coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सीमा क्षेत्र विकास कार्यक्रमअन्तर्गत बाख्रा वितरणमा अनियमितता

सीमा क्षेत्र विकास कार्यक्रमअन्तर्गत बेल्दारीमा बितरण गरिएको बाख्रा कार्यक्रममा बाख्रा बुझेका महिलाहरु। तस्बिरः उपेन्द्र यादव

बारा– जिल्ला विकास समिति (जिविस) बाराले सीमा क्षेत्र विकास कार्यक्रमका लागि प्राप्त बजेटबाट उपभोक्ता समितिमार्फत गाविसका स्थानीयलाई गरेको बाख्रा वितरणमा अनियमिता भएको पाइएको छ।

सीमा क्षेत्र विकास कार्यक्रम लागू भएको गाविसहरुका स्थानीयहरुको जीवनस्तर सुधार्न उन्नत जातको बाख्रा वितरण गर्नुपर्ने नियम रहे पनि त्यसो नगरिएको र कम तौल तथा स्थानीय जातको बाख्रा वितरण गरिएको देखिएको छ। कागजमा भने उनीहरुले बढी तौल र उन्नत जातका बाख्रा वितरण गरेको देखाएका छन्। व्यवहारमा वितरण गरिएको भन्दा धेरै संख्यामा बाख्रा वितरण गरेको कागज बनाएर जिविसका कर्मचारीको मिलोमतोमा उपभोक्ता समितिले अनियमिता गरेको स्थानीयहरुको अरोप छ।

बेल्दारीमा सीमा क्षेत्र विकास कार्यक्रमअन्तर्गत स्थानीयहरुको जीवनस्तरमा सुधार ल्याउनका लागि उन्नत जातका करिब ७ लाख रुपैयाँ लागतमा ५६ वटा बाख्रा वितरण गरिएको बाख्रा वितरण उपभोक्ता समितिले जिविस कार्यालयमा पेश गरेको जिविसको योजना शाखाले जनाएको छ।

२४ किलोको बाख्रा बुझेका पन्नालाल प्रसाद साहले आफैले पहिलादेखि नै पाल्दै आएको जातको बाख्रा देखाएर बाख्राको रकम लिएको बुझीएको छ। घरकै पुरानो बाख्रा देखाएर रकम लिने साहले गाउँमा आएर जिविसका कर्मचारीहरुले घरकै बाख्रा भए पनि त्यसको रकम दिने बताएपछि अफूले घरकै बाख्रा देखाएर चार हजार रुपैयाँ लिएको बताए।

बाख्रा वितरण उपभोक्ता समितिका अध्यक्ष बैजु साह कलवारले गाउँमै रहेका बाख्राहरुलाई खरिद गरी बितरण गरेको दावी रहेका छन्। उन्नत जातको बाख्रा यहाँ पाल्नलाई समस्या हुने भएकोले गाउँमै रहेका बाख्राहरुलाई खरिद गरी स्थानीयहरुलाई वितराण गरिएको कलवारले दावी गरे ।

बेल्दारीमा ५६ ओटा बाख्रा वितरणका लागि आएको करिब सात लाख रुपैयाँको बजेटले औसतमा एउटा बाख्राको १२ हजार भन्दा बढी पर्ने भए पनि पुरानै बाख्रा देखाउने लागि बढीमा चार हजारसम्म रकम दिएको बाख्रा बुझ्नेहरुले बताएका छन्।  

अनियमिता भएको भन्दै स्थानीयले एक समुह बनाइ छानबिन गरी कारवाही गर्न जिबिस बारामा उजुरी दिए पनि त्यसको बारेमा कुनै प्रतिक्रिया नाआएको उजुरीकर्ताहरुको गुनासो छ। उजुरीकर्ता मध्येका सुनिल यावदले २० जनालाई मात्रै बाख्रा बितरण गरिएको र अन्यलाई बाख्रासहित बोलाएर थोरै रकम दिएको प्रमाण जिबिसमा दिए पनि बाख्रा वितरण कार्यमा अनियमित गर्नेलाई कारवाही गर्नुको साटो संरक्षण गरिएको आरोप लगाएका छन्।

सीमा क्षेत्रमा बसोबास गर्ने स्थानीयको जीवनस्तर सुधार्न भन्दै चालु आर्थिक वर्षदेखि जिल्लाका सातवटा गाविस बसतपुर, वडकी फूलवरिया, कचोर्वा, बेनौली, बेलदारी, पकडिया र दक्षिण झिटकैयामा  सीमा क्षेत्र विकास कार्यक्रम सञ्चालन गर्न १ करोड ८८ लाख रुपैयाँ बजेट जिविसलाई प्राप्त भएको जिविसका योजना शाखा प्रमुख विरेन्द्र महतोले बताए।

कार्यक्रम लागू भएका गाविसमा २५ लाखभन्दा बढी रकम गएको र भौतिक पूर्वाधार निर्माण, सीपमूलक तालिम वा उत्पादनमूलक कार्यक्रम गर्न सुरु गरिएको योजना शाखाले जनाएको छ। गाविसमा गएको रकममध्ये ६० प्रतिशत भौतिक पूर्वाधार निर्माणमा र ४० प्रतिशत उत्पादनमूलक, सीपमूलक र जनचेतनासम्बन्धी कार्यक्रममा खर्च गर्ने निमय रहेको महतोले बताए।

सीमा क्षेत्र विकास कार्यक्रम कार्यक्रम संचालन भएको गाविसहरुमा बेल्दारीको जस्तै एउटा गाविसमा १० लाख रकमको  चेतनामूलक, सीपमूलक वा उत्पादनमूलक कार्यक्रममा संचालन गरीए पनि नियमभन्दा बाहिर गएर कागजमै अधिकांश रकम खर्च भएको स्थानीयहरुको गुनासो छ।

बाराका स्थानीय विकास अधिकारी नारायणप्रसाद पाण्डेले सीमा क्षेत्रअन्तर्गत संचालन भएका कार्यक्रमहरु नियमअनुसार नै संचालन गरी रकमहरु खर्चिएको दावी गरेका छन्। बेल्दारीमा गरिएको बाख्रा वितरणमा केही बिबाद आएकोले त्यसको बारेमा बुझ्ने कार्य गरिएको पाण्डेले बताए।

 

 

प्रकाशित: २३ असार २०७३ १०:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App