७ वैशाख २०८१ शुक्रबार
अर्थ

सेयर बजारमा अर्को पहिरो

काठमाडौं- माघ महिनाभर निरन्तर ओरालो लागेको सेयर बजारमा फागुनको पहिलो दिन पनि त्यही गति कायम रह्यो। आइतबार नेप्से सूचक ४३.७३ बिन्दुले तल ओर्लंदा लगानीकर्ताले एकै दिन ४८ अर्ब रुपैयाँ गुमाएका छन्। गत बिहीबार बजार १४ खर्ब ५८ अर्ब रुपैयाँ रहेको बजार पुँजीकरण आइतबार १४ खर्ब १० अर्बमा झरेको छ। यसको अर्थ– लगानीकर्ताले सेयर बजारमा एकै दिन ४८ अर्ब रुपैयाँ गुमाएका छन्।

सेयर बजार तथ्यांकीय सूचक १२५२.५ अंकमा झरेको छ। बैंकले सेयर धितोमा ऋण दिन छाड्नु, अफ सिजन सुरु हुनु, सेयर किन्दाभन्दा बैंकमा रकम जम्मा गर्दा बढी प्रतिफल पाउने अवस्था आउनुलाई सेयर बजार निरन्तर ओरालो लाग्नुको मुख्य कारण मानिएको छ।

चालु आर्थिक वर्षको दोस्रो सातादेखि नेप्से निरन्तर ओर्लिरहेको छ। साउन १२ गते कीर्तिमानी १८८१.४५ अंकमा पुगेको नेप्से ओरालो लाग्दै करिब साढे १२ सयमा आइपुगेको छ। करिब साढे ६ महिनाको अवधिमा ६ सय २८ बिन्दुभन्दा बढीले सेयर बजारमा गिरावट आएको छ।

लगातार बजार ओरालो लागेपछि लगानीकर्तामा थप आत्तिन्छन्। बजार बढेका बेला जोसिएर लगानी गर्नेहरू घटेका बेलामा बेच्न हतार गर्छन्।

बैंक तथा वित्तीय संस्थाले सेयरमा लगानी गर्न छाडेको समाचार आएपछि नेप्से उच्च बिन्दुले घट्न पुगेको स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष प्रियराज रेग्मीले नागरिकलाई आइतबार बताए। 'सेयर धितोमा कर्जा दिन छाडेको सन्देश प्रवाह भएपछि लगानीकर्तामा एक खालको मनोवैज्ञानिक असर परेको देखिन्छ,' उनले भने, 'बैंकहरुले मार्जिन कल सुरु गरेको बेला पुनः सेयरमा लगानी नगर्ने निर्णय गरेको भन्ने समाचार आएपछि सेयर बजारमा गिरावट आएको हो।'

एकपछि अर्को गर्दै नकारात्मक सन्देशका समाचार मात्र आउन थालेपछि सेयर बजार निरन्तर ओरालो लागेको विश्लेषकको भनाइ छ। सेयर बजार निरन्तर घट्नुको कारण उनीहरुले बैंकको ब्याजदर बढ्नुलाई मानेका छन्।

ब्याज उच्च दरले बढेपछि ठूला लगानीकर्ताले सेयर बेचेर बैंकमा पैसा राख्न थालेका छन्। बैंकले मुद्दती खातामा वार्षिक १२ प्रतिशतसम्म ब्याज दिन थालेपछि सेयर बिक्री गरेर बैंकमा पैसा राख्न थालेका हुन्। सेयरमा लगानी गर्नुभन्दा बैंकको ब्याजबाट बढी फाइदा हुने देखेर उनीहरु त्यता आकर्षित भएका हुन्। बैंकमा राख्दा जोखिम पनि कम हुने भएकाले यसो गरेको एसोसिएसनका अध्यक्ष रेग्मीले बताए। 'बैंकमा बचत गर्ने पैसा पनि सेयर बजारमा जाने गर्थ्यो,' उनले भने, 'अहिले सेयर बिक्री गरेर बैंकमा बचत गर्न थालेका छन्, यसले पनि सेयर बजार ओरालो लाग्न पुगेको हो।'

