काठमाडौं- नेपाली फेसन डिजाइनर पूनम क्षेत्री गौतमले डिजाइन गरेका नेपालका विभिन्न १४ जातजातिका परम्परागत पहिरन अमेरिकाको अन्तर्राष्ट्रिय फेसन सोमा प्रदर्शन गरिएको छ। शनिबार राति न्युयोर्कमा वर्ल्ड फेसन परेडले आयोजना गरेको 'न्युयोर्क फेसन विक– ३' पुगेकी फेसन डिजाइनर गौतमले अन्तर्राष्ट्रिय मोडलमार्फत् आफ्ना डिजाइन प्रस्तुत गरेकी हुन्। गौतम फिल्म 'अझै पनि'की निर्माता पनि हुन्।
पूनमले नेपाल सांस्कृतिक रुपले सुन्दर र धनी छ भन्ने सन्देश दिन पहिरनलाई सोमा प्रस्तुत गरेको बताइन्। 'अन्य डिजाइनरले व्यावसायिक पहिरन प्रदर्शन गरिरहँदा मैले नेपाली मौलिक कला तथा संस्कृति झल्कने पहिरन तयार पारें। अधिकांशले नेपाली पहिरनको प्रशंसा गरे,' उनले भनिन्।
गौतमका अनुसार सोमा ब्राह्मण, क्षेत्री, शेर्पा, तामाङ, गुरुङ, थारु, राउटे, राजकीय, मगर, नेवार, मैथिली आदि जातिका पहिरन प्रदर्शन गरिएको थियो। उनले नेपालमा झन्डै तीन महिना लगाएर पहिरन तयार गरेको बताइन्। सोमा नेपाली मोडल जाङ्बु शेर्पाले पनि पहिरन प्रस्तुत गरेकी थिइन्।
गौतमसहित विश्वका १५ डिजाइनरले सोमा आफ्ना पहिरन प्रदर्शन गरे। गौतमलाई सो सकिनासाथ न्युयोर्कस्थित नेपाली दूतावासले कार्यक्रम स्थलमै प्रशंसापत्रले सम्मान गरेको थियो।
गौमतले राउटे तथा शेर्पा जातिको संस्कृति झल्कने पहिरन बिक्री भएको बताइन्। नेपालमा पहिरन तयार पार्न गौतमलाई डिना गुरुङ र रनितले पनि सहयोग गरेका थिए। गौतमले लन्डन र हङकङमा चाँडै आफ्ना डिजाइनका पहिरन प्रदर्शन गर्दै छन्।
प्रकाशित: २ फाल्गुन २०७३ ०३:२१ सोमबार