,' सुजनले नौलो अनुभव सुनाए, 'उनीहरुमा देखिएको रुचि, कलाप्रतिको चाख र बुझाइबाट हामीले समेत नयाँ कुरा सिक्न पायौं।'

सन्ध्याले बूढ्यौली अनुहारमा भूकम्पले भरिदिएका पीडाका घाउ खोजिन्। छालाका मुजा, चाउरिएका गाला र गहिरा आँखामा तिनका पीडा नियालिन्। अब उनीसँग चोटिलो भाव थियो कला सिर्जनाका निम्ति, अभाव थियो त क्यानभासको। चित्रकारितामा नयाँ प्रयोग रुचाउने उनी त्यसपछि बाँसका झ्याङ चहार्न थालिन्। केही दिनमा उनले बाँसका थुप्रै पट्ट्याङ बटुलिसकेकी थिइन्। अब उनी त्यसैमा औंला चलाउन थालिन्, गाउँले अनुहार नियाल्दै। केही घन्टा, केही दिनमा थुप्रै स्थानीय ज्येष्ठ नागरिकका व्यथित अनुहार बाँसका पट्याङमा अवतरित भए। सन्ध्याको कलाले गाउँलेलाई झन् दवि्रभूत तुल्यायो। केही काम नलाग्ने वस्तुमा अमूल्य कला बनिसकेका थिए।

सुरेन्द्रको योजना अझ फरक थिया। उनले बाँसघारीमा आवासको परिकल्पना गरे र तिनमा मानिसको दैनिकी प्रस्तुत गर्ने प्रयत्न। 'परिधि' शीर्षकको उक्त कला तयार हुँदासम्म गाउँका बाँस झ्याङ कमेराले रंगिएर झन् सुन्दर देखिएका थिए।

फिल्मकर्मी अभिमन्यू दीक्षितले सात दिन गाउँ घुम्दा जे देखे, त्यसलाई २० मिनेटको छोटो चलचित्रमा उतारे। भूकम्पपछि नराम्रा सपनाले गिजोलिएको बालकको दिमागलाई स्थानीय झाँक्रीकै मनोविज्ञानले निको तुल्याएको कथा छायांकन गरेका थिए उनले। 'सपना' शीर्षक दिइएको चलचित्रमा बालकसहित सबै स्थानीय नै थिए कलाकार। गैरीमुदीको भूगोल र मनस्थितिलाई छोटो चलचित्रमा उतारेर दीक्षितले कार्यशालाको अन्तिम दिन तिनै गाउँलेलाई 'सपना' देखाइदिए। 'हामी पनि केही गर्न सक्छौं' भन्ने आँट भरिदिए।

बिहेबटुलोमा सहनाई र ट्याम्को बजाउँदै आएका स्थानीयलाई राजनले कलाकार बनाइदिए। उनले सहनाई र ट्याम्कोका धुनलाई संगीतका रुपमा प्रयोग गरी स्थानीयका पीडाभित्रका हाँसोलाई भिडियोमा रेकर्ड गरेका थिए। पाँचै कलाकारले स्थानीयलाई आफूसँगै सक्रिय मात्र राखेनन्, उनीहरुलाई कला गतिविधि र सिर्जनामै अभ्यस्त गराएर जीवनका विभिन्न आयामसँग जोडे।

'दोलखा एलबम : आवासीय कला कार्यशाला' का अभियन्ता कैलाश गैरीमुदीकै युवा हुन्। राजधानी रहेर कलाकारितामा जमिरहेका। भूकम्पले जन्मघर ढलाएको पीडा एकतिर पन्छाएर उनले गाउँलेका पीडा सम्भि्कए। वैशाख १२ को भूकम्पमा ढलेको गाउँ उठाउन उनी तेस्रो दिनै गाउँ पुगेका थिए। 'हिलिङ थु्र आर्ट' नामक अभियान लिएर गैरीमुदी पुगेका उनले थुप्रै दिन गाउँ बसेर भूकम्पले आत्तिएका बालबालिकाका मनमस्तिष्कबाट त्रास भगाउन, मानसिक तनाब हटाउन प्रयत्न गरेका थिए।

'पहिले गाउँमा हाटबजार लाग्थे, सामानको विनिमय हुन्थ्यो, अब कलाको विनिमय हुनुपर्छ, गाउँका कला सहर, सहरका कला गाउँ,' उनले सुनाए, 'यो अभियानको ध्येय यही हो।' उनकै पहलमा गैरीमुदीमा गत वर्ष नै सामुदायिक कला केन्द्र खुलेको छ। आफ्नो निजी जमिनमा टहरा बनाएर स्थापना गरिएको केन्द्रमा हरेक शनिबार बालबालिका भेला हुन्छन्, चित्र कोर्छन्, आफूभित्रका विभिन्न कलाको अभ्यास गर्छन्। 'भूकम्पको त्रासदीले आक्रान्त बालबालिकालाई यसले सिर्जनात्मक बाटोमा ल्याएको छ,' कैलाशले भने। 'दोलखा एल्बम' कार्यशालाले केन्द्रलाई स्थापित र अन्तर्राष्ट्रिय रुपमा चिनाएको उनले सुनाए।

कार्यशालामा कलाकारले स्थानीय स्रोत र साधन मात्र प्रयोग गरेर समुदायका संस्कृति र परिवेशलाई कलात्मक रुपमा प्रस्तुत गरेका भए। समाजमा त्यस्तो कला जीवन्त रहन्छ जसले त्यहीँको अन्तरकथा र संस्कृति बोक्छ र स्थानीयको मनमुटु छुन्छ। यिनै विषयलाई समेटेकाले कार्यशालाबाट स्थानीयमा कला र कलाप्रति रुचि जाग्न थालेकामा उनी खुसी छन्। अझ सामुदायिक कला केन्द्रप्रति बालबालिकाको रुचिले भविष्यमा राम्रा कलाकार जन्माउने आशा उजागर भएको उनले बुझेका छन्। 'बालबालिकामा शनिबार आर्ट सेन्टर गएर केही न केही सिक्नुपर्छ भन्ने भावना जागेको छ,' उनले भने, 'यो अभियानको सकारात्मक पक्ष हो।'

'दोलखा एल्बम' सँगै जोडिएर गैरीमुदी पुगेका 'ग्लोबल आर्ट कलेक्टिभ' का पाँच विदेशी कलाकार पनि समुदायसँग रमाए। उनीहरुले सुरुमा गाउँलेसँग मिलेर थुप्रै बाँस जम्मा पारे। त्यसैबाट विशाल प्रतिस्थापन कला सिर्जना गरे। 'चिन्ता' नेपाली शब्दलाई कलामा बुनेका उनीहरुले त्यसलाई कार्यशालाको अन्तिम दिन प्रदर्शन गरे र अन्तिममा जलाइदिए।

कार्यशाला सकियो। 'चिन्ता' जलेर खरानी भयो। एउटा कला सिर्जनालगत्तै किन जलाइयो? कलाकारले नै कला किन जलाए? गाउँलेलाई बुझ्न समय लागेन। 'भूकम्पले खण्डहर बनाएको गाउँ र स्थानीयका सबै चिन्तालाई जीवनका कला पक्षले यसरी नै खरानी बनाउनुपर्छ, चिन्तारहित भएर नवनिर्माणमा लाग्नुपर्छ भन्ने सन्देश दिन चिन्ता जलाइएको थियो,' कैलाशले बुझाए।

कार्यशालामा सिर्जना गरिएका कला राजधानीमा पनि प्रदर्शन गर्ने धोको छ उनको। 'यसमा सहभागी र दर्शक सबै स्थानीयमा आफैंले केही गर्नुपर्छ र डरत्रास त्यागेर अब उठ्नुपर्छ भन्ने भावना जागेको छ,' उनले अनुभव बाँडे, 'त्यो भन्दा बढी कला भन्ने विषय पनि काम लाग्ने कुरा रहेछ भन्ने महसुस भएको छ।'

सहरकेन्द्रित कलालाई समुदायमा पुर्याोएर त्यहाँको कला संरक्षण र प्रवर्द्धन गर्न लक्ष्य लिएको यस अभियानलाई अन्य जिल्लामा पनि पुर्यााउने कल्पना साँचेको उनले सुनाए।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

आइएमईमा डबलको डबलको डबल अफर

आइएमईमा डबलको डबलको डबल अफर

सेवाग्राहीद्वय सोमर तामाङ्ग र विशाल नगरकोटी दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएका छन् ।

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंकले मोरङको जिल्लाको विराटनगर–०१, पुष्पलालचोकमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन विराटनगर नगरपालिकाका नगर प्रमुख भिम पराजुलीले...

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्ट्स लिमिटेडले हिन्दुहरुकोे महान पर्व तिहारको अवसर पारेर सम्पूर्ण ग्राहकहरुलाई दिपावलीको शुभकामना व्यक्त गर्दै “यो तिहार शिवमको"  साथमा, चाँदीको...

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालन सुरु गरेपछि क्रमिक रुपमा आम्दानी हुँदै गयो । खर्च कटाएर एक वर्षमा रु तीन लाख जति आम्दानी भएपछि यतिखेर...

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मकवानपुरको मनहरीमा प्रदेश नं ३ सरकारले दुई अर्ब रुपैयाँ लगानीमा कागज उद्योग स्थापना गर्ने भएको छ । ...

सुनको मूल्य सय रुपैयाँ घट्यो

सुनको मूल्य सय रुपैयाँ घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७० हजार ६ सय रुपैयाँ कायम भएको छ । ...

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयर प्रालिले खरिद गरेको नयाँ हेलिकप्टरले व्यावसायिक उडान सुरु गरेको छ । ...

Ncell Footer Ad