अधिकांश वाणिज्य बैंकले मुद्दती निक्षेपमा १२ प्रतिशत ब्याजदर घोषणा गर्न थालेपछि त्यसले सिधा सेयर बजारलाई असर गरेको हो। पछिल्ला दिनमा बैंकले बचत खातामा पनि विस्तारै ब्याजदर बढाउने क्रम सुरु गरेका छन्। सेयर बजार र बैंक ब्याजदरबीच जहिले पनि उल्टो सम्बन्ध हुन्छ। बैंकको ब्याजदर घट्दा सेयर बजार बढने र ब्याज बढ्दा सेयर बजार घटने गर्छ। यतिबेला सेयर बजारमा त्यही भएको विश्लेषकहरूको भनाइ छ।

बैंक तथा वित्तीय संस्थाले लगानीयोग्य पुँजीको अभावमा सेयर धितोमा कर्जा प्रवाह गर्न सकिरहेका छैनन्। अर्कोतिर, सेयर बजार निरन्तर घट्दै गएपछि लगानीकर्तालाई बैंकले मार्जिन कल सुरु गरेका छन्। यसले बजार घटाउन थप सहयोग गरेको एसोसिएसनका अध्यक्ष रेग्मीले बताए।

अस्थिर सेयर बजारबाट प्रतिफल आशा गर्न नसकेपछि लगानीकर्ताले सेयर बेचेर उच्च ब्याजदरमा बैंकमा पैसा राख्न र अन्य क्षेत्रमा लगानी गर्न थालेका हुन्।

बैंकबाट सस्तो र सजिलैसँग सेयर धितो राखेर कर्जा पाउन छाडेपछि बजार घट्न थालेको हो। 'पहिला ७–८ प्रतिशतमै बैंकले सेयर धितो राखेर कर्जा दिन्थे,' एक विश्लेषकले भने, 'अहिले मुद्दती खातामै १२ प्रतिशत ब्याज दिन थालेका छन्, त्यति महँगो दरमा लिएको रकम कति ब्याजदरमा ऋण दिने र लगानीकर्ताले पनि उच्च ब्याजदरमा लिएको ऋण सेयर बजारमा लगानी गर्दा प्रतिफल नआउने भएकाले पनि सेयर बजार निरन्तर ओरालो लाग्दै आएको हो।' अहिले बैंकहरुले सेयर बजारमा ऋण लगानी गर्नै छाडेको पनि उनको भनाइ छ।

नेपाल राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा लगानी बढी गर्न थालेको भन्दै बैंकलाई कस्न थालेपछि सेयर बजारमा ऋण प्रवाह गर्न छाडेको हुन्। यसले गर्दा पनि सेयर बजारमा उच्च गिरावट आएको हो।

अहिलेको समयलाई लगानीकर्ता 'अफ सिजन' भन्ने गर्छन्। गत वर्षको नाफाबाट कम्पनीहरूले लाभांश वितरण गरिसकेको र चालु आवको लाभांश पाउन अर्को वर्ष कुर्नुपर्ने भएकाले पनि लगानीकर्ताले सेयर बेच्न थालेका हुन्। फागुनसम्म सेयर घट्ने परम्परा यो वर्ष पनि कायम भएकाले लगानी सेयर बजारबाट बाहिरिएको ब्रोकरहरू बताउँछन्।

बजार घट्ने क्रममै रहिरहँदा उनीहरूले थप लगानी गरेका छैनन्। नेप्से सूचक निरन्तर 'बियरिस ट्रेन्ड'मा रहँदा धेरै लगानीकर्ताले सेयर बेच्ने मनस्थिति बनाएको सेयर विश्लेषक बताउँछन्। यही टे्रन्ड कायम रहे सेयर बजार अझै ओरालो लाग्ने उनीहरुको भनाइ छ।

आइतबार नेप्से सूचक करिब ४४ अंकले घट्दा पनि ४९ करोड ४१ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ।

गत बिहीबार ५७ करोड ६० लाख रूपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो। अघिल्लो दिनभन्दा करिब आठ करोड रुपैयाँ कम हो।

आइतबार एक सय ३२ कम्पनीको १३ लाख नौ हजार आठ सय ८५ कित्ता सेयर किनबेच भयो। होटलबाहेक बाँकी सबै सूचक तल झरेका छन्। सबैभन्दा धेरै बिमा सूचक ३४६.१४ बिन्दुले ओर्लिएको छ। वाणिज्य बैंक सूचक पनि ४५.४५ बिन्दुले तल झरेको छ। कारोबार रकममा भने प्रभु बैंक अघि छ। यो बैंकको मात्रै दुई करोड ५४ लाख रूपैयाँभन्दा धेरैको कारोबार भएको हो।

प्रकाशित: २ फाल्गुन २०७३ ०४:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App