८ वैशाख २०८१ शनिबार
राजनीति

नेता नेपालले भने– ‘सबै डिअाइजी मेरा फेब्रेट हुन्’

सोमबार गौर आएका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल(ढाका टोपीलगाएर कुर्सीमा बसेका) सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै। तस्बिरः मदन ठाकुर

रौतहट– नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपाल प्रहरीको आइजिपी नियुक्तिका विषयमा आफूले कुनै प्रतिक्रिया नदिने बताएका छन्।

सर्वोच्च अदालतले आइजिपी नियुक्तिको निर्णय तत्काल कार्यान्वयन नगर्नू भनी अन्तरिम आदेश जारी गरेको अवस्थामा आफूले उक्त विषयमा बोल्नु उपयुक्त नहुने उनले बताएका हुन्।

सरकारले आइतबार डिआइजी जयबहादुर चन्दलाई नेपाल प्रहरीको आइजिपी नियुक्त गरेलगत्तै आइतबार आइजिपीका दाबेदार डिआइजी नवराज सिलवालले दायर गरेको रिटको सुनुवाई गर्दै सर्वोच्चले सोमबार आजिपी नियुक्तिको निर्णय तत्काल कार्यान्वयन नगर्न सरकारकालाई अन्तरिम आदेश दिएको थियो। सर्वोच्चको आदेशपछि नेता नेपालको यस्तो भनाई आएको हो।

‘आइजिपी नियुक्तिको विषय सर्वोच्चको भइसक्यो, अहिले मैले कुनै प्रतिक्रिया जनाउनु आवश्यक छैन,’ उनले भने, ‘आइजिपीका दावेदारे सबै व्यक्ति मेरा ‘फेब्रेट’ हुन्।’

एमालेका सक्रिय कार्यकर्ता रौतहटका श्रीप्रकाश ठाकुरको निधनप्रति समवेदना प्रकट गर्न सोमबार सदरमुकाम गौर आइपुगेका नेता नेपालले सञ्चारकर्मी कुरा गर्दै यस्तो बताएका हुन्।

एमालेले एमाओवादी र मधेसी मोर्चालगायतका दलसँग सम्वाद र छालफलको थालनी गरेको भन्दै त्यसले एकअर्काको कुरालाई बुझ्न सहयोग पुग्ने र मुलुकको समस्या समाधान गर्ने बताए।

‘सम्वादको सुरुआत समस्या सधानका लागि पहिलो खुड्किलो हो,’ उनले भने, ‘सत्ताधारी पार्टी र हाम्रो पार्टीबीच भइरहेको सम्वादले मुलुकमा विद्यमान जटिलताहरु सुल्झाउन सक्छ, यो स्वागत योग्य छ।’

निर्वाचन र संविधानको कार्यान्वयन नै यतिबेला प्रमुख एजेन्डा भएको भन्दै उनले जति सक्दो छिटो  स्थानीय निर्वाचन गरेर संविधान कार्यान्वयन गराउनेतर्फ अग्रसर हुन सबै पक्षलाई आग्रह गरे।

स्थानीय निकाय जनप्रतिनिधिविहीन भएकाले स्थानीय विकासनिर्माणका कार्यमा भ्रष्टाचार बढ्दै गएकोले पनि स्थानीय निकायको निर्वाचन अत्यन्त जरुरी रहेको भन्दै उनले निर्वाचनबाट कुनै पनि राजनीतिक दल भाग्नु नहुने बताए ।

विगतका प्रधानमन्त्रीहरुले स्थानीय निकायको निर्वाचन गराउन आँट नगरेका कारण स्थानीय निकायमा बजेटको चरम दुरुपयोग भएको नेता नेपालले दाबी गरे।

तीन वर्षअघि नै स्थानीय निकायको निर्वाचन भईसक्नुपर्ने भए पनि अब जतिसक्दो चाँडो मुलुकलाई निर्वाचनमय बनाउनु आवश्यक रहेको उनले बताए।

राजनीतिक दललाई हार वा जितको अन्यौलताले नै कुनै पनि सत्ताधारी पार्टीहरु निर्वाचनमा जान हिम्मत जुटाउन नसकेको गुनासो गर्दै उनले स्थानीय निकाय वा स्थानीय तहको निर्वाचन हुनपर्नेमा जोड दिए।

स्थानीय निकायको निर्वाचन अहिले गराएर पाँच वर्षपछि स्थानीय तहको निर्वाचन गराउनमा कुनै संवैधानिक जटिलता नआए हाल स्थानीय निकायकै चुनाव गराएर स्थानीय निकायमा भइरहेका चरम भ्रष्टाचारलाई समाप्त गर्नुपर्ने उनले बताए ।  

मधेशी मोर्चाको अडानलाई सम्बोधन नगरी निर्वाचनमा कसरी जान सकिन्छ ? भने प्रश्नमा नेता नेपालले यदी लोकतन्त्रमाथि विश्वास गर्छन् भने निर्वाचनसँग मोर्चा डराउनु नहुने बताए । तर भारतमा प्रयोग गरिने भाषाको अडान उनीहरु राख्नु निकै दुखद् भएको उनको भनाइ छ।

‘यदी हामी नेपाली हौं भने पहिला नेपाली भावनालाई स्वीकार गरी नेपालमा बोलिने भाषाको पहिचान अगाडि बढाउनु पर्छ,’ उनले भने, ‘विदेशीलाई नागरिकता दिने काम नेपालमा कहिल्यै हुँदै, मधेशमा पुस्तौंपुस्तादेखि बसोबास गरिरहेका नेपालीहरु मधेशका धर्तीपुत्र हुन्, त्यसलाई भारतीय भन्नु गलत हो, मेरै जन्म गौरमा भएको हो र मेरो मावली सिरहामा छन्।’

आफूलगायत सम्पूर्ण मधेशका जनताहरु मधेशका धर्तीपुत्र भएको भन्दै नेता नेपालले मधेशमा केही बाहिरबाट आएको भए पनि मधेशमा बस्ने सबै नेपाली नै भएको बताए ।

नेपालको समस्या समाधान गर्न एमालेसहितको राष्ट्रिय सरकार गठनको सम्भावना कत्तिको छ ? भन्ने प्रश्नमा नेता नेपालले एमालेले जोडघटाउको राजनीति कहिल्यै नगरेको र सत्तामा जाने कुरा नभई मुलुकको समस्या कसरी समाधान हुनपर्छ भन्ने विषयमा एमाले गम्भीर भएर अघि बढिरहेको बताए।

 

 

प्रकाशित: २ फाल्गुन २०७३ ०७:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App