८ वैशाख २०८१ शनिबार
समाज

वार्षिकोत्सवमै अध्यक्षको राजीनामा माग

काठमाडौं- अधिकांश संस्था तथा कम्पनीले संस्थाको उपलब्धि एवम् भावी योजना प्रस्तुत गर्दै वार्षिकोत्सव मनाउने गर्छन्। कर्मचारी र सरोकारवालाबीच कम्पनीको प्रगति र भावी योजनामा केन्द्रित हुन्छ वार्षिकोत्सव। आइतबार काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को नवौं वार्षिकोत्सव भने यसभन्दा भिन्न भयो। संस्था उन्नतिका लागि खुसी साट्नुको सट्टा कर्मचारीहरू  सञ्चालक समितिका अध्यक्षको राजीनामा माग्न केन्द्रित थिए।

खानेपानी तथा सरसफाइमन्त्री प्रेमबहादुर सिंहको प्रमुख आतिथ्यमा भएको वार्षिकोत्सव समारोहमा कर्मचारी संगठनका प्रतिनिधिले अध्यक्षको राजीनामा माग गरेका हुन्। समारोहमा सम्बोधन गर्ने क्रममा स्वतन्त्र कर्मचारी संगठन, कर्मचारी संघ, केयुकेएल कर्मचारी संगठन, कर्मचारी कल्याण परिषद्का प्रतिनिधिले केयुकेएल सञ्चालक समिति अध्यक्ष सुरेशकुमार बस्नेतको राजीनामा माग गरेका थिए।

संगठनका प्रतिनिधिले फागुन २२ मा हुने पाँचौं साधारणसभासम्म अध्यक्ष बस्नेतले राजीनामा नदिए आन्दोलनमा उत्रने चेतावनी दिए। अध्यक्ष बस्नेतले केयुकेयलमा मनपरी कार्य गरेर संस्थालाई धराशयी बनाएको आरोप कर्मचारीको छ।

‘अध्यक्षले संस्थामा मनपरी गरिरहेका छन्,’ कर्मचारी संघका अध्यक्ष तेजेन्द्रजंग कार्कीले भने, ‘मनलागी गरेर संस्थालाई धराशयी बनाउनेले राजीनामा दिनैपर्छ।’ अध्यक्षको राजीनामा माग्नेमा उनी एकमात्र थिएनन्, अन्य संगठनका प्रतिनिधिले समेत उनको राजीनामा मागेका थिए। उनीहरूको समर्थनमा फ्लोरबाट तालीको गडगडाहट त्यत्तिकै थियो। कर्मचारी संगठनले यसअघि माघ ९ गते विज्ञप्तिमार्फत अध्यक्षको राजीनामा मागेका थिए। कर्मचारी संगठनले केयुकेएलको सेयर स्वामित्व कर्मचारीलाई हुनुपर्ने माग पनि राखेका छन्।

समारोहमा मन्त्री सिंहले केयुकेएलको विकल्प खोज्नुपर्ने अवस्था नआउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिए। ‘जिम्मेवारी लिएपछि भूमिका निर्वाह गर्नुपर्‍यो,’ उनले भने, ‘कमीकमजोरी  सुधार गर्नुपर्छ, आरोपप्रत्यारोप होइन।’

राज्यमन्त्री दीपक खड्काले खानेपानीको विषयलाई लिएर जिस्कन नहुने बताए। उनले जिम्मेवारीबोध गरेर काम गर्न कर्मचारीलाई निर्देशन दिए। ‘मलाई खुसी भएर शुभकामना दिने मन थियो,’ राज्यमन्त्री खड्काले भने, ‘तर त्यो खुसी बाँड्न सकिनँ, किनभने संस्था नै बिरामी छ। त्यसैले रोग निको होस् शुभकामना दिन्छु।’

मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले राजधानी लाखौं सर्वसाधारण बस्ने सहर मात्रै नभएर विदेशी नियोग, पर्यटकीय गन्तव्यसमेत रहेकाले खानेपानीको सहजताका लागि मिलेर जुट्नुपर्ने बताए। ‘केयुकेएल सिस्टममा बसेर उपत्यकाका जनतालाई खानेपानी वितरणमा काम गर्नपर्छ,’ उनले भने, ‘कम्पनी उकासेर सञ्चालक समितिदेखि कर्मचारी सबैले जिम्मेवारी पूरा गर्नबाट पछि हट्नु भएन।’ उनले व्यक्ति परिवर्तनभन्दा पनि संस्थाको धारणामा सकारात्मक परिवर्तन आवश्यक रहेको औंल्याए। ‘मेलम्चीको पानी आउने तयारीका बेला केयुकेएल झन् सक्षम बन्नुपर्छ,’ उनले भने, ‘अर्कोपटक मेलम्चीको पानी पिउँदै वार्षिकोत्सव मनाउन पाइनेछ।’

सञ्चालक समितिका अध्यक्ष बस्नेतले भने आफूले संस्थाको हितमै काम गरिरहेको दाबी गरेका छन्। ‘हर्सोल्लासका साथ मनाउनुपर्ने वार्षिकोत्सवमा साथीहरूले खल्लो बनाउने प्रयास गरे,’ उने भने, ‘मैले स्थापनाकालदेखि नै कम्पनीको हितमा काम गरिरहेको छु। केही कमजोरी भए सुधार्नेछु।’ मन्त्रालयको निर्देशनअनुसार केयुकेएललाई अगाडि बढाउने उनले बताए।

साप्ताहिक प्रतिवेदन दिन मन्त्रीको निर्देशन

मन्त्री सिंहले खानेपानी वितरण कसरी भइरहेको छ भनेर साताभित्र मन्त्रालयमा प्रतिवेदन पेस गर्न केयुकेएललाई निर्देशन दिएका छन्। ‘खानेपानीको सेडुल अहिलेसम्म बन्न सकेको छैन,’ मन्त्री सिंहले भने, ‘हप्ताभित्रै सेडुल बनाएर मन्त्रालयमा बुझाउनू।’ उनले कहाँ, कसरी र कतिबेला पानी आउँछ भनेर जनताले थाहा पाउनुपर्ने बताए। खानेपानी चुहावट र चोरीमा पनि ध्यान दिन मन्त्री सिंहले केयुकेएललाई निर्देशन दिएका छन्।

कतिपय ठाउँमा पानी नजाने तर महसुलको बिल जाने गरेको कुरा संसद्मा उठ्ने गरेको बताउँदै मन्त्री सिंहले पानी नगएपछि बिल पठाउन मिल्ने वा निमिल्ने बारेमा पनि स्पष्ट पार्न केयुकेएललाई निर्देशन दिए।

 

प्रकाशित: २ फाल्गुन २०७३ ०३:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